लुम्बिनी प्रादेशिक अस्पताललाई एक नम्बर बनाउँछु : नवनियुक्त अध्यक्ष श्रेष्ठ

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष अजयमान श्रेष्ठले अस्पताललाई नेपालकै अग्रणी र एक नम्बर बनाउने गरी आफूले काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

आइतबार अस्पतालमा आयोजित पद वहाली कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले आफू बुटवलको छोरो भएकाले अस्पतालको सेवा गुणस्तरीय र प्रभावकारी बनाउन निस्वार्थ भावनाले काम गर्ने बताउनु भयो ।

उहाले आफूले उद्योग, व्यवसाय र सामाजिक क्षेत्रमा हासिल गरेको ज्ञान र अनुभवसंगै विज्ञहरुसँग राय सुझाव लिएर अस्पताललाई नमूना बनाउने गरी काम गर्ने बताउनु भएको छ ।

‘मलाई कुनै लाभ लिनु छैन, म प्रशासन चलाउन आएको पनि हैन’–अध्यक्ष श्रेष्ठले भने–‘म अस्पताल प्रशासनलाई सहयोग गर्न, यहांका समस्या समाधान र वजेटका लागि प्रदेश र केन्द्र सरकारसंग डटेर कुरा राख्न आएको हुँ ।’

अस्पतालमा विरामीको अत्यधीक चाप रहेकाले त्यसलाई थेग्न १२ सय शैयाको प्रस्तावित नयां भवनको ठेक्का प्रकृया अघि बढाउने पनि अध्यक्ष श्रेष्ठले प्रतिवद्धता जनाउनुभएको छ ।
प्रदेश सरकारको गौरवको आयोजनामा परेको अस्पतालको नयां भवनको ठेक्का प्रक्रियालाई कानुनी हिसाबले अप्ठेरो नपर्ने गरी अघि बढाउने श्रेष्ठले प्रतिवद्धता जनाउनु भएको हो।

‘ठेक्का रद्द गरेर वा कानुनी हिसाबले टुंगो लगाएर ठेक्का अघि बढाइन्छ’–अध्यक्ष श्रेष्ठले भन्नुभयो–‘सरकारी अस्पतालप्रति नागरिकको विश्वास बढाउन र गुणस्तरीय सेवा दिन नयां भवनको विकल्प छैन ।’

अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीलाई नागरिकले दोस्रो भगवानका रुपमा लिने भएकाले आफ्नो जिम्मेवारी नभुलेर मुस्कानसहितको सेवा दिन अध्यक्ष श्रेष्ठले आग्रह गर्नु भयो ।

आफूले शुरुमा सय दिने, ६ महिने र एक वर्षे योजना बनाएर काम गर्दै भविष्यमा नेपालकै नमूना र अग्रणी अस्पताल बनाउने गरी काम गर्ने अध्यक्ष श्रेष्ठले वताउनु भयो ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले अस्पताल प्रशासन र कर्मचारीबीच समन्वय र तालमेल गरेर अघि बढ्न सुझाव दिंदै स्वास्थ्यकर्मीहरुले विरामीमैत्री राम्रो व्यवहार गर्न आग्रह गर्नुभयो ।

प्रादेशिक अस्पतालमा बढ्दो विरामीको चाप घटाउन उपमहानगरले वडाहरुमा १५ शैयाका अस्पताल बनाउन शुरु गरिसकेको वताउनु भयो ।
अस्पतालका पुर्व अध्यक्ष बाबुराम भट्टराईले १२ सय शैयाको अस्पताल भवन ठेक्कामा डेढ अर्ब रुपैयां तलमाथि गर्न खोजिएकाले ठेक्का विवादित र अलपत्र परेको भन्दै अब कानुनी प्रकृया मिलाएर अघि बढाउनुपर्ने सुझाउनु भयाे ।

उनले अप्रेशनको पालो ६ महिना कुर्नुपर्ने वाध्यता अन्त्य गर्न, वन कार्यालयको जग्गा अस्पतालको स्वामितत्व र संरक्षणमा लिन सुझाव दिनुभयो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुदर्शन थापाले लामो समयसम्म अध्यक्ष नियुक्ति नहुंदा अस्पताल अभिभावकविहीन बनेको गुनासो गर्दै अब राजनीति भन्दा माथि उठेर काम गर्ने सक्षम नेतृत्व पाएको वताउनु भयो ।

सो अवसरमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू, डाक्टर श्रीधर आचार्य, नर्सिङ प्रमुख ज्योति पौडेल लगायतले अस्पतालले सक्षम अध्यक्ष पाएको भन्दै अस्पतालको सेवामा छिट्टै परिवर्तनको अनुभूति हुने विश्वास व्यक्त गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?