राष्ट्रपति रनिङ शिल्डमा कास्की च्याम्पियन

हिमालय टाइम्स
Read Time = 4 mins

पोखरा । गण्डकी प्रदेशको राजधानी शहर पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्डको उपाधि कास्कीले जितेको छ । प्रतियोगितामा सहभागी १० जिल्लामध्येमा कास्की च्याम्पियन बन्यो । ‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद’को नारासहित प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा पोखरा रंगशालामा सम्पन्न प्रतियोगितामा कास्कीले १४ स्वर्ण, १३ रजत र पाँच कांस्य गरी कुल ३२ पदक जितेर च्याम्पियन बनेको हो ।

गत वर्षको विजेता बागलुङ १० स्वर्ण, पाँच रजत र १० कांस्य पदक गरी कुल २५ पदकका साथ द्वितीय भयो । नवलपुर जिल्लाले सात स्वर्ण, तीन रजत र आठ कांस्य गरी कुल १८ पदक जित्दै तृतीय स्थान हासिल गरेको हो ।

पोखरा रंगशालामा सम्पन्न भलिबल फाइनलमा नवलपुर विजयी भएको छ । नवलपुरले २८-२६, २५-२० ले बागलुङलाई पराजित गरेको हो भने पर्वतले गोरखालाई २५-२०, २५-१८ ले जित्दै तृतीय भयो । छात्रा भलिबलमा कास्कीले उपाधि जित्यो । कास्कीले स्याङ्जालाई २५-१८, २५-२१ ले फाइनल खेल जित्दा म्याग्दीले तनहुँलाई २५-२०, १९-२५ र २५-१९ ले जितेर तृतीय भएको छ ।

एथलेटिक्सतर्फ कास्कीले ६ स्वर्ण, आठ रजत पदक जित्दै प्रथम भएको छ भने नवलपुर पाँच स्वर्ण, एक रजत र पाँच कांस्य पदक जितेर द्वितीय तथा स्याङ्जाले चार स्वर्ण र एक कांस्यका साथ तृतीय भयो । यही वैशाख ११ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ६ खेल भएका थिए । जसमध्ये मार्सल आर्टतर्फ छात्र/छात्रा तेक्वान्दो, कराँते र उसु तथा टिम इभेन्टतर्फ एथलेटिक्स, कबड्डी र भलिबल भएका थिए ।

विजेता टिम तथा खेलाडीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव हेमराज सुवेदी, प्रदेश खेलकुदका उपाध्यक्ष ध्वजकुमार गुरुङ, परिषद्का कार्यकारी सदस्यद्वय दिलबहादुर गुरुङ र ऋषिराम गौतमलगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभयो ।

प्रदेशस्तरीय रनिङ शिल्ड प्रतियोगिताबाट छनोट भएका खेलाडीले यही वैशाख १५ गतेदेखि काठमाडौंमा सुरु हुने तेह्रौँ संस्करणको केन्द्रीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउनेछन् । प्रदेशस्तरीय प्रतियोगिताबाट छनोट हुन सफल खेलाडीलाई एकदिने बन्द प्रशिक्षणमा राखिने परिषद्ले जनाएको छ ।

स्थानीय, प्रदेश र संघस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले उत्कृष्ट अनुशासित र देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सक्षम खेलाडी उत्पादन हुने लक्ष्य रनिङ शिल्डको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?