कांग्रेसभित्र गुटगत लडाइँ गहिरिँदै, पार्टी रूपान्तरण अभियान जनकपुरबाट सुरु

अनिल क्षेत्री
Read Time = 14 mins

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गहिरिँदै गएको छ । काठमाडौंमा सम्पन्न १४औँ महाधिवेशन सम्पन्न भएको दुई महिनापछि नै सुरु भएको पार्टीभित्रको विवाद पछिल्ला दिनहरूमा थप बढ्दै गएको हो । कांग्रेसभित्र सैद्धान्तिक विवादभन्दा पनि गुटगत लडाइँ तीव्र देखिएको छ । संस्थापनइतर समूहले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीको निरन्तर विरोध गरिरहेको छ । तर, पार्टी नेतृत्व र संस्थापन पक्ष इतर समूहका जायज मागमा ध्यान दिनको सट्टा पेलेरै अगाडि बढ्ने रणनीतिमा देखिएको छ । पार्टीमा १४औँ महाधिवेशनपछि सभापति शेरबहादुर देउवाको एकलौटी बहुमत रहेको र नेतृत्वले चाहेअनुरूप गर्न सक्ने वातावरण हुँदा पनि पार्टीमा बेथितिको चाङ लागेको छ । सभापति देउवाले १० महिनादेखि कांग्रेस केन्द्रीय समितिको बैठकसमेत बोलाउनुभएको छैन । नीति अधिवेशन, चुनावी समीक्षा, भ्रातृ संघसंस्था र विभागलाई पूर्णता दिनेजस्ता काम सभापति शेरबहादुर देउवाले अघि बढाउनुभएको छैन । कांग्रेसको सांगठनिक गतिविधि करिब १० महिनादेखि ‘आइसोलेट’ अवस्थामा छ । स्थानीय, प्रदेश र संघको निर्वाचनमा गठबन्धनको बलमा पहिलो शक्ति बनेको कांग्रेसको सांगठनिक संरचना बेहाल अवस्थामा छ ।

गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनलगत्तै केन्द्रीय समिति बैठक राख्ने कांग्रेसको तयारी थियो । तर, सरकार निर्माणका क्रममा चुनावी गठबन्धन तलमाथि हुँदा कांग्रेस बैठक पन्छाइयो । वैशाख १० को उपनिर्वाचनमा अनपेक्षित परिणाम आएपछि कांग्रेसमा केन्द्रीय समिति बैठक बोलाउने गृहकार्य भइरहेको थियो । वैशाख २८, २९, ३० र ३१ गरी चार दिन केन्द्रीय समिति बैठक बस्ने तयारी थियो । सोहीअनुसार केन्द्रीय सदस्यलाई खबर गर्न थालिएको थियो । वैशाख २८ अघि पार्टीका विभाग, नेविसंघ, तरुण दल सबै भ्रातृ संस्थाको कमिटी विस्तार गर्ने योजना थियो । तर, मन्त्री छनोटमा आफूलाई बाइपास गरिएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सभापति देउवामाथि खनिनुभयो । सभापति देउवा र महामन्त्रीद्वयको सम्बन्ध तनावपूर्ण बनेपछि पार्टीको आन्तरिक गृहकार्यमा पुनः अवरोध देखियो ।

महामन्त्री थापाले त विद्रोहको चेतावनी दिए पनि केन्द्रीय समिति बैठक भने रोकिने अवस्था थिएन । तर, वैशाख २७ मा आफूनिकट प्रभावशाली नेता बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि सभापति देउवाले वैशाख २८-३१ मा बस्न तयारी गरिएको केन्द्रीय समिति बैठक रोकिदिनु भयो । पार्टीमा खाँणलाई निलम्बन नगर्ने निर्णय पनि देउवाले बहुमतबाट गराउनुपर्ने अवस्था देखेपछि कार्यसम्पादन समितिको बैठकसमेत बोलाउन अस्वीकार गरेको नेताहरूको भनाइ छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तत्काल बैठक राख्न गरेको प्रस्ताव देउवाले लत्याइदिनु भयो । सभापति देउवाको दोस्रो कार्यकालको १७ महिना बित्दासमेत पार्टीको सांगठनिक संरचना लथालिंग अवस्थामा छन् । तीन महिनाभित्र पूर्णता दिइसक्नु पर्ने केन्द्रीय समिति अझै अपूर्ण छ । पार्टीभित्रको गुटगत लडाइँकै कारण भ्रातृ संगठनहरूले पूर्णता पाउन सकिरहेको छैन ।

अर्ली महाधिवेशनको माग
पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट पार्टी महामन्त्री गगन थापा समूहले पार्टीको अर्ली महाधिवेशनको माग उठाउन थालेको छ । पछिल्लो समय नेतृत्वको कार्यशैलीप्रति सार्वजनिक रूपमै विरोध गरिरहनु भएका पार्टी महामन्त्री थापा पार्टी सुदृढीकरणको नारा दिएर देशव्यापी अभियान सञ्चालन गर्ने गरी अनौपचारिक छलफलमा रहनुभएको छ । पार्टीभित्र देखिएको कमजोरी, युवा पुस्तामा पार्टीप्रति देखिएको विकर्षण तथा बदलिँदो राजनीतिक परिवेशमा पार्टीको आगामी भूमिका र रणनीति निर्माणका लागि भन्दै अभियान सुरु गर्ने तयारी रहेको थापानिकट नेताको भनाइ छ । थापा पक्षले अर्ली महाधिवेशनको एजेण्डालाई देशव्यापी बनाउने तयारी गरेको नेताहरूको भनाइ छ । अर्ली महाधिवेशनको लागि दबाब अभियान सुरु गर्ने तयारीबारे पुष्टि गर्दै महामन्त्री थापाले भन्नुभयो, ‘नेतृत्वले भरोसा दिन सकिरहेको छैन । आशा जगाउन पनि सकिरहेको छैन । त्यसैले नेतृत्वमा समस्या छ । जहाँ समस्या छ, त्यहीँ हल खोज्नुपर्छ । अब यो नेतृत्वबाट आमनागरिकलाई उत्साही बनाउन सकिन्न ।’ तर, पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले भने अर्ली महाधिवेशनको मागलाई ठाडै अस्वीकार गर्दै पार्टीभित्र कुनै गुञ्जायस नभएको टिप्पणी गर्नुभएको छ ।

तेस्रो पुस्ताको अभियान सुरु
नेपाली कांग्रेसमा संस्थापनइतर पक्षीय नेताहरूले थालेको रूपान्तरण अभियानअन्तर्गत प्रदेशस्तरीय भेला जनकपुरबाट सुरु भएको छ । रूपान्तरण अभियानले बिहीबार जनकपुरमा मधेश प्रदेशस्तरीय भेला तथा अन्तरक्रिया गरेको छ । कांग्रेसभित्र देखिएका कमी कमजोरी, विकृति, विसंगतिको अन्त्य गर्दै पार्टीमा व्यापक सुधार, परिवर्तन र आमूल रूपान्तरणको लागि अभियान प्रारम्भ गरिएको जानकारी दिँदै नुवाकोट जिल्लाका पूर्वसभापति जगदीश्वरनरसिंह केसीले भन्नुभयो, ‘नेपाली कांग्रेसभित्र देखिएका कमी कमजोरी,विकृति विसंगतिको अन्त्य गर्दै पार्टीमा व्यापक सुधार, परिवर्तन र आमूल रूपान्तरणको लागि मेचीदेखि महाकालीसम्म सातै प्रदेशमा बृहत् भेला र अन्तरक्रिया गर्न सुरु गरिएको हो । अभियानले समग्रमा नेपाली कांग्रेसलाई बलियो, सशक्त र सुदृढ बनाउनुका साथै नयाँ आशा, कार्यकर्तामा नयाँ भरोसा र आम जनतामा नयाँ विश्वास जगाउनेछ ।’

अभियानमा नेताहरू जगदीश्वरनरसिंह केसी, मधु आचार्य, गुरुराज घिमिरे, चन्द्रमोहन यादव, देवराज चालिसे, रञ्जित कर्ण र सुवास पोखरेल लगायतले थालेको अभियानअन्तर्गत प्रदेश भेलामा समेत अन्य दर्जनौँ नेताहरू जोडिएका छन् । बिहीबारको भेलामा नरेन्द्र नेम्वाङ, बंशीलाल तामाङ, उज्ज्वल बराल, विनोद कायस्थ, कौशलराय यादव, धर्मेन्द्र नेम्वाङ, विनोद खनाल, सुवास लोहनी, दिनेश यादव, सुवास पोखरेल, चिरञ्जीवि हमाल, डिल्ली सुवेदी, युवराज पाण्डे, उमेश मिश्र, कृश्र सिंह, राजेश रौनियार, सैलेन्द्र यादव, मनोजा चौधरी, पिन्टु सिंहलगायत पनि उपस्थित हुनुभएको थियो ।

अभियानका अनुसार जेठ १६ गते बागमती प्रदेशको काठमाडौंमा, जेठ २० गते गण्डकी प्रदेशको पोखरामा र जेठ २२ मा लुम्बिनी प्रदेशको दाङमा प्रदेशस्तरीय भेला गर्ने कार्यतालिका छ । त्यस्तै, जेठ २४ मा कर्णाली प्रदेशको सुर्खेत, जेठ २६ मा सुदूरपश्चिम प्रदेशको धनगढी र जेठ २९ मा कोशी प्रदेशको इटहरीमा प्रदेशस्तरीय भेला हुने नेताहरूले जनाएका छन् । नेताहरूले आफ्ना कुरा राख्ने र प्रदेशभित्रका अगुवा कार्यकर्ताका कुरा सुन्न भेला गरिएको जानकारी दिएका छन् । अभियानमा १४औँ महाधिवेशनमा शेखर कोइराला समूहमा रहेका नेताहरूको सहभागिता रहेको छ । अभियानलाई गुटरहित बनाउने प्रयास भइरहेको नेताहरूले दाबी गरेका छन् । तर, संस्थापन पक्षका नेताहरूले बिहीबारदेखि जनकपुरबाट सुरु भएको अभियानलाई गुटगत भेलाको संज्ञा दिएका छन् ।

सिडेनको चुनावमा माउ पार्टीकै तीन प्यानल
नेपाली कांग्रेसनिकट इञ्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स (सिडेन)को सातौँ अधिवेशनमा मातृ पार्टीमा जस्तै गुटगत लडाइँ देखिएको छ । शनिबार हुन लागेको अधिवेशनका लागि उम्मेदवारी दर्ताका क्रममा प्यानल देखिएका छन् । सिडेनको अध्यक्षका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको समूहबाट इञ्जिनियर चेतनाथ पाण्डे, इतर समूहको नेतृत्वकर्ता नेता डा.शेखर कोइराला पक्षबाट लक्ष्मण केसी र महामन्त्री गगन थापानिकट समूहबाट प्रमोद दवाडी प्यानलसहित चुनावी मैदानमा उत्रिनुभएको हो । तीनै उम्मेदवार आफ्नो प्यानलसहित मैदानमा उत्रिएका हुन् । सिडेनमा १८ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति चयन हुनेछ । सिडेनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष गरी पाँच पदाधिकारी र १३ केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ ।

व्यक्ति सकिएलान् तर कांग्रेस सकिँदैन : डा. कोइराला
नेपाली कांग्रेसभित्र संस्थापनइतर समूहको नेतृत्व गरिरहनु भएका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले कांग्रेसले बाटो बिराउँदा अहिले कांग्रेसप्रति थुप्रै प्रश्नहरू उठिरहेको बताउनुभएको छ । अहिले कांग्रेस सिद्दियो, सकियो भनेर भइरहेको टिप्पणीप्रति संकेत गर्दै नेता कोइरालाले अहिले नै कांग्रेस नसकिने दाबी गर्दै भन्नुभयो, ‘अहिले कांग्रेसका बारेमा राम्रो लेख्ने मान्छे छैन । नेपाली कांग्रेसको केन्द्रीय सदस्य, महासमिति सदस्यहरू नै कांग्रेस सिद्दियो, सकियो भन्दै छन्, लेख्दै छन् । तर, तपाईंहरू भ्रममा नपर्नुहोला, ढुक्क हुनुहोस्, कांग्रेसमा भएका व्यक्ति सकिएलान्, तर कांग्रेस सकिँदैन । तलको कार्यकर्ता, जनतासँग पुगेर हामीले उनीहरूको सुझाव लिएर हामी अगाडि बढ्याँै भने नेपाली कांग्रेसलाई कसैले पनि समाप्त गर्न सक्दैन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?