न्यून विद्यार्थी भएपछि राप्तीसोनारीमा नौ विद्यालयका कक्षा स्थगन

हिमालय टाइम्स
Read Time = 6 mins

-शुभाकर विश्वकर्मा
नेपालगन्ज । राप्ती सोनारी गाउँपालिकामा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून हुन थालेपछि यहाँका नौवटा विद्यालयका कक्षा स्थगन गरिएको हो । सामुदायिक विद्यालयमा बर्सेनि विद्यार्थी संख्या घट्दै गएपछि ती विद्यालयका कक्षा घटाएर समायोजन गरिएको पालिकाले जनाएको छ ।

राप्तीसोनारी गाउँपालिकाको २०८० वैशाख १० गते बसेको गाउँ कार्यपालिका बैठकले नौवटा आधारभूत विद्यालयमा विद्यार्थी संख्या न्यून भएकाले कक्षा स्थगन गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले बताउनुभएको छ । वडा नम्बर १ का चारवटा र वडा नम्बर ३, ४, ५, ६ र ९ का एक/एकवटा विद्यालयका कक्षा स्थगन गरिएको उहाँको भनाइ छ ।

वडा नम्बर १ स्थित भानु प्राथमिक विद्यालय (प्रावि), नेपाल राष्ट्रिय प्रावि र हरिसिद्धी प्रावि र वडा नम्बर ३ मा रहेको जनज्योति प्रावि नारायणपुरमा कक्षा तीनसम्म मात्रै भर्ना लिने निर्णय गरिएको शिक्षा शाखाले जनाएको छ । यी विद्यालयमा कक्षा ५ सम्म अध्यापन हुँदै आएको थियो । कक्षा ३ सम्म पढाइ हुँदै आएका वडा नम्बर १ स्थित जनज्योति प्रावि चप्रगौडी, वडा नम्बर ४ स्थित जनभावना प्रावि माँहुमा कक्षा २ सम्म मात्रै भर्ना लिने निर्णय गरिएको छ । वडा नम्बर ५ स्थित सिद्धेश्वरी प्रावि नयाँबस्ती, वडा नम्बर ६ स्थित दीपज्योति प्रावि मोहनपुर र वडा नम्बर ९ स्थित सरस्वती प्रावि गुरुवागाउँमा कक्षा ४ सम्म मात्रै भर्ना लिन भनिएको छ । यी विद्यालयमा पनि गत शैक्षिकसत्रसम्म कक्षा ५ सम्म पढाइ भइरहेको थियो ।

माथि उल्लेखित विद्यालयमा गत शैक्षिकसत्रमा जम्मा विद्यार्थी संख्या तीन सय ७८ जना छ । जबकी हाम्रो कानुनले तराई तथा नगरमा ५० जना विद्यार्थी भएपछि मात्रै कक्षा–सञ्चालन अनुमति प्रदान गर्छ । राप्तीसोनारीका ती विद्यालयमा न्यूनतम् २२ जना र अधिकतम् एक सय ३३ जना मात्रै विद्यार्थी थिए । शिक्षा शाखाका अनुसार कक्षा ५ सम्म पढाइ हुँदै आएको दीपज्योति प्रावि मोहनपुरमा सबैभन्दा धेरै एक सय ३३ जना मात्रै विद्यार्थी थिए । कक्षा ५ सम्म पढाइ हुँदै आएको नेपाल राष्ट्रिय प्राविमा जम्मा २२ जना मात्रै विद्यार्थी थिए ।

ती विद्यालयमा जम्मा जनशक्ति ३८ जना छन् । बालविकास केन्द्रमा संघीयतर्फ सातजना र गाउँपालिका अनुदानका एकजना शिक्षक छन् । भानु प्राविमा बालविकास केन्द्रतर्फ संघीय र गाउँपालिका अनुदानका कुनै पनि शिक्षक नभएको पाइएको छ । यस्तै कूल शिक्षकहरुको संख्या जम्मा १९ जना छन् । तीमध्ये संघीयतर्फ १३ र गाउँपालिका अनुदानतर्फ ६ जना शिक्षकको दरबन्दी रहेको छ । ती कार्यालयमा कार्यालय सहयोगीको संख्या नौजना रहेको छ ।

यहाँ अधिकांश पहाडी जिल्लाबाट आएका नागरिक छन् । ती क्षेत्र सेवा सुविधाका दृष्टिले दुर्गम र अविकसित छन् । पहाडबाट झरेकाहरु बिस्तारै सुविधा खोज्दै नेपालगन्ज र कोहलपुरलगायतका क्षेत्रमा बसाइँ सराइ गर्न थाले । सेवा क्षेत्रका अभिभावक अन्यन्त्र जान थालेपछि विद्यार्थी संख्यामा कमी आउन थालेको शिक्षा शाखा प्रमुख न्यौपाने बताउनु हुन्छ । अर्को कारण हो, अभिभावकहरुले राम्रा विद्यालय रोज्न थाले । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किँदा समस्या उत्पन्न भयो । सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास गुम्दै गयो । सामुदायिक विद्यालयमा विद्यार्थी कम हुनु संस्थागत विद्यालयप्रति अभिभावकको आकर्षण बढ्नुलाई मान्छन्, उनी । उनले सेवा क्षेत्रमा कम जनसंख्या भएका कारण पनि यस्तो समस्या देखिएको बताउनुभयो । स्वदेशमा रोजगारी नहुँदा अधिकांश अभिभावक रोजगारीका लागि कालापहाड र खाडी मुलुकमा समेत गए ।

न्यौपानेले गाउँपालिकाले निर्णय गरेका ती विद्यालय सबै सामुदायिक रहेको बताउनुभयो । ‘ती विद्यालयमा विद्यार्थी संख्या अत्यन्त न्यून थियो । तत्काल बन्द गर्न पनि सम्भव थिएन । भौगोलिक कारणले बन्द हुँदा विद्यार्थीहरु टाढा जान नसक्ने अवस्था थियो । तत्काल बन्द गर्नुभन्दा कक्षा घटाएर भए पनि पढाइलाई निरन्तरता दिने निष्कर्षसहित कक्षा स्थगनको निर्णय गरिएको हो ।’ उहाँले भन्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?