अर्थतन्त्रको समस्यामा सिएनआई र महासंघ एकै ठाउँ

Read Time = 4 mins

काठमाडौं । अर्थतन्त्रका विद्यमान समस्या समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ(सिएनआई)ले सहकार्य गर्ने भएका छन् । सिएनआईद्वारा आयोजित महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत कार्यक्रममा दुवै संस्थाले सहकार्यका लागि प्रतिबद्धता जनाएका हुन् । सिएनआई सचिवालयमा शुक्रबार आयोजित स्वागत तथा बधाई कार्यक्रममा सिएनआई अध्यक्ष विष्णुकुमार अग्रवालले महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्षहरू सुरकृष्ण वैद्य, ज्योत्सना श्रेष्ठ, हेमराज ढकालसहित कार्यसमिति सदस्यलाई स्वागत गर्नुभयो । सो अवसरमा दुवै संस्थाले विद्यमान अर्थतन्त्रका समस्या समाधानका लागि सहकार्य गर्ने ऐक्यबद्धता व्यक्त गरेका हुन् ।

सिएनआई अध्यक्ष अग्रवालले वर्तमान चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्र सुधार, निजी क्षेत्रमैत्री ऐन, नियम निर्माणका लागि सहकार्य गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुपर्ने बताउनुभयो । निजी क्षेत्रले भोगिरहेका समस्या समाधानका लागि छाता संगठनहरू मिलेर समाधानका उपायसहित सरकारसमक्ष प्रस्तुत हुनुपर्ने उहाँको भनाइ थियो । एक भएर अघि बढ्दा निजी क्षेत्रको समस्या समाधान भएको दृष्टान्त प्रस्तुत गर्दै अग्रवालले आगामी दिनमा पनि अर्थतन्त्र सुधारसहित लगानीमैत्री वातावरण निर्माणका लागि एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

महासंघ अध्यक्ष ढकालले पनि अर्थतन्त्र चलायमान बनाउन, विद्यमान अर्थतन्त्रका चुनौती सामना गर्न निजी क्षेत्र एक भएर अघि बढ्नुपर्ने बताउनुभयो । निजी क्षेत्रले संगठितरूपमा उठाएका विषय सरकारले गम्भीरतापूर्वक लिएको भन्दै समान ध्येयसाथ अघि बढे समस्या समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सिएनआईका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले अर्थतन्त्रका समस्या समाधान गर्न यथार्थपरक समाधानका उपायसहित सरकारलाई सुझाउनुपर्ने बताउनुभयो भने वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवालले थप प्रभावकारीरूपमा निजी क्षेत्रका समान समस्या समाधानका उपाय खोज्नुपर्ने बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । सो अवसरमा उपाध्यक्ष हेमराज ढकाल, सिइएनआई गभर्निङ काउन्सिल सदस्य शिवरतन सारडा, योगेश्वरलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?