निर्माण व्यवसायीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

Read Time = 2 mins

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग भेट गरी निर्माण उद्योगको विद्यमान समस्या र समाधानका उपायबारे ध्यानाकर्षण गराएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रबार मन्त्री बस्नेतसमक्ष निर्माण उद्योगको समस्या समाधान गरिदिन ध्यानाकर्षण गराएको हो ।

म्याद थप, भुक्तानी, मोबिलाइजेसन पेस्की र मूल्य समायोजनका विषयमा महासंघद्वारा ऊर्जामन्त्री बस्नेतको ध्यानाकर्षण गरिनुका साथै तेह्रौं संशोधनमार्फत् समस्या समाधान गर्न माग गरिएको छ ।

महासंघका अध्यक्ष सिंहले निर्माण व्यवसायीले राज्यबाट पाउनुपर्ने अर्बाैं रुपैयाँ भुक्तान भएमा अर्थतन्त्र चलायमान भई राज्यलाई नै फाइदा पुग्ने बताउनुभयो । भुक्तानी अभाव, नदी तथा खानीजन्य सामग्रीको उत्खननमा भएको अवरोध, निर्वाचनलगायतका कारण समयमै निर्माण कार्य हुन नसकेको भन्दै अध्यक्ष सिंहले सबै आयोजनाको म्याद २०८१ असार मसान्तसम्म थप गरिनुपर्ने बताउनुभयो ।

उहाँले मूल्य समायोजनसहित सार्वजनिक खरिद ऐनअनुसार २० प्रतिशत मोबिलाइजेसन पेस्की पाउनुपर्ने माग गर्नुभयो । महासंघका मुख्य मागलाई सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधनमार्फत् सम्बोधन गरिदिन पनि अध्यक्ष सिंहले आग्रह गर्नुभयो । जवाफमा मन्त्री बस्नेतले महासंघले उठान गरेका विषय सान्दर्भिक रहेको भन्दै निर्माण व्यवसायीका समस्या क्रमशः समाधान हुँदै जाने आश्वासन दिनुभयो । प्रतिनिधिमण्डलमा महासंघका महासचिव रोशन दाहाल र कार्यालय प्रमुख प्रेमसिंह ऐरलगायतको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?