✍️ डा. नारायणप्रसाद निरौला
जीवनको परं उद्देश्य परमानन्दको प्राप्ति हो । सबैले खोज्ने सुख शान्ति र अमन चयन नै हो । यसकै निम्ति हामी अनेकौ स्थान परिभ्रमण गरिरहेका हुन्छौ, अनेकौँ उपायमा भौँतारिरहेका हुन्छौँ तर पनि प्राप्त भने हुन सकेको हुँदैन । सुख कहाँ छ भन्ने प्रश्नको उत्तरकै निम्ति हाम्रा अधिक समय व्यतीत हुन्छन् । ‘वर्मा गए कर्मसँगै’ भनेजस्तै जहाँ गए पनि मनमा अनेक प्रकारका भावना जागृत भइरहन्छन् । जहाँ गए पनि उही दुःख अनि उही अशान्तिको आगोले निरन्तर पोलि नै रहन्छ । धनले समृद्ध भए पनि मन निरन्तर सुखकै खोज गरिरहको हुन्छ । हामी सोच्ने गर्दछौँ सबै कुरा पैसाले हुन्छ ।
असाध्य काम पनि पैसाले साध्य हुन्छन् तर पैसा केबल साधनमात्र हो । परं सुखको कारण पैसा कदापि हुन सक्दैन । किनकि पैसाले राम्रो ओछ्यान किन्न सके पनि आनन्ददायक निद्रा किन्न सकिँदैन । जुनसकै स्थानमा गए पनि मन अशान्त छ भने व्यक्तिले संसार नै अशान्त देख्नु स्वाभाविक हो । यस्तो अशान्त स्थितिबाट पार पाउने उपाय हाम्रा वैदिक वाङ्मयमा नभएका होइनन् । परं सुख प्राप्तिका अनेक उपायका बारेमा नबताएको पनि होइन र थाह नभएको पनि सायदै नहोला । र पनि संसार अशान्तिको आगोमै पिल्सिरहेको वर्तमान परिस्थिति छ । हरेकका मनमा कुनै न कुनै अतृप्त इच्छाले अशान्तिको बीज रोपिरहेको हुन्छ ।
यसैले त विश्व इतिहासमा ठूला-ठूला युद्धका विभीषिका छेडिए । चाहे महाभारत होस् चाहे ट्रयको युद्ध नै किन नहोस् । आखिर किन यस्तो हुन्छ भन्ने प्रश्नको उत्तर हामी आफूमै छ । ‘अहं ब्रहृमास्मि’ वेदको मूल सूत्र हो । सबै अशान्तिको कारण हामी स्वयं हौँ । हामीमा भएको अहंकारले नै यस्ता अशान्तरूपी अग्निको जन्म दिन्छन् । यसैले यस्तो अशान्त मानव जीवनलाई शान्त, समृद्ध र समुन्नत बनाउने उपाय हाम्रै वैदिक वाङ्मयमा छ तर यसको वैज्ञानिक प्रयोगशालामा सिद्ध नभई हाम्रा मन मस्तिष्कले स्वीकार गर्दैनन् । यसैले यस्तो आफूमै अन्तर्निहत परं ज्ञानलाई विज्ञानको प्रयोगशलामा प्रमाणित गर्ने कार्य महर्षि महेश योगीले गरेका छन् । जसलाई भावातीत ध्यानका माध्यमले प्राप्त गर्न सकिन्छ ।
गीताको कर्मयोगको मार्गलाई नै भावातीत ध्यानले पनि अवलम्बन गरेको रहेछ । जब मनमा विकार रहन्छ तबसम्म जीवन अस्थिर रहन्छ । जब मनबाट पनि परको आनन्दानुभूति हुन्छ तब मानव जीवन सार्थक हुन्छ । जसका निम्ति भावातीत ध्यान एक मार्ग हो भनी व्याख्या गरिएको छ ।
भावतीत ध्यान एवं ज्योतिष विषयक कार्यक्रममा सहभागी हुने अवसर मिलेको थियो । केही समयको बसाइ र भोगाइबाट प्राप्त ज्ञानलाई यो सन्दर्भ जोड्नु उचित लाग्यो । सुख र दुःख हामीसँगै छ । यो निरन्तर समयको प्रवाहसँगै चलिरहन्छ । सुखमा खुशी हुनु र दुःखमा दुःखित बन्नु मानवीय वृत्ति हो । यी दुवै कुरा हाम्रा कर्मका फल हुन् । यसैले हाम्रो कर्मवृत्तिलाई सत् चिदात्मक बनाउन सक्नुपर्दछ । सुख दुःखमा समभाव देख्न सक्नुपर्दछ । सबैलाई समान देख्न सक्नुपर्दछ तबमात्र हाम्रो कल्याण हुन्छ । यसका निम्ति अर्थात् समभावको जागृतिका निम्ति भावतीत ध्यान पनि एक सशक्त विधि हो भन्ने कुरा आजको विज्ञानले प्रमाणित गरेको पाइयो ।
गीताको कर्मयोगको मार्गलाई नै भावातीत ध्यानले पनि अवलम्बन गरेको रहेछ । जब मनमा विकार रहन्छ तबसम्म जीवन अस्थिर रहन्छ । जब मनबाट पनि परको आनन्दानुभूति हुन्छ तब मानव जीवन सार्थक हुन्छ । जसका निम्ति भावातीत ध्यान एक मार्ग हो भनी व्याख्या गरिएको छ । जीवन र जगत्का महत्तम उपलब्धिलाई नै दृष्टिगत गरी हाम्रा ऋषि महर्षिले दिएको दिव्य ज्ञान नै हाम्रा शान्तिका स्रोत हुन् ।
आनन्द स्वयंममा छ भन्ने कुराको वैज्ञानिक प्रमाण भावतीत ध्यानबाट प्राप्त हुने कुरा महर्षि महेश योगीले बताएका छन् । यसैगरी ज्योतिषीय विषयवस्तु पनि परमानन्द प्रप्तिका स्रोत हुन् । ज्योतिषीय ग्रह नक्षत्र पनि हाम्रै शरीरमा सूक्ष्मरूपमा निवेश गरेका हुन्छन् भन्ने कुराको वैज्ञानिक तथ्याङ्कन पनि यसअन्तर्गत गरेको पाइयो । भौतिक सकिएपछि अध्यात्मको उदय हुन्छ । अझ भनौ भौतिकभन्दा पनि माथि अध्यात्मको सत्ता रहेको कुरा आजको विज्ञानले प्रमाणित गरेको छ । विश्वका ठूला विश्वविद्यालयले यो कुराको अनुसन्धान प्रतिवेदन तयार गरेका छन् । वैदिक ज्ञान आजको विज्ञानको कसीमा प्रमाणित भएको छ । अनन्त सूक्ष्म सत्ता नै जीवनको परं लक्ष हो ।
जसको प्राप्तिका निम्ति भावातीत ध्यान एक उत्तम विधिका रूपमा महर्षि महेश योगीले व्याख्या गरेका छन् । यसैगरी ज्योतिष वेदको आँखा हो । ज्योतिश्चक्र हाम्रै मस्तिष्कमा विद्यमान छ भन्ने कुराको वैज्ञानिक तथ्य प्रमाण पनि महर्षि योगीले सावित गरेका छन् ।
हामीमा रहने ग्रहको तत्विक अवस्थिति नै उक्त ग्रहको कारक रहन्छ । ब्रहृमाण्डका यावत् वस्तु हामीमै अन्तर्निहित छन् यसैले आकाशीय परिवृत्तमा रहने ग्रह नक्षत्रको तात्विक उपस्थिति हाम्रा मन मस्तिष्कमा विद्यमान हुन्छ भन्ने वैज्ञान खोज अनुसन्धान महर्षि योगीले प्रयोगशालामा प्रमाणित गराएका छन् । मानवको सबैभन्दा महत्वपूर्ण अङ्ग शिर हो भन्ने कुरा आजको विज्ञानले पनि प्रमाणित गरेको छ ।
यसमा हरेक विषवस्तुको सूक्ष्म रूप विद्यमान छ यसैले हामीलाई अघिबढ्न उत्प्रेरित गर्दछ । आकाशका ग्रहतारासँग हाम्रो जीवन र जगत्को प्रत्यक्ष सम्बन्ध छ । सूर्य सबल रहनु अग्नितत्व तेजतत्त्व, आत्मतत्व सबल रहनु हो । यो सूर्यजन्य ऊर्जावृत्ति हाम्रो मस्तिष्कमा पनि अन्तर्निहित छ भन्ने कुराको खोज अनुसन्धान पनि यसअन्तर्गत भएको पाइन्छ । यसैगरी अन्य ग्रहको प्रभावका बारेमा पनि महर्षिले विज्ञानको प्रयोगशालाबाट सिद्ध गराएका छन् ।
योग दर्शनले बताएजस्तै आहार विहार यम नियम आदि सुखद् जीवन यापनका उत्तम उपाय हुन् । विकृत भोजनको प्रभावले नै आज मान्छे अनेकौँ रोगको शिकार भएको हो । निदनातमक चिकित्साभन्दा निरोधात्मक चिकित्सिामा अग्रसर रहेकै कारण आज हाम्रो शरीर अनेक रोगले ग्रसित भएको हो ।
नयाँ केही नभए पनि भएका कुरालाई विज्ञानको प्रयोगशालामा सिद्ध गर्ने कार्य यसअन्तर्गत गरिएको छ । आफूभित्रै रहेको चेतनालाई जागृत गराउने कार्य भावातीत ध्यानले गर्दछ । कस्तुरीले नाभीमा वासना बोकेर सोही प्राप्तिका निम्ति अन्तै धाएजस्तै हामी पनि आफूभित्रै रहेको ‘अहं ब्रहृमास्मि’को भावबाट विमुख छौँ । सुखदुःख हामीमै छन् । ईश्वरीय वृत्ति हामीमै अन्तर्निहित छ । समभावपूर्वक जीवनलाई बाँच्नसक्ने चेतनाको विकास नहुनु नै सुखदःखको चक्रमा चल्नु हो । अनन्त सुखको प्राप्ति हाम्रो परं लक्ष हुनुपर्दछ भन्ने भावातीत ध्यानको ध्येय रहेको पाइन्छ । जसका निम्ति अझ भनौ आजको यो विकृत परिवेशबाट शान्तिको श्वास फेर्नका निम्ति ध्यान आवश्यक रहेको र यसबाट अनन्त शक्ति प्राप्त हुने कुरा पनि महर्षि महेश योगीले बताएका छन् ।
योग दर्शनले बताएजस्तै आहार विहार यम नियम आदि सुखद् जीवन यापनका उत्तम उपाय हुन् । विकृत भोजनको प्रभावले नै आज मान्छे अनेकौँ रोगको शिकार भएको हो । निदनातमक चिकित्साभन्दा निरोधात्मक चिकित्सिामा अग्रसर रहेकै कारण आज हाम्रो शरीर अनेक रोगले ग्रसित भएको हो । जसबाट मुक्तिका निम्ति नित्य ध्यान र आहार विहारमा शुद्धि आज आवश्यक छ भन्ने ध्येय नै भावातीत ध्यानको रहेको पाइन्छ । प्रकृतिक विषयवस्तुको उपयोग र भावातीत ध्यान हाम्रा कल्याणका आधार हुन् । यसैले हाम्रा वेद, उपनिषद्ले दिएका दिव्य ज्ञानको मार्गमा लाग्नसक्नु नै सार्थक जीवन व्यतीत गर्नु हो । जुन प्राप्तिको सरल उपाय भावातीत ध्यान हो ।
परं आनन्दको स्रोतलाई वैज्ञानिक खोज अनुसन्धान गरी प्राप्तिका उपायसमेत व्याख्या गरिएको भावतीत ध्यान आफूमै एक प्रयोगसिद्ध र वैज्ञानिक विधि रहेको पाइन्छ । वैदिक ज्ञानलाई नै प्रयोगका माध्यमबाट प्राप्ति गर्ने उपाय यसअन्तर्गत पाइन्छ । जसमा मनलाई शान्त गराई परमानन्द प्राप्त गर्ने उपाय बताइएको छ । भावतीत ध्यानको सकारात्मक पक्ष भनेको यसले कुनै धर्म, वर्ग, सम्प्रदायलाई निषेध गर्दैन । कुनै कठिन विधि र नियमलाई पनि लागू गर्दैन । जुन सरल र सहज छ । प्रत्येक दिन बिहान २० मिनेट र बेलुका २० मिनेट फुर्सदको समयलाई सदुपयोग गर्नाले अनन्त ऊर्जा प्राप्त हुने कुरा वैज्ञानिक अनुसन्धानबाट सिद्ध भएका छन् ।
भौतिक रूपमा भिन्न देखिए पनि सूक्ष्मरूपमा हामी एउटै हौँ । ‘एकोहं बहुस्याम’को वैदिक अवधारण नै आजको विज्ञानबाट प्रमाणित भएको छ । वैदिक ज्ञान विज्ञाको अध्ययन अनुसन्धानबाट प्राप्त ज्ञान राशिलाई आज भावतीत ध्यानका रूपमा प्रयोग गर्न थालिएको छ । जीवनको उच्चतम आनन्दप्रप्तिका साथै सार्थक जीवन यापनका विषयमा महर्षि महेश योगीले प्रतिपादन गरेको भावातीत ध्यान प्रमाणित देखिन्छ । यसका साथै ज्योतिषीय परिचक्र पनि हामीमै अन्तर्निहित छ । सकृत् विकृत् रहने कारण हाम्रै आहार विहार हो । जसको निराकरण भावातीत ध्यानका माध्यमबाट गर्न सकिन्छ । यसैले हामी आफूमा रहेको आत्मिक चेतनालाई जागृत गराउने सार्थक उपाय वैदिक विधि विज्ञानसम्मत बनेको देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच