लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीको दाबी पेस

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । लुम्बिनी प्रदेश सरकारको नेतृत्वका लागि ८ दलको गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्नु भएको छ ।

त्यसका लागि चौधरी सहित गठबन्धन दलका सांसद र समर्थकहरू बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर पेस गर्नु भएको छ । गठबन्धन दलको बैठकले यसअघिकै सहमतिअनुसार चौधरीको नेतृत्वमा जानेगरी प्रदेश प्रमुख समक्ष दाबी पेश गर्ने निर्णय गरेको हो । आज ४ बजेपछि चौधरीलाई मुख्यमन्त्रीका रुपमा प्रदेश प्रमुख शेरचनले घोषणा गर्ने तयारी छ । चौधरी दाङ क्षेत्र नम्बर ३ को १ बाट प्रदेश सभामा निर्वाचित हुनु भएको हो ।

यसअघि मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसकेपछि प्रदेशप्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न आह्वान गरेका थिए । सोही सूचनाकै आधारमा दाबी पेस गर्न पुगिएको हो ।

कांग्रेस र माओवादी केन्द्र सहित ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरूले मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेको भन्दै चौधरीलाई संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख अमिक शेरचनसमक्ष निवेदन दिइसकेका थिए । यस पटक पनि ५३ जनाको हस्ताक्षर सहित दाबी पेस गर्न लागिएको हो ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी,जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद रहेका छन् ।

बहुमतको लागि ४४ सांसाद आवश्यक पर्नेछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १० मन्त्रालय रहेको लुम्बिनीमा माओवादीले अर्थ र भौतिकसहित ३ मन्त्रालय दाबी गरेको छ । कांग्रेसले भने अर्थ र भौतिकमध्ये एक मन्त्रालय आफूसँगै राख्न र माओवादीलाई दुई मन्त्रालय दिन बताएको छ ।

कांग्रेसका एक सांसदले कांग्रेसले मुख्यमन्त्रीसहित ३ वा ४, माओवादीले २ वा ३ र जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र लोसपाले १–१ मन्त्रालय पाउने सम्भावना रहेको बताए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?