गुल्मीका १२ पालिकामा ३७ करोड बेरुजु

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 7 mins

गुल्मी । गुल्मीमा गत वर्ष भन्दा साढे पाँच करोडले बेरुजु बढेको छ । यस जिल्लामा दुई नगरपालिका र दश गाउँपालिका रहेका छन् । गत वर्षको तुलनामा यस वर्ष जिल्लाका अधिकांश पालिकाहरुमा बेरुजु बढी देखिएको हो ।

महालेखा परीक्षकको कार्यालयको बार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७८/७९ मा यहाँका सबै पालिकाहरुको कुल १४ अर्ब ९८ करोड १७ लाख १२ हजारको लेखापरीक्षण गर्दा २.४६ प्रतिशत रकम बेरुजु आएको देखिएको छ ।

आर्थिक बर्ष ०७८/७९ को बेरुजु रकम ३६ करोड ९४ लाख चार हजार रहेको छ । आर्थिक बर्ष ०७७/७८ मा जिल्लाका स्थानीय तहहरुको बेरुजु रकम ३१ करोड ५१ लाख एक हजार रहेको थियो । कार्यालयको प्रतिवेदनअनुसार आर्थिक बर्ष ०७७/७८ मा भन्दा ०७८/७९ मा पाँच करोड ४६ लाख तीन हजार बेरुजु रकम बढी आएको छ ।

महालेखा परीक्षकको ६० औँ प्रतिवदेनअनुसार ०७८/७९ मा गुल्मीमा सबैभन्दा धेरै कालीगण्डकी गाउँपालिकामा बेरुजु आएको छ । कुल एक अर्ब १६ करोड ५३ लाख छ हजार रकमको लेखापरीक्षण गराउदा छ करोड २१ लाख ७४ हजार बेरुजु देखिएको छ । कालिगण्डकीमा आ.व.०७७/७८ मा छ करोड २८ लाख ५९ हजार बेरुजु देखिएको थियो ।

सबैभन्दा कम मालिका गाउँपालिकामा बेरुजु आएको छ । यस पालिकामा एक अर्ब ३० करोड २३ लाख नौं हजारको लेखापरीक्षण गरिएको थियो । जसमा एक करोड १८ लाख ७२ हजार बेरुजु आएको छ । जिल्लाका अन्य पालिकाको तुलनामा मालिकामा कम बेरुजु आएपनि गत बर्षको तुलनामा भने बढेको छ । आ.व. ०७७/७८ मा मालिकामा ८१ लख ३८ हजार बेरुजु आएको थियो ।

यस्तै मदाने गाउँपालिकामा एक अर्ब ३५ करोड १२ लाख ८२ हजारको लेखापरीक्षण गरिएको थियो । जसमा दुई करोड ३० लाख ३९ हजार बेरुजु आएको छ । गत बर्ष सबैभन्दा कम बेरुजु आएको मदानेमा यस बर्ष भने बेरुजु रकम ह्वात्तै बढेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । मदानेमा आ.व. ०७७/७८ मा ३७ लाख ४६ हजार बेरुजु आएको थियो । आ.व. ०७७/७८ भन्दा ०७८/७९ मा मदानेमा एक करोड ९२ लाख ९३ हजार बेरुजु रकम बढेको हो ।

गुल्मीदरबार गाउँपालिकामा एक अर्ब ३३ करोड ९० लाख ४७ हजारको लेखापरीक्षण गराएको थियो । जसमा तीन करोड ७५ लाख ८१ हजार बेरुजु आएको छ । आ.व. ०७७/७८ मा ७१ लख २२ हजार बेरुजु आएको गुल्मीदरबारमा ०७८/७९ मा बेरुजु रकम तीन करोड चार लाख ५९ हजारले बढेको देखिएको छ ।

एक अर्ब ३४ करोड ३४ लाख ४७ हजारको लेखापरीक्षण रुरुक्षेत्र गरिएको रुरुक्षेत्र गाउँपालिकामा दुई करोड ८७ लाख ४३ हजार बेरुजु आएको छ । ०७७/७८ मा रुरुक्षेत्रमा तीन करोड ९४ लाख ६४ हजार बेरुजु आएको थियो । गत बर्षभन्दा यस बर्ष रुरुक्षेत्रमा एक करोड सात लाख २१ हजार बेरुजु घटेको छ । एक अर्ब १३ करोड ५८ लाख दुई हजारको लेखापरीक्षण भएको इस्मा गाउँपालिकामा दुई करोड ४१ लाख आठ हजार बेरुजु आएको छ । इस्मामा गत बर्ष अर्थात ०७७/७८ मा दुई करोड ६४ लाख ४७ हजार बेरुजु आएको थियो ।

एक अर्ब ७४ करोड ७४ लाख ९४ हजारको लेखापरीक्षण गराएको मुसिकोटमा दुई करोड ८७ लाख ५१ हजार बेरुजु आएको छ । मुसिकोटमा गत बर्ष एक करोड ७० लाख १४ हजार बेरुजु आएको थियो । रेसुङ्गा नगरपालिकामा तीन करोड ७९ लाख नौ हजार बेरुजु आएको छ । एक अर्ब ५१ करोड ४२ लाख २३ हजारको लेखापरीक्षण गराएको रेसुङ्गामा यस बर्ष दुई करोड ५४ लाख ८३ हजार बेरुजु रकम बढेको छ । ०७७/७८ मा रेसुङ्गामा एक करोड २४ लाख २६ हजार बेरुजु आएको थियो ।

एक अर्ब ३० करोड ४६ लाख ७० हजारको लेखापरीक्षण गराएको छत्रकोटमा दुई करोड आठ लाख ६९ हजार बेरुजु आएको छ । गत बर्ष भन्दा यस बर्ष छत्रकोटमा एक करोड ५६ लाख ९१ हजार बेरुजु रकम बढेको छ । आ.व. ०७७/७८ मा छत्रकोटमा ५१ लाख ७८ हजार बेरुजु आएको थियो । धुर्कोट गाउँपालिकामा तीन करोड ६७ लाख ८९ हजार बेरुजु आएको छ । कुल एक अर्ब ३३ करोड ८५ लाख ६१ हजारको लेखापरीक्षण भएको धुर्कोटमा गत बर्षभन्दा यस बर्ष एक करोड ९६ हजारले बेरुजु रकम बढेको छ । आ.व. ०७७/७८ मा धुर्कोटमा दुई करोड ६६ लाख ९३ हजार बेरुजु आएको थियो ।

सत्यवती गाउँपालिकामा गत बर्षभन्दा यस बर्ष एक करोड ३० लाख ४३ हजार बेरुजु रकम घटेको छ । गत बर्ष चार करोड २१ लाख १० हजार बेरुजु आएकोमा यस बर्ष दुई करोड ९० लाख ७६ हजार बेरुजु आएको छ । सत्यवतीले कुल एक अर्ब ३२ करोड ५७ लाख ६८ हजारको लेखापरीक्षण गराएको थियो ।

गत बर्ष जिल्लामा सबैभन्दा धेरै छ करोड ३९ लाख चार हजार बेरुजु आएको चन्द्रकोटले यस बर्ष तीन करोड ५१ लाख ११ हजारले बेरुजु कम गर्दै दुई करोड ८७ लाख ९३ हजारमा सिमित राखेको छ । चन्द्रकोटले आ.व. ०७८/७९ मा एक अर्ब २८ करोड ८० लाख छ हजारको परीक्षण गराएकोमा २.२४ प्रतिशत रकम बेरुजु आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?