डेढ करोड लागतमा डेरी उद्योग स्थापना

Read Time = 5 mins

रूपन्देही । दुग्ध क्षेत्रको विविधीकरण गरी उत्पादन बजारीकरण गर्न रूपन्देहीका केही दुग्ध व्यवसायीको पहलमा डेरी उद्योग स्थापना गरिएको छ । बुटवल–१४ बेलभरियामा रूपन्देहीका विभिन्न स्थानमा डेरीजन्य व्यवसाय गर्दै आएका व्यवसायी, किसानलगायतको सहकार्यमा करिब डेढ करोड लागतमा डेरी उद्योग स्थापना गरिएको हो ।

दूध र दुग्धजन्य पदार्थको विविधीकरण गरी बजारीकरण गर्ने योजनाअनुुसार ‘विशेष डेरी उद्योग’ स्थापना गरिएको उद्योगका अध्यक्ष गणेशसिंह भण्डारीले बताउनुभयो । विगत लामो समयदेखि डेरी व्यवसायमा संलग्न भण्डारीको पहलमा अन्य व्यवसायीको लागत साझेदारी र नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत सहयोग आयोजना इकाई बुटवलको अनुदानमा डेरी उद्योग स्थापना गरिएको हो । हाल भवन निर्माण सकिएर उपकरण जडान कार्य जारी रहेको डेरी उद्योगका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । भण्डारीका अनुसार उद्योगकै नाममा जग्गा खरिद गरी भवन निर्माण गरिएको हो । अत्याधुनिक डेरी प्लान्ट स्थापना गरी गुणस्तरीय दूध संकलनका साथै गुणस्तरीय दुग्ध पदार्थ उत्पादन, बिक्रीवितरण गर्ने उद्देश्यका साथ डेरी उद्योग स्थापना गरिएको उहाँको भनाइ छ । जसको कुल लागत एक करोड ४३ लाख १० हजार दुर्ई सय २४ रुपैयाँ रहेको छ । जसमा उद्योगतर्फबाट २० प्रतिशत, ३० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी ऋण र ५० प्रतिशत लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको रहेको छ ।

जसमा ६९ लाख ४८ हजार एक सय १८ रुपैयाँ अनुदान आयोजनाले प्रदान गर्ने सम्झौता भएको छ । एनएमबी बैंकले कुल ४४ लाख ७१ हजार एक सय दुई रुपैयाँ कर्जा लगानी गरेको छ भने व्यवसायीले कुल २८ लाख ९० हजार नौ सय ९४ रुपैयाँ लगानी गरेका छन् । उपआयोजनाका लागि २०७८ फागुन महिनामा सम्झौता भई काम गरिएको थियो ।

यसैबीच उप आयोजनाको विषयमा अन्तिम तथा दोस्रो सार्वजनिक सुनवाइ कार्यक्रम गरिएको छ । उद्योग रहेको स्थान बुटवल–१४ बेलभरियामा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो । सो अवसरमा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले दूधको शुद्धताका लागि अत्याधुनिक डेरी उद्योग स्थापना हुनुपर्ने बताउनुभयो । बुटवल उपमहानगरपालिका १४ का अध्यक्ष दधिराम न्यौपानेले गाउँमा स्थापना भएको डेरी उद्योगले स्थानीय किसानको उत्पादन खपतका लागि महत्वपूर्ण योगदान दिनेमा आफू विश्वस्त भएको बताउनुभयो ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत सहयोग इकाई बुटवलका प्रमुख डा. गान्धीराज उपाध्यायले आयोजनाले विश्व बैंकको ऋण सहयोगमा अधिकतम एक करोड वा लागत साझेदारीमा बढीमा ५० प्रतिशत किसानलाई अनुदान उपलब्ध गराउँदै आएको बताउनुभयो । बुटवल क्लस्टरअन्तर्गत रूपन्देहीमा मात्रै ५२ उपआयोजना सञ्चालनमा रहेको उहाँको भनाइ थियो । ४७ समूह सहकारी, ३२ डेरी उपआयोजना सम्पन्न हुने चरणमा रहेको उपाध्यायले बताउनुभयो ।

विशेष डेरी उद्योगका अध्यक्ष गणेशसिंह भण्डारीले उद्योगमा स्थानीयलाई पहिलो प्राथमिकतामा राखी रोजजारी दिने, कृत्रिम गर्भाधानका लागि १४ नम्बर वडाका पशुपालक किसानले डेरीमा दूध उपलब्ध गराउने जानकारी दिनुभयो । किसानलाई ५० प्रतिशत अनुदान, पशु बीमामा ५० प्रतिशत अनुदान र घाँसको बीउ निःशुल्क उपलब्ध गराउने पनि उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?