म्याग्दीमा डढेलोले ३० हेक्टर वनमा क्षति

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरको अर्जम र बेनपा-२ ज्यामरुककोटको रानीवन सामुदायिक वनमा शनिबार सल्किएको डढेलो नियन्त्रणबाहिर गएको छ । डढेलोले दुईवटै सामुदायिक वनको गरी करिब ३० हेक्टर वन क्षेत्रमा क्षति पुर्‍याएको स्थानीय पदम खड्काले जानकारी दिनुभयो । वैशाख महिना सुरु भएयता जिल्लाका विभिन्न ठाउँका जंगलमा भएको आगलागीले जिल्लामा एक सय भन्दा बढी हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ ।

गत आइतबार दिउँसोदेखि जिल्लाको बेनी नगरपालिका-३ भकिम्लीको गजुरे सामुदायिक वनमा भएको भीषण आगलागी सोमबार साँझ नियन्त्रणमा आएको थियो । त्यसैगरी, अघिल्लो शुक्रबारदेखि बेनी नगरपालिका-२ ज्यामरुककोटको सल्लेरी सामुदायिक वनमा र अर्थुङ्गे सामादायिक वनमा भएको आगलागी नियन्त्रणमा आएको जिल्ला वन डिभिजन कार्यालय म्याग्दीले जनाएको छ ।

शनिबार रत्नेचौरको अर्जम सामुदायिक वन र ज्यामरुककोटको रानीवन सामुदायिक वनमा भीषण आगलागी भएको हो । आगलागी बस्तीमा पस्ने त्रासमा स्थानीय छन् । सामुदायिक बनबाट सुरु भएको आगो फैलिँदै गएको बेनी नगरपालिका-२ का वडा सचिव राजाराम शर्मा सापकोटाले जानकारी दिनुभयो । ‘शनिबार साँझसम्म दुवै सामुदायिक वनको कम्तीमा ३० हेक्टर क्षेत्रफल आगलागीले ध्वस्त बनाएको छ, बस्तीमा पुग्न नदिन गाउँले नियन्त्रणमा जुटेका छन्’ स्थानीय पदम खड्काले भन्नुभयो । यता डिभिजन बन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले आगलागी क्षेत्रमा कर्मचारी र स्थानीयवासी आगो नियन्त्रणमा लिन जुटेका जानकारी दिनुभयो ।

आगो कसले र किन लगाएको भन्नेबारे पनि नखुलेको स्थानीयको भनाइ छ । गाउँलेहरूले बस्तीमा आगो पस्ने त्रासले बस्ती आसपासका क्षेत्रमा अग्नीरेखा बनाउन जुटेका छन् । उक्त सामुदायिक बनमा बाँदर, खरायो, मृग लगायतका जनावर र चराचुरुङ्गीको वासस्थान थियो । सुकेका रुखका मुढाका कारण आगो लामो समय रहिरहेको छ ।

यसैबीच, यसवर्ष जिल्लाभर एक सय बढी हेक्टर क्षेत्रफलमा आगलागी भएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । डढेलोका कारण सदरमुकाम बेनी आपासका क्षेत्रमा वायु प्रदुषण बढेको छ । कति क्षेत्रफलमा आगलागी भयो र त्यसले कति क्षति भयो भन्ने विवरणहरू संकलनको काम चलिरहेको भन्दै उहाँले बुधबारसम्ममा सबै यकिन हुने जानकारी दिनुभयो । आगलागीमा संलग्न जो कोहीलाई पनि वन ऐन, २०७६ अनुसार कारबाही गरिने पनि रानाभाटले बताउनुभयो ।

गत वर्ष ३४१ हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लाको दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफल छ । त्यसमा ३६.७६ प्रतिशत वन, १.८५ झाडी, २१.२७ प्रतिशत चरन क्षेत्रले ओगटेको छ । ढोरपाटन सिकार आरक्षले एक हजार २६० हेक्टर, एक्यापले तीन हजार ७५३ हेक्टर वन क्षेत्र ओगटेको छ । वन कार्यालयले व्यवस्थापन गर्ने ७९ हजार ४३९ हेक्टर वनमध्ये २४ हजार २०२ हेक्टर वन छन् । जसमा ३१० वटा सामुदायिक वन उपभोक्ता समूहमार्फत व्यवस्थापन हुँदै आएको छ । यी वन क्षेत्र हिउँदमा डढेलो र वर्षामा भूस्खलनका साथै सडक विस्तारको बहानामा फडानीको शिकार बन्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?