भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना संक्रमण

रासस
Read Time = 3 mins

महेन्द्रनगर । पछिल्लो समय भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना संक्रमण दर वृद्धि भइरहेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका साथै पहाडी जिल्लाका नेपाल-भारत सीमा नाकामा पाँच वटा स्थानमा हेल्थ डेस्क स्थापना गरी कोरोना परीक्षण गर्दै आएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोेभिड सम्र्पक व्यक्ति हेमराज जोशीले सीमानाकामा कोरोना परीक्षणमा सङ्क्रमण पुष्टि हुने क्रम दुई सातायता बढ्दै गइरहेको बताउनुभयो ।

यहाँ कञ्चनपुरको गड्डाचौकी नाका, कैलालीको त्रिनगर र खक्रौला, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटमा भारतबाट फर्किनेको स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा पीसीआर विधिमा तीन र एन्टिजेनमा २७ गरी ३० जनामा संक्रमण देखिएको छ ।

यहाँ बुधबार चार सय ११ जनालाई एन्टिजेन र २२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । जसमध्ये कञ्चनपुरका मात्रै बुधबार दश जनाको कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले यहाँ दश जनाको संक्रमण देखिएको बताउनुभयो ।

उहाँका अनुसार गड्डाचौकीमा चार, बेलौरीमा चार र दोधारा चाँदनी र कृष्णपुर नगरपालिकामा एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी कैलालीको धनगढीस्थित त्रिनगर हेल्थ डेस्कमा परीक्षण गर्दा तीन जना पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका कोभिड सम्र्पक व्यक्ति जोशीले जानकारी दिनुभयो ।

बुधबार मात्रै सिमाना गड्डाचौकीमा दुई सय आठ, बैतडीको झुलाघाटमा १९, टीकापुर खक्रौला नाकामा ४२, त्रिनगर भन्सारमा एक सय ९७ र दार्चुलाको पुलघाटमा नौ जनाको कोरोना परीक्षण गरिएको थियो । ‘कोभिडको खोप लगाएका छौँ भनेर मात्रै पुग्दैन’, जोशीले भन्नुभयो, ‘स्वास्थ्य मापदण्डको पनि ख्याल गर्दै स्वास्थ्यप्रति सजग रहन आवश्यक छ ।’ उहाँले सीमानाकामा एन्टिजेन र प्रादेशिक एवं जिल्ला अस्पतालमा पीसीआर विधिबाट कोरोना परीक्षण हुँदै आएको जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?