कांग्रेस नेता डिल्लीबहादुर लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त, को हुन् चौधरी ?

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 13 mins

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त हुनु भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउनु भएका प्रदेश सभा सदस्यका हैसियतमा चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो

चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एक जना र स्वतन्त्र एक सांसद गरि ५३ जना साँसदको समर्थन रहेको छ । नेकपा एमालेले भने प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि गरेको आह्वान नै गैरकानुनी भएको दाबी गर्दै आएको छ ।

लुम्बिनीमा मंसिर ४ को निर्वाचनपछि एमाले नेतृत्वमा माओवादी सहितको गठबन्धनको सरकार बनेको थियो । संविधानको धारा १६८ को उपधारा २ अनुसार एमालेका लिला गिरीले मुख्यमन्त्रीको रुपमा पुस २७ गते शपथ लिएका थिए । तर केन्द्रमा सत्ता गठबन्धन परिर्वतन भएसँगै माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो । सरकारमा रहेको दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले वैशाख ११ गते विश्वासको मत लिनुभएकाे थियाे । तर उहाँले विश्वासको मत नपाएपछि सरकार गुमेको थियो ।

त्यसपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि बिहीबार ४ बजेभित्र दाबी पेस गर्न समयसीमा दिनुभएकाे थियाे। संविधानको धारा १६८ को २ पछि उपधारा ३ को प्रक्रियामा जानुपर्नेमा २ मै सरकार गठन गरेको भन्दै एमालेले विरोध गरेको हो । प्रदेश प्रमुख शेरचनले सरकार गठनका लागि महान्यायाधिवक्तासँग राय लिएर सरकार गठन दाबीको आह्वान गर्नु भएको थियो ।एमालेले यसको विरोधमा अदालत जाने चेतावनी दिएको छ। उपदफा ३ अनुसार दाबी गर्दा एमालेले सरकार बनाउन पाउने थियो ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ । लुम्बिनीमा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एक जना र स्वतन्त्र एक सांसद रहेका छन् ।

सत्ता गठबन्धनले नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतको समर्थनमा सरकारको दाबी गर्न लागेको हो । चौधरीलाई एमाले र राप्रपा बाहेक सबै दलका सासंदको समर्थन रहेको छ ।

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्ली चौधरी को हुन् ?

कुनै बेला डिल्ली चौधरीको परीवार जमिन्दारको घरमा कमैया बस्थ्यो । पढाइ लेखाइ उनको समुदायमै आकाशको फल जस्तै थियो । चौधरीले थारु समुदाय सहित अन्य अल्पसंख्यक गरीविको रेखा मुनी रहेका नागरिकहरुलाई समेत शिक्षाको उज्यालो दिन व्याकवार्ड सोसाइटी (बेस) मार्फत उहाँ टुकि लिएर गाउँगाउँ छिर्नुभयाे ।

लाखौं सीमान्तकृत समुदायलाई ज्ञानको प्रकाश छर्नुभयाे । जसको चर्चा यहाँ मात्रै हैन विश्वभर नै उत्तिकै भइरहेको छ । कमैया मुक्ति आन्दोलन र थारु समुदायमा शिक्षाको दियो वाल्ने चौधरी वाल अधिकारको क्षेत्रमा पनि क्रियाशिल बन्नुभयाे । भारतका बालबचाओ अभियानका कैलास सत्यार्थिसंगको सम्वन्धका कारण उहाँ बालबालिकाको शिक्षाका क्षेत्रमा पनि क्रियाशिल हुनु भयाे ।

१७ वर्षको कलिलो उमेरमा नै डिल्लीबहादुर चौधरीले नेपालको सामाजिक, राजनीतिक र आर्थिक रुपमा विपन्न तथा पिछडिएका जनताको उत्थानको लागि संगठन बनाएर आफ्नो जीवनकालको महत्वपूर्ण कामको सुरुवात गर्नुभयाे । नेपालको तत्लो तराई क्षेत्रमा बसोबास गर्ने, राज्यको सेवा र स्रोतका साथै विविध पक्षले बञ्चितीकरणमा परेका आदिवासी थारु र पछिपरेका अन्य समुदायमा केन्द्रित भएर कार्यलाई अगाडी बढाइरहँदा उहाँको कामले नेपाल र नेपाल बाहिरका विभिन्न क्षेत्र तथा देशमा पनि सकारात्मक प्रभाव पारेको छ ।

थारु समुदायमा जमिन्दारहरुले दासताको प्रभाव बढाएर आर्थिक तथा सामाजिक श्रमिक शोषण गर्न थाले । पुस्तौं पुस्तासम्म थारुहरु माथी गर्ने शोषण झन्झनै बढ्दै गयो र पुस्तौ सम्म थारुहरु ऋणमा अल्झीदै गए । त्यस पछि कमैया मुक्तीको आन्दोलनमा उहाँ  सफल पनि हुनुभयाे। राजनीति परिवर्तन र सशक्तिकरणमा जुटेका चौधरीलाई तत्कालिन निरंकुश पञ्चायत शासन ब्यवस्थाले देशद्रोही भएको आरोप लगाउँदै प्रहरी हिरासतमा पनि धेरै पटक बस्नुभएकाे छ ।

डिल्लीबहादुर चौधरीको कामको मूल्यांकनमा राष्ट्रिय तथा अन्तिराष्ट्रिय मान्यताका  पुरस्कारहरु समावेश छन् ।

त्यहि कारण उहाँले अशोका फेलोशिस अवार्ड, संयुक्त राज्य अमेरिका (१९९२), रिवोक अन्तराष्ट्रिय मानवअधिकार पुरस्कार, संयुक्त राज्य अमेरिका (१९९४) सो पुरस्का अमेरिकी भूतपूर्व राष्ट्रपति जिमि कार्टरबाट प्राप्त भएको हो । द एन्टिस्लेभरी इन्टरनेशनल अवार्ड, यूके (२००२) दासता विरुद्ध काम गरेवाफत प्राप्त गर्नुभएका चौधरी नेपाल सरकारबाट पुरस्कृत २ पुरस्कारहरुः सुप्रवल गोर्खा दक्षिण बाहु तेस्रो (१९९४) र सुप्रबल गोर्खा दक्षिण बाहु त्रिशक्ति पट्ट (२००४) तथा राम कृष्ण जयदयाल हार्मनी अवार्ड, भारत (२००३)दिल्लीका तत्कालीन मुख्यमन्त्रीबाट प्राप्त गर्ने सामाजिक अभियन्ता हुनु हाे ।

चौधरी समुदायका उहाँ अर्थात डिल्ली बहादुर चौधरीको यात्रा बेसदेखि प्रदेश सम्मै चर्चामा छ । लुम्बिनी प्रदेशका पर्यटन ग्रामिण तथा सहरी विकास मन्त्रीको रुपमा प्रदेश सरकारका डेढ वर्ष काम गरेका चौधरी यस वर्षको निर्वाचनबाट मुख्यमन्त्रीको लाईनमा पुग्नुभएकाे हाे ।
२०४२ साल देखि राजनीति र सामानिक सेवामा सक्रिय चौधरी भारी मतान्तर सहित यस पटक दाङ निर्वाचन क्षेत्र नं ३ (१) बाट प्रदेश समा सदस्यका लागि दोस्रो पटक निर्वाचित हुनुभयाे । अहिले लुम्बिनीको नेतृत्वमा पुग्नुभयाे ।

दाङ निर्वाचन क्षेत्र नं ३ ( १) बाट प्रदेशसभा सदस्यमा निर्वाचित चौधरीको अवको लक्ष प्रदेशको नेतृत्वगर्ने छ ।
सामाजिक अभियन्ताका रुपमा चिनिएका चौधरीलाइ संघीय सरकारले पनि मुल्यांकन गर्यो । त्यसैले उहाँ राजनीतिमा समानुपातिक सांसदका रुपमा राजनीतिमा तानिनुभयाे । २०७०—०७४ का संविधान सभा सदस्यको रुपमा रहनुभयाे । सोहि समयमा उहाँ श्रमराज्य मन्त्रीको पनि भुमिकामा रहनुभएकाे थियाे । बैदेशिक रोजगारलाई सहज र व्यवस्थीत बनाउन पनि चौधरीको छोटो समयमै अर्थपुर्ण योगदान रह्यो ।

यस अघि उहाँले लुम्विनी प्रदेशको सार्वजनिक लेखा समितिका सभापतिको भुमिका मात्रै निर्वाह गर्नुभएन, सो पदमा आसिन रहँदा प्रदेश सरकारमा ह्वाइट वडि (सेता गाडी) काण्डलाई उजागर गर्दै कमिशनमा खरीद भएको आफैले चढेको गाडि पनि स्टोरमै फिर्ता गर्नुभएकाे थियाे । प्रदेश सरकारको गुमेको झण्डै ६० लाख रुपैया फिर्ता गराउनु भएकाे थियाे ।

दाङलाई राजधानी घोषणा गर्ने र कार्यान्वयन गर्ने सन्दर्भमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गरेका गर्नुभएकाे थियाे । उहाँकै कार्याकालमा राजधानीको पूर्वाधार निर्माणको काम समेत सुरु भएको थियो ।   सोहि समयमा उहाँ श्रमराज्य मन्त्रीको पनि भुमिकामा रहनुभएकाे थियाे। बैदेशिक रोजगारलाई सहज र व्यवस्थीत बनाउन पनि चौधरीको छोटो समयमै अर्थपुर्ण योगदान रह्यो । दोस्रो पटक प्रदेश सभामा निर्वाचित उहाँ लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा प्रस्तावित व्यक्ति हुनु हाे ।

दाङलाई राजधानी घोषणा गर्ने र कार्यान्वयन गर्ने सन्दर्भमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकाे थियाे ।

नाम : डिल्ली बहादुर चौधरी
जन्मः २०२६ असार १५
आमाः सोमती चौधरी
बुवाः टुकलाल चौधरी
स्थायी ठेगानाः तुलसीपुर उपमहानगरपालिका ६ डुम्रीगाउँ
शिक्षाः स्नातक (सामुदायिक विकास )
नेपाली काङ्ग्रेसको २०६४ देखि निरन्तर महसमिति सदस्य निर्वाचित
संविधान सभा सदस्यः २०७०
श्रम राज्य मन्त्री २०७३–०७४
प्रदेश सभा सदस्यमा निर्वाचित (दाङ ३(१) २०७४
पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री २०७८–८९ पुस २७ सम्म
प्रदेश सभा सदस्यमा निर्वाचित (दाङ ३ (१) २०७९
संसदीय दलको नेता नेपाली काँग्रेस २०७९
१७ वर्षको उमेरमा नै सामाजिक नेतृत्व
सामाजिक र राजनीतिक याता सुरु २०४२ देखि विभिन्न पदमा र नेतृत्वमा गरेको ।
२०५७ मा कमैया आन्दोलनको अगुवाइ गरि कमैया मुक्तिको घोषणा गर्न सफल बनाउने नेतृत्वकर्ता ।
विश्वका ३० वढी राष्ट्रको भ्रमण र विभिन्न विश्वविद्यालयमा अध्यापन गरेको अनुभव ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?