जुम्लामा स्याउका बगैंचा फुलेर सेताम्मे

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लामा स्याउ बगैंचा फुलेर सेताम्मे भएकाछन् । यो याममा जुम्ली किसानले लगाएका स्याउका बगैंचा फुलेर सेताम्मे बनेका छन् । यहाँका आठवटै स्थानीय तहका स्थानीय स्याउ खेतीमा निर्भर छन् । किसाका स्याउ बगैंचा फलेर रङ्गीचङ्गी भएको तिला गाउँपालिका–२ का स्याउ किसान दलबहादुर रावतले बताउनुभयो ।

अहिले स्याउ बगैँचामा किसान व्यस्त हुने गरेका छन् । माघदेखि स्याउ बिरुवाको रेखदेख, मलखाद व्यवस्थापन लगायत काममा किसानलाई चटारो परेको स्याउ किसान रावतले भन्नुभयो, ‘स्याउका बिरुवा फूलेपछि बगैँचामा सिँचाइ गर्ने स्थानीयवासीलाई भ्याइनभ्याई  छ । बगैंचामा पाँच सय स्याउका बिरुवा फुलेपछि स्याउ बगैंचा सेताम्मे बनेको छ ।’ स्याउ फुलेकोले योवर्ष लटरम्म फल्ने आशा रहेको स्थानीय  रावतको भनाइ छ ।

स्याउका फूल फूलेदेखि फल लाग्ने समयसम्म विशेष ख्याल गर्नुपर्छ । स्याउ हरेक वर्ष सुर्खेत र नेपालगन्जमा बिक्री गर्ने गरेको गत वर्ष स्याउबाट झन्डै ५ लाख रुपैयाँ आम्दानी भएको उहाँले बताउनु भयो । यो वर्ष कम्तीमा ७ लाख रुपैयाँ आम्दानी हुने आशा गरेको स्याउ किसान रावतले बताउनुभयो । बगैँचामा स्याउ फूलेर सेताम्य भएकाछन्  । फुलसँगै फोटो खिच्नेदेखि टिकटक बनाउनका लागि बगैँचामा आउने गरेको कनकासुन्दरी–२ का स्याउ किसान बखतबहादुर बुढाले जानकारी दिनुभयो । अहिले जिल्लाका सबै स्याउ बगैँचा फूलेर सेताम्य भएका छन । पालुवा नपलाउँदासम्म स्याउमा असिनाले क्षती गर्ने कि भन्ने चिन्ताले पिरोल्न थालेको यहाँका स्याउ किसान बताउँछन् ।

बगैँचामा स्याउका बोट फुलेर सेताम्मे भएपछि जुम्लाको वातावरण मनोरम देखिएको छ । सुक्खा मौसममा स्याउ फुलेर सेताम्य देखिएको जुम्लामा आन्तरिक तथा बाह्य पर्यटकहरू पनि स्याउका फूलहरूसँगै रमाउन थालेका छन् । कर्णाली राजमार्ग हुँदै राराताल पुगेका पर्यटकहरू स्याउको फुलसँगै फोटो खिचाउँदै भिडियो बनाउँदै ओहोरदोहोर गर्ने गरेको स्याउ किसान महेन्द्र बुढाले बताउनुभयो । अहिले फूलेको स्याउ भदौमा पाकेपछि बगैँचा राताम्मे हुन्छ ।

जुम्लामा गोल्डेन, रेड, रोयल, जोनाथान, कक्स ओरेन्ज टिपिन, म्याकन्ज लगायत जातको स्याउ उत्पादन हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना कार्यालय जुम्लाले जनाएको छ । यहाँका १८ हजार घरधुरीमध्ये करिब १६ हजार घरधुरी स्याउ खेतीमा संलग्न रहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । कृषि विकास कार्यालयका अनुसार अहिले ४ हजार २५० हेक्टर जमिनमा स्याउ खेती हुने गरेको कार्यालयले जनाएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?