सर्लाहीको हरिवनमा कृषि सामाग्री प्रदर्शनी सुरु

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 4 mins

सर्लाही । सर्लाहीको हरिवनमा मंगलबारबाट डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी सुरु भएको छ । ‘कृषि यान्त्रिकरणको वृद्धि, दुग्धजन्य एवम् कृषि उत्पादनमा नविन्तम प्रविधि’ भन्ने मूल नाराका साथ हरिवन नगरपालिका र प्रदेश दुग्ध विकास बोर्ड मधेश प्रदेशको संयुक्त आयोजनामा हरिवनमा प्रदर्शनी सुरु भएको हो ।

प्रदर्शनीको मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाले उद्घाटन गर्नुभएकाे छ ।

मन्त्री कुशवाहाले किसानको जीवन स्तर उकास्न प्रदेश सरकारले यो वर्षदेखि विभिन्न योजना ल्याएको बताए । उनले आठवटै जिल्लाका एक हजार २७० वटा वडामा जैविक मलको साना उद्योग स्थापना, पालिका स्तरमा बजार व्यवस्थापन, ३२ स्थानमा शितभण्डार निर्माण, एक लाख किसानलाई गाईभैँसीमा अनुदानलगायतका कार्यक्रम ल्याउन लागिएको जानकारी दिनुभयाे ।

उनले मधेश प्रदेशमा उत्पादन भएका तरकारीलगायत अन्य कृषिउपज काठमाडौं, पोखरा, वीरगञ्ज, विराटनगरलगायत ठूला शहरमा बिक्रीको प्रवन्ध मिलाउन आफूले पहल गरिरहेको बताएको छ । कृषि उत्पादनको उपज रहेको मधेश प्रदेशमा मलको सँधै अभाव रहँदा किसानलाई खेती लगाउनै समस्या भइरहेको अवस्थालाई मध्यनजर गर्दै संघीय सरकारसँग यस प्रदेशका लागि मलको कोटा बढाइदिन आफूले पहल गरिरहेको प्रदेशका कृषि मन्त्री कुशवाहाले बताउनु भयाे ।

कार्यक्रमलाई सम्वोधन गर्दै मधेश प्रदेशसभाका सदस्य जवाहारलाल कुशवाहाले किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाउञ्जेल देश समृद्ध बन्न नसक्ने बताउनु भयाे । कृषिजन्य र पशुजन्य उत्पादन घट्दै जानु चिन्ताको विषय भएकाले किसानलाई प्रोत्साहन हुने खालका सहुलियत कार्यक्रम ल्याउनुपर्ने मधेश प्रदेशसभाका सदस्य कुशवाहाको भनाई छ ।

हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) को अध्यक्षतामा नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, राष्ट्रिय दुग्ध विकास बोर्डका प्रमुख राजनप्रसाद यादवलगायतले मन्तव्य राख्नुभयाे। प्रदर्शनीमा कृषि तथा दुधजन्य विभिन्न उत्पादन र अन्य वस्तुको स्टल राखिएको छ ।

प्रदर्शनीमा किसानसँगै कृषि तथा पशुजन्य उत्पादन र औजारका उत्पादकलाई निःशुल्क स्टल राख्ने व्यवस्था मिलाइएको प्रदर्शनीका संयोजक केशवराज थापाले बताए । उनका अनुसार प्रदर्शनमा कृषि तथा डेरीजन्य उत्पादनका विज्ञबाट किसानलाई निःशुल्क परामर्शको व्यवस्था समेत मिलाइएको छ । प्रदर्शनी १४ गते सम्म चल्ने आयोजकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?