उत्पादनमूलक क्षेत्रमा लगानी गर्न एडिबीलाई आग्रह

Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र एसियाली विकास बैंक(एडिबी)का देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) अर्नौड कौकोइसबीच सोमबार भेटवार्ता भएको छ । सिंहदरबारस्थित आयोगको कार्यालयमा भएको भेटवार्तामा आयोगका उपाध्यक्ष श्रेष्ठ र सचिव केवलप्रसाद भण्डारीको सहभागिता थियो भने एडिबीका कन्ट्री डाइरेक्टर अर्नौड कौकोइस, प्रमुख अर्थशास्त्री जान हानसेन, वरिष्ठ कार्यक्रम अधिकृत अञ्जन पाण्डे र कार्यक्रम विश्लेषक सिर्जना राजभण्डारीको सहभागिता थियो ।

सो अवसरमा उपाध्यक्ष डा. श्रेष्ठले नेपालको विकासमा एडिबीले गरेको सहयोगप्रति धन्यवाद प्रकट गर्दै आगामी दिनमा समेत सहयोग निरन्तर हुने विश्वास व्यक्त गर्नुभयो । एडिबीको सहयोगमा सञ्चालित आयोजनाको प्रभावकारी कार्यान्वयन सम्बन्धमा पनि छलफल भएको थियो । उपाध्यक्ष डा. श्रेष्ठले नेपालमा उत्पादनमूलक र रोजगारी सिर्जना हुने परियोजनामा लगानी आवश्यक रहेको भन्दै उक्त क्षेत्रमा लगानीका लागि एडिबीलाई आग्रह गर्नुभयो । एडिबीका कन्ट्री हेड कौकोइसले हालै एडिबीले नेपालमा गरेको लगानीको पोर्टफोलियो रिभ्यु भएको जानकारी दिँदै नयाँ सरकारले ल्याएका नयाँ परियोजनामा लगानी गर्न एडिबी तयार रहेको बताउनुभयो । एडिबीले लगानी गरेका नेपालका विकास परियोजनाको पोर्टफोलियो सुधारिएको समेत उहाँले बताउनुभयो ।

एडिबीले नेपालको भौतिक पूर्वाधारलगायतका क्षेत्रमा करिब चार खर्ब २१ अर्ब अर्थात् ३.२ बिलियन बराबरको लगानी गरेको छ । सन् २०२२ सम्ममा बैंकले ऊर्जा, यातायात, कृषि, खानेपानी, शहरी पूर्वाधार, सेवा क्षेत्र, ग्रामीण विकास र प्राकृतिक स्रोत, स्वास्थ्य शिक्षालगायतका क्षेत्रमा लगानी गरेको हो । गत वर्षमात्र एडिबीले नेपाललाई २५ करोड ५० लाख अमेरिकी डलर बराबर ऋण लगानी गरेको थियो ।

पोर्टफोलियो रिभ्यु कार्यक्रममा एडिबीले शहरी खानेपानी तथा सरसफाइ आयोजना, बागमती नदी बेसिन सुधार, ग्रामीण उद्यम वित्तीय आयोजना र विद्युत् प्रसारण तथा वितरण दक्षता अभिवृद्धि आयोजनालगायतलाई पुरस्कृतसमेत गरेको थियो । मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो त्रिशूली जलविद्युत् आयोजनालगायत दर्जनौँ आयोजनामा एडिबीले लगानी गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?