चिट चोर्न नदिएपछि क्याम्पस तोडफोड, पक्राउ परेकाहरू छुट्दा विवाद

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 7 mins

बारा । चिट चोर्न नदिएको भन्दै वीरगञ्जको हरिखेतान र ठाकुरराम क्याम्पसका विद्यार्थीहरूले बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसमा बिहीबार तोडफोड गरे । विद्यार्थीहरूले क्याम्पस तोडफोड मात्र गरेनन् दुईजना प्राध्यापकहरूलाई हातपातसमेत गरे । विद्यार्थीहरूको कुटपिटबाट रामराजा क्याम्पसका प्रमुख हरिभुषण कुशवाहा र सहप्राध्यापक सुभाष तिमिल्सिना घाइते हुनुभयो । तोडफोड र हातपात गर्ने तीनजना विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा पनि लियो । तर, उनीहरूलाई प्रहरीले एकदिन पनि थुनामा राख्न सकेन । बिहानको घटनामा पक्राउ परेका जितपुर सिमरा उपमहानगरपालिका १७ रघुनाथपुरका अक्षय चौधरी, पर्सा पटेर्वा सुगौली गाउँपालिका-५ का सन्दीप ओझैया र बारा फेटा गाउँपालिका-१ अकवनियाका कुमेश्वर महतोलाई साँझ नै छाडियो ।

तर, पक्राउ परेका विद्यार्थी छाडेको घटनाप्रति क्याम्पस प्रशासनले भने असन्तुष्टि जनाएको छ । क्याम्पससँग कुनै समन्वय नै नगरी प्राध्यापक र क्याम्पस प्रमुखलाई कुटपिट गर्ने र तोडफोड गर्ने विद्यार्थीहरूलाई छाडेका भन्दै क्याम्पस प्रशासनले आपत्ति जनाएको हो । पक्राउ परेका विद्यार्थीहरूलाई थुन्नुपर्ने र थुनामा बस्दासमेत उनीहरूले जाँच दिन पाउने व्यवस्था भए पनि त्यसो नगरी पावर र पैसाको दबाबमा विद्यार्थीहरूलाई छोडिएको रामराजा बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख निमेश तिमल्सिनाले आरोप लगाउनुभयो ।
यता, उक्त घटनामा प्रहरीको तर्क भने फरक छ । विद्यार्थीहरूले परीक्षा दिन पाऊन् भन्ने उद्देश्यले उनीहरूलाई छाडिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले कुनै दबाबमा उनीहरूलाई छाडेको होइन । उनीहरूमाथि अभद्र व्यवहारको जाहेरी परेको छ र कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढ्छ ।’ हाम्रो उद्देश्य विद्यार्थीहरूको पढाइ नबिग्रियोस् भन्ने मात्र हो, उहाँले भन्नुभयो ।

बिहीबार विहान ७ बजेदेखि शान्त वातावरणमा बिबिएस पहिलो वर्षको दोस्रो दिनको तथ्यांक विषयको परीक्षा सञ्चालन गरिएको थियो, क्याम्पस प्रमुख कुशवाहाले भन्नुभयो, ‘शान्त वातावरणमा परीक्षा सञ्चालन पनि भयो । बिहान ७ बजेदेखि सञ्चालन भएको परीक्षा १० बजे सम्पन्न भएको थियो । परीक्षा सञ्चालनमा कुनै किसिमको व्यवधान भएन । परीक्षा समाप्त भएपछि परीक्षा केन्द्रबाट सबै विद्यार्थीहरूसँग उत्तरपुस्तिका लिएर बाहिर पठायौँ । सुरक्षाकर्मीहरू पनि आफ्नो गन्तव्यतिर लागे । दुई/तीनजना प्रहरी मात्र क्याम्पसभित्र रहेका थिए ।

हामी सबै कापीहरू मिलाउन लाग्यौँ । क्याम्पसका सबै कर्मचारीहरू कापी मिलाउनमै व्यस्त थिए । म र सहप्राध्यापक सुभाषजी तलको रुममा कुरा गरिरहेका थियौँ । त्यही बेला बाहिर गइसकेका परीक्षार्थीहरूमध्ये १०/१२ जनाको समूह क्याम्पसभित्र छि¥यो । युवराज साहको नेतृत्वमा आएका विद्यार्थीहरूले एक्कासि हामी बसेको रुमको ढोका घचघच्याउन थाल्यो । ढोका नखुलेपछि उनीहरूले ढोकामा लातले हिर्काउन सुरु गरे । त्यसपछि के भएको हो किन यिनीहरूले यस्तो व्यवहार गरेका हुन् भनेर ढोका खोल्यौँ, ढोका खोल्नेबित्तिकै उनीहरूले हामीमाथि आक्रमण गरे । क्याम्पसका सबै स्टाफहरू दोस्रो तल्लामा कापी मिलाउन तल्लिन भएको कारण हामीलाई एक्लो पाएर उनीहरूले हामीलाई हातपात गरेको उहाँले बताउनुभयो ।’

चिट चोर्न नदिएको झोंकमा जथाभावी गाली गलौज गर्दै साहको नेतृत्वमा आएका विद्यार्थीहरूले तोडफोड गर्दै आफ्नोे सर्ट च्यातेको र कुर्सीले हान्दा हात काटिएको र दायाँ खुट्टामा चोट लागेको उहाँले बताउनुभयो । हो- हल्ला सुनेर दोस्रो तल्लामा रहेका क्याम्पसका स्टाफहरू बाहिर आए । उनीहरूले प्रहरी बोलाए त्यसपछि मात्र उनीहरू भागेका थिए ।

परीक्षा सञ्चालनको क्रममा हामीले १७ जना परीक्षार्थीहरूको मोबाइल खोसेको र त्यही समयमा युवराज साहको मोबाइल खोस्दा ज्यान मार्ने धम्की दिएको रामराजा क्याम्पसका विभागीय प्रमुख सुभाषकुमार तिमल्सिनाले बताउनुभयो । उनीहरूको प्रहारबाट आफ्नो टाउको काटिएको उहाँले बताउनुभयो । यस्ता उच्छृखल काम गर्ने विद्यार्थीहरूलाई कानुनबमोजिम कारबाही गर्न माग गर्दै हामीले जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएका थियौँ, तर प्रहरीले उनीहरूलाई छाडेर अपराधीको मनोबल झनै उच्च बनाइदिएको छ, उहाँले गुनासो गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?