ऊर्जा सम्मेलन : नेपालको विद्युत् श्रीलंकासम्म पुर्‍याउन सकिने

Read Time = 13 mins

काठमाडौं । हरित ऊर्जाको बजार विस्तारीकरण भन्ने नाराका साथ मंगलबारदेखि काठमाडौंमा ‘पावर समिट-२०२३’ सुरु भएको छ । समिट उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकलाई आर्थिकरूपमा सबल बनाउँदै अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न हरित ऊर्जा अत्यावश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘धेरै नेपालीको अझै पनि हरित ऊर्जामा पहुँच छैन भन्ने कुरा हामीले बुझेका छौँ, देशका सबै जनतालाई बिजुली उपलब्ध गराउने लक्ष्यका साथ ग्रिड विस्तार गर्न र अफ ग्रिड प्रविधिमा लगानी विस्तार गरिरहेका छौँ । प्रसारण र वितरण लाइन विस्तार गर्न र स्थिर विद्युत् आपूर्ति सुनिश्चित गर्न प्रयास गरिरहेका छौँ । औद्योगिक मागमा वृद्धि गर्दै आर्थिकरूपमा समृद्ध बन्ने आकांक्षासाथ उत्पादित विद्युत् स्वदेशी बजारमै उपयोग गर्ने गरी प्राथमिकता तय गरिएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले धेरै विद्युत् खपत गर्न सक्ने क्षेत्र प्रवद्र्धन, प्रतिव्यक्ति खपत बढाउन सक्ने वातावरण तय गर्दै जीवाष्म इन्धनमा रहेको निर्भरता कम गर्न तथा ठूलो व्यापारघाटा कम गर्न पनि विद्युत् उपयोगिता बढाउनुपर्नेमा जोड दिनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पछिल्लो दशकमा विश्वले हरित ऊर्जा विकासका विभिन्न पक्षमा छलफल गर्दै आएकाले नेपाल पनि त्यसलाई अवलम्बन गरेर अघि बढिरहेको बताउनुभयो । ऊर्जा सम्मेलनले विद्युत् व्यापारको दायरा अझ फराकिलो बनाएको भन्दै सरकार निजी क्षेत्रलाई सबै खालका सहयोग गरेर सहजीकरण गर्न तयार रहेको उहाँले बताउनुभयो ।

भुटानका आर्थिक मामिलामन्त्री लोकनाथ शर्माले विश्वमा स्वच्छ ऊर्जाको अभावका कारण आर्थिक संकट गहिरिँदै गएकाले ऊर्जा विकासमा एकत्रित हुनुपर्ने समय आएको बताउनुभयो । नेपाल र भुटानमा ठूलो परिमाणमा जलविद्युत् उत्पादन गर्न सक्ने सम्भाव्यता रहेको र उपलब्ध विद्युत् भारत तथा बंगलादेशमा निर्यात गरेर आर्थिक विकासको लक्ष्य हासिल गर्न सकिने सम्भावना रहेको उहाँले बताउनुभयो ।

आयोजक संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले सम्मेलनको मुख्य उद्देश्य नै स्वच्छ ऊर्जाको प्रयोगबाट कार्बन उत्सर्जनमा कमी ल्याउने र विद्युत् बजार विस्तार गर्ने रहेको भन्दै व्यापकरूपमा विद्युत् उत्पादन र बजारीकरणका लागि सरकारले विद्युत् व्यापार सम्झौता (पिपिए) को बाधा अड्काउ तत्काल फुकाउनुपर्ने बताउनुभयो ।

सरकारलगायत विभिन्न संस्थाहरूको सहकार्यमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) द्वारा आयोजित समिटमा विद्युत् व्यापार निगम लिमिटेड (एनभिभिएन) भारतका का पूर्वप्रमुख कार्यकारी अधिकृत कृष्ण बन्धोपाध्यायले प्रसारणलाइनको पूर्वाधार तयार भएमा नेपालको स्वच्छ ऊर्जा सिंगापुरको बजारसम्म पुर्‍याउन सकिने बताउनुभयो । अन्तरदेशीय विद्युत् व्यापारको दृष्टिकोण तथा अवसर विषयक सेसनलाई सम्बोधन गर्दै उहाँले ‘मल्टी कन्ट्र’ प्रसारणलाइन बनेको अवस्थामा नेपालमा उत्पादन भएको विद्युत् सिंगापुर पु¥याउन सकिने सम्भावना औँल्याउनुभएको हो । बन्धोपाध्यायले दक्षिण एसियामा नेपाल र भुटानमा जलविद्युत् उत्पादनको बढी सम्भाव्यता भएकाले ती देशको विद्युत् छिमेकका सबै देशको माग र आपूर्ति व्यवस्थापनमा उपयोगी हुने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘भुटान र नेपालले भारतको प्रतिस्पर्धी बजारमा विद्युत् निर्यात गर्न थालिसकेका छन्, नेपालले छोटो समयमै बहुआयामिक ढंगले सबैभन्दा बढी अवसरको सदुपयोग गरिरहेको छ । नेपालले अन्तरदेशीय विद्युत् व्यापारको अवसरको उत्कृष्ट ढंगले उपयोग गरी बढी उत्पादन हुँदा निर्यात र आवश्यक पर्दा आयात गरिरहेको छ ।’

नेपाल र भारतबीचको अन्तरदेशीय विद्युत् व्यापार बढाउन उच्च क्षमताको प्रसारणलाइनमा लगानीमा जोड दिँदै उहाँले दुई देशबीच उच्च क्षमताको प्रसारणलाइनको संरचना तयार हुँदा नेपालको विद्युत् सोझै म्यानमार पुर्‍याउन सकिने बताउनुभयो । नेपालका लागि विद्युत्को ठूलो बजार भारत र बंगलादेश नै भएको भन्दै बन्धोपाध्यायले भारत र बंगलादेशबीच विद्युत् व्यापार गर्न बनाइएको प्रसारणलाइनमा अब ५० मेगावाटभन्दा बढी विद्युत् प्रवाह गर्न नसक्ने हुँदा नेपालको विद्युत् भारतीय भूमि हुँदै बंगलादेशसम्म पु¥याउन छुट्टै प्रसारणलाइनको संरचना आवश्यक पर्ने र त्यसका लागि त्रिपक्षीय छलफल राम्रो सुरुवात रहेको बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरण, विद्युत् व्यापार विभाग प्रमुख प्रबल अधिकारीले नेपालको जलविद्युत् उत्पादन हरेक वर्ष बढिरहेको र आन्तरिक माग धेरै नभएका कारण भारतीय बजारमा प्रतिस्पर्धीदरमा विद्युत् बिक्री गर्न सुरु गरिएको बताउनुभयो । नेपाल भारतबीचको दोस्रो चार सय केभी अन्तरदेशीय प्रसारणलाइन निर्माण प्रक्रिया अगाडि बढिसकेकाले उक्त पूर्वाधारको तयारीपछि आगामी दिनमा दुई देशबीचको विद्युत् व्यापार थप सहज हुने उहाँले बताउनुभयो । भारतीय विद्युत् एक्सचेन्जका उपाध्यक्ष धिमानले दुई देशबीच अन्तरदेशीय विद्युत् व्यापार निर्देशिकाले निर्देशित गरेबमोजिम डे अ हेड मार्केटमा विद्युत् खरिदबिक्री हुने जानकारी गराउनुभयो । पिटिसी भारतका कार्यकारी उपाध्यक्ष विक्रम सिंहले नेपालले दीर्घकालीन बजार व्यवस्थापनका लागि कुल बिक्रीयोग्य ऊर्जाको ७० प्रतिशतको दीर्घकालीन विद्युत् खरिद सम्झौता (पिपिए) तर्फ अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो । नेपालले २० वर्षपछिको आन्तरिक विद्युत् माग प्रक्षेपण गरी त्यतिबेला बढी भएको विद्युत् बिक्री गर्न भारतसँग दीर्घकालीन पिपिए गर्नुपर्ने उहाँको भनाइ थियो । भारतको जडित क्षमता चार लाख मेगावाट पुगिसकेकामा अहिलेको उच्च माग दुई लाख ५० हजार मेगावाट रहेको पनि सिंहले बताउनुभयो । आइएफसिकी पूर्वाधार प्रबन्ध सल्लाहकार भिक्टोरिया डेल्मनले दक्षिण एसियामा नवीकरणीय ऊर्जाबाहेकका स्रोतमा निर्भर हुँदा नेपाल र भुटानसँग मात्रै स्वच्छ ऊर्जा उत्पादनको स्रोत पानी रहेको बताउनुभयो ।

आयोजकका अनुसार बुधबारसम्म चल्ने समिटमा भारत, बंगलादेश, भुटान, श्रीलंकालगायत ३० भन्दा बढी देशका तीन सय बढी स्वदेशी तथा विदेशी प्रतिनिधिको सहभागिता छ । समिटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारी, बिजुली व्यापारसँग आबद्ध कम्पनी, बैंक तथा वित्तीय संस्था, प्रसारण र वितरण कम्पनी, परामर्शदाताको पनि सहभागिता रहेको छ ।

भारतका ऊर्जा कम्पनीसँग विद्युत् खरिदबिक्री सम्झौता
समिटमा नेपाल तथा भारतका निजी ऊर्जा कम्पनीबीच विद्युत् खरिदबिक्रीसम्बन्धी महत्वपूर्ण समझदारी एवं सम्झौता भएका छन् । प्रधानमन्त्री दाहालको उपस्थितिमा अन्तरदेशी विद्युत् व्यापार गर्ने उद्देश्यले स्थापना भएको नेपाल पावर एक्सचेञ्ज कम्पनी र भारतको स्टिलमिण्ट इण्डिया कम्पनीबीच सम्झौता भएको हो । नेपाल पावर एक्सचेञ्ज कम्पनीतर्फबाट इपान अध्यक्ष कृष्ण आचार्य र स्टिलमिण्ट इण्डियातर्फबाट महाप्रबन्धक क्षितिज पाण्डेले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार नेपालमा मिण्ट पावर इण्डेक्स सुरु गरिनेछ ।

जसले विद्युत् महसुल, विद्युत् माग र आपूर्ति व्यवस्थापनलगायतका विषयमा जानकारी दिने मञ्चका रूपमा काम गर्नेछ । त्यसैगरी भारतको मणिकरण पावर कम्पनी र नेपालको बिजबेल इनर्जी कम्पनीबीच पनि विद्युत् खरिदसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बिजबेल इनर्जीले हुम्लामा निर्माण गरिरहेको १०३.५ मेगावाट चुवाखोला आयोजनाबाट उत्पादित विद्युत् भारतीय कम्पनी मणिकरणले खरिद गर्नेछ । सम्झौतापत्रमा बिजबेल इनर्जीका प्रबन्ध निर्देशक सुशील पोखरेल र नेपाल पावर एक्सचेञ्ज कम्पनीका प्रबन्ध निर्देशक आशिष गर्ग तथा मणिकरण कम्पनीका निर्देशक प्रवीण अब्राहमले हस्ताक्षर गरेका छन् । साथै मणिकरण र कसुवा खोला जलविद्युत् आयोजनाबीच पनि सम्झौता भएको छ । सम्झौताअनुसार संखुवासभामा रहेको ४५ मेगावाटको कसुवा खोला जलविद्युत् आयोजनाले उत्पादन गर्ने थप विद्युत् मणिकरणलाई बिक्री गर्नेछ । कसुवा खोलाले यसअघि नै प्राधिकरणसँग ४५ मेगावाट विद्युत् खरिद सम्झौता गरिसकेको छ । त्यस्तै, फिप्टीहर्ज प्राइभेट र ग्रिण रिसोर्सेज कम्पनीबीच पनि सम्झौता भएको छ । सम्झौतामा फिप्टीहर्जका अध्यक्ष विनित कुमार र ग्रिण सिसोर्सेजका आशिष गर्गले हस्ताक्षर गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?