रूपेश र सुजनाको जित निरन्तर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपअन्तर्गत खुलातर्फ शीर्ष वरीयताका फिडेमास्टर रूपेश जैसवाल र महिलातर्फ सुजना लोहनीले आ-आफ्नो जितयात्रालाई छैटौँ चरणसम्म पुर्‍याउँदा एकल अग्रतालाई कायम राख्नुभएको छ । प्रतियोगिताको पाँचौँ र छैटौँ चरणको खेलमा रूपेशले लगातार जित निकाल्नुभयो । रूपेशले पाँचौँ चरणमा राजन पुरीलाई हराउँदा छैटौँ चरणमा पूर्वनेपाल च्याम्पियन सुरवीर लामालाई पराजित गर्नुभयो । १४ वर्षीय युवा खेलाडी पुरुषोत्तम सिलवाल पाँच अंकसहित रूपेशलाई पछ्याइरहनुभएको छ ।

चौथो चरणमा रूपेशसँग पराजित हुनुभएका पुरुषोत्तमले शुक्रबार पाँचौँ चरणमा साबिक विजेता पुरुषोत्तम चौलागाईंलाई पराजित गर्दै ४१औँ चालमा जित हासिल गर्नुभयो । छैटौँ चरणमा पूर्वनेपाल च्याम्पियन केशव श्रेष्ठलाई ४६औँ चालमा निराश पार्नुभयो ।

फिडेमास्टर क्षितिज भण्डारी साढे चार अंकसहित तेस्रो स्थानमा हुनुहुन्छ । पाँचौँ चरणमा राजन सुवेदीसँग बराबरी खेल्नुभएका क्षितिजले छैटौँ चरणमा राजीव कार्कीमाथि जित हासिल गर्नुभयो । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा जारी प्रतियोगितामा राजन सुवेदी चार अंकसहित चौथो स्थानमा हुनुहुन्छ ।

दिव्यांश मल्टी प्रोडक्सनको प्रमुख प्रायोजन तथा रुक्मिणी टुर्स एण्ड ट्राभल्सको सहप्रायोजनमा भइरहेको प्रतियोगिताको महिलातर्फ वुमन फिडेमास्टर सुजना लोहनीले शतप्रतिशत जितयात्रालाई कायम राख्दै शीर्षस्थानमा १.५ अंकको अग्रता बनाउनुभयो । पाँचौँ चरणमा उहाँले विनिता कपालीलाई पराजित गर्नुभयो भने छैटौँ चरणमा पुनम प्रसाईंलाई हराउनुभयो ।

सुशीला गुरुङ साढे चार अंकसहित दोस्रो स्थानमा रहनुभएको छ भने तेस्रो स्थानमा रहनुभएकी शान्ति धिमालले चार अंक जोड्नुभएको छ । सुशीलाले पाँचौँ चरणमा पूजा भण्डारीलाई हराउँदा छैटौँ चरणमा रिया श्रेष्ठसँग बराबरी खेल्नुभयो । शान्तिले पाँचौँ चरणमा रियालाई पराजित गर्नुभएको थियो । छैटौँ चरणमा विनिता कपालीलाई हराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?