लोकगाथा, राजा सलहेस र सहलेस फूल

Read Time = 17 mins

✍️ ललितकुमार यादव

फूल फुल्नु र निश्चित समयपछि ओइलिनु कुनै अनौठो कुरा होइन । यो प्रकृतिको स्वभाविक नियमभित्रै पर्छ । यसलाई तपार्इं हामी जो कोहीले पनि स्वभाविक रूपमै लिनुपर्छ र लिने गरेका पनि छौँ । तर अनौठो र आशचर्यजनक त्यतिबेला हुन्छ, जब कुनै फूल वर्षको एकचोटि मात्र त्यो पनि निश्चित दिनमात्र फुल्ने गर्छ । हरेक वर्ष विक्रम सम्वत् पात्रोको नयाँ वर्षको दिनमात्र फुल्ने फूल रहस्यमय रहेको छ । सलहेस फूलबारीमा नयाँ वर्षलाई स्वागत गर्नैका लागि फुल्ने गरे जस्तो फूल फुल्ने गरेको छ ।

त्यो फूल आफैंमा निकै प्राचीन छ । त्यसमा बेरिने फूलको कथा उस्तै पूरानो हो । उक्त फूल हेर्न नयाँ वर्षको दिन भारतबाट समेत असंख्य श्रद्धालु र भक्तजनहरू आउने र मेला भर्ने गर्दछन् । नेपालको सिरहा, सप्तरी, सुनसरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी र सर्लाहीबाट सर्वसाधारण ती फूल हेर्न आउने र मेला भर्ने गर्दछन् । प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गतेका दिनमात्र फुल्ने फूलको दर्शन गर्न सलहेश फूलबारीमा हरेक वर्ष ठूलो मेला लाग्ने गर्छ । फूलबारीमा रहेको हारमको बोटमा वैशाख १ गतेका दिनमात्र रहस्यमय अनौठो फूल फुल्ने र सोही दिनको साँझपख सो फूल ओइलाएर जान्छ । स्थानीयका अनुसार हारमको त्यो रूखमा झुण्डिएर फुल्ने फूल भने लोकदेवता सलहेसको प्रेम प्रतीक हो ।

सिरहा जिल्लामा पूर्वकर्णाटकालीन अवशेष रहेका छन् । अत्याधिक सम्मान पाएका राजा सलहेस देवताभन्दा पनि लोकनायक थिए । सलहेस गाथामा वर्णन गरिएअनुसार राजा सलहेसले एकैदिनमा मानिकदहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने तथा कुलदेवीको पूजा गरी कञ्चनगढमा पीरमार्का सुन्ने गर्दथे ।

सलहेस फूलबारी सिरहा जिल्लाको लहान नगरपालिकाको पडरियामा रहेको धर्मिक तथा ऐतिहासिकस्थल हो । कतिपयले जसलाई फूलबारी मेला भनेर पनि चिन्ने गर्छन् । नेपालको पूर्वपश्चिम राजमार्गमा लहानबार करिब चार किलोमिटर पश्चिममा रहेको सिरहाको पडरिय चोकदेखि दक्षिणमा ऐतिहासिक तथा प्राचीन राज सलहेसको मन्दिर र मन्दिरछेउमा फूलबारी रहेको छ । करिब नौ बिघामा फैलिएको सो फूलबारी दुसाध र दनुवार जातिका इष्ट देवता सलहेसको फूलबारीको नामले प्रसिद्ध रहेको छ । फूलबारीको मध्यभागमा रहेको हारम नामको रुखको हाँगामा प्रत्येक वर्ष नयाँ वर्षको दिन एकाबिहानै कसैले रातमा नै लगेर झुण्ड्याइदिएजस्तो एकदिनका लागि माला आकारको सेतो सुनाखरी फूल्ने गर्छ ।

अचम्म के छ भने साँझपख फूल ओइलाएर जान्छ । सो फूल सातौं- आठौं शताब्दीदेखि फुल्दै आएको विशवास गरिएको छ । वनस्पतिविदहरूले अर्किडको फूल भन्ने गरेको उक्त फूल फुल्ने रूखलाई भने स्थानीयले हारमको रूख भन्ने गरेका छन् । फूल जति आकर्षक र लोभलाग्दो हुन्छ, त्यसको रहस्य पनि त्यति नै रोचक र अनौठो छ । फूलबारी वरिपरिका बासिन्दाका अनुसार अन्य कुनै दिन सो फूल देखिँदैन् । प्रकृतिको यस अनौठोरूपलाई दैवीशक्तिको रूपमा लिने गरेका छन्, विश्वास गर्नेहरूले । उक्त फूल बारे अनुसन्धान गर्न जरुरी छ । यद्यपि सलहेस गाथामाथि विश्वासगर्ने सलहेसका प्रेमिका मालिनी सलहेसको दर्शन गर्न फूलका रूपमा उक्त दिन प्रकट हुने गरेको विश्वास व्यक्त गर्छन् । वैशाख १ सलहेस र मालिनीका लागि प्रणय दिवस रहेको विश्वास गर्न सकिन्छ ।

हारमको रूख नजिकै राजा सलहेस र मालिनीको मन्दिर अर्थात् मैथली भाषामा भनिने गहबर छ । त्यहाँ गरेको भाकल पूरा हुने जनविश्वास रहिआएको छ । युवायुवतीले उक्त फूललाई साक्षी मानेर प्रेमसूत्रमा बाँधिने गर्छन् । निःसन्तान महिलाले सलहेस फूलबारीमा दर्शन गरेर सन्तान माग गर्दा सन्तान पाएपछि ती सन्तानको मुण्डन गराउन पनि यहाँ आउने गरेका छन् । गहबरमा राजा सलहेस र मालिनीको भव्य मूर्ति रहेको छ । मन्दिर पछाडि इनार र बालीगंगा नदी बग्ने गरेको र इनार कहिलेकाँही अपर्झटरूपमा मात्र देखिने गरेको पुजारीको भनाइ रहेको छ ।

सिरहा जिल्लामा पूर्व कर्णाटकालीन अवशेष रहेका छन् । अत्याधिक सम्मान पाएका राजा सलहेस देवताभन्दा पनि लोकनायक थिए । सलहेस गाथामा वर्णन गरिएअनुसार राजा सलहेसले एकैदिनमा मानिकदहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने तथा कुलदेवीको पूजा गरी कञ्चनगढमा पीरमार्का सुन्ने गर्दथे । सलहेस गाथासँग जोडिएका ऐतिहासिक ठाउँहरू सिरहा जिल्लाको जनजीवनसँग गहिरो सम्बन्ध राख्दछ । पुरातात्विक महत्व बोकेका अवशेषको उत्खनन् गरी यसको विकास गर्न सके आन्तरिक र बाहृय पर्यटक भित्र्याउन टेवा पुग्ने विश्वास स्थनीय जनताको रहेको छ ।

राजा सलहेस को हुन् ?
मिथिलाको हावापानी, खेतखलियान, गाउँघर, पशुपक्षी, वनजंगल तथा मिथिला क्षेत्रको लोकनाच सर्वत्र लोकप्रिय पात्र हुन्, राजा सलहेस । राजर्षि राजा जनकपछि मिथिलामा उनलाई प्रादुर्भाव भएको व्यक्तित्व मानिन्छ । मिथिलामा आफ्नो पराक्रम र चामत्कारिक नेतृत्वले गर्दा आजसम्म उनको चर्चा छ । उनको जन्मस्थान महिसोथा हो र वास्तविक नाम भने जयवर्धन सैलेश रहेको थियो । छैटौं-सातौं शाताब्दीतिर त्यसबेला मिथिला भूमिको गढ महिसोथा भन्ने ठाउँ थियो । त्यो ठाउँ अहिले सिरहा नगरपालिकामा पर्दछ । त्यसबेला त्यहाँका भूपाल सोनम र मन्दोदरीबाट एउटा इन्द्रस्वरूप वीरबालक जयवर्धन (सलहेस)को जन्म भयो । सलहेस सानैदेखि सौर्यवान, प्रखर बुद्धिका र शौर्यशाली थिए ।

मूलतः लोकगाथाका नायकका रूपमा रहेकाले यिनीबारे पर्याप्त अध्ययन हुन सकरको छैन । हालको समयमा सलहेसलाई एक खास जातिमा सीमित पारिएको, उक्त जाति दलितमा दरिएको र दलितहरूको समुचित पहुँच शिक्षा तथा अध्ययन अनुसन्धानका क्षेत्रमा हुन नसकेकोले पनि यिनीबारे खासै ऐतिहासिक अध्ययन हुन नसकेको हुन सक्छ । यद्यपि मैथिली लोकगाथाबारे पर्याप्त कार्य गरेका डा.ब्रजकिशोर बर्मा, मतिनाथ झा, डा.पूर्णानन्द दास, राजेश्वर झा आदि इतिहासकारले केही अध्ययन गरेका छन् ।

यिनी कुनै दन्त्य कथाका पात्र होइनन्, न त पुराणका यशस्वी राजर्षि नै हुन् । उनी त्यतिबेला राजा भए तापनि लोककल्याणमा सक्रिय थिए जसकारण उनी जनताका प्रियपात्र बने । त्यसैले आज आममानिस नै यिनको अमरत्वको रक्षक बनेका छन् । उनको व्यक्तित्वमा अचम्मको आकर्षण पाइन्छ । प्रेम, प्रकृति, शौर्य, न्याय र नेतृत्व सबै गुणमा उनी सबल मानिन्थे । सलहेसमात्र नभएर उनका सहयोगी पात्रहरू पनि देवताझैँ पुजिन्छ । पूर्वी नेपाल र उत्तरी बिहार अर्थात् मिथिला क्षेत्र उनको कर्मथलो रहृयो । मिथिलामा अन्याय, अत्याचार र अराजकता बढेको समयमा सलहेसको प्रादुर्भाव भएको थियो । उनी मिथिला क्षेत्रमा अन्याय र अत्याचारविरुद्ध लडेका एक विद्रोही पात्र पनि हुन् । अहिले पनि तराईका दुसाध र दनुवार समुदायले उनलाई देवताकै रूपमा पूजा गर्ने गर्छन् ।

सलहेसको समय कृषिको प्रारम्भिक युग थियो । त्यसबेला उत्तरमा किरात प्रदेश, तिब्बत र भुटानतिरबाट आर्यवर्तमा अन्नबाली र पशु लुटेर लान बारम्बार आक्रमण हुने गथ्र्यो । बारम्बार हुने भोट र किरातको आक्रमणलाई रोक्न सलहेसका बुबा भूपाल सोनम तरेगना गढ (हालको लहान बजारभन्दा चार किलोमिटर उत्तरतर्फ)का राजा हिन्दुपति भण्डारीलाई सघाउन गए । भोट र किरातसँग भएको युद्धमा भूपाल सोनमले सहादत प्राप्त गरेपछि जेठो छोराको हैसियतले सलहेस महिसोथा गढको गढपति भए । सलहेस गढपति भएपछि कोशीदेखि पश्चिम गण्डकसम्म उत्तर हिमालका पदम प्रदेश र दक्षिण गंगासागरसम्म आफ्नो शैन्य संगठनलाई सुसंगठित पारेका थिए । सलहेसको समयमा मिथिला र किरातबीच राम्रो सम्बन्ध रहेको सलहेसका सेनापति केवल किरात नामका व्यक्ति हुनुले प्रमाणित गर्छ । सोही कालखण्डको अर्का गाथा नायक दिना-भद्रीको अनन्य सहयोगीका रूपमा जोगमल किरात रहेको प्रसंगले पनि यस तथ्यलाई बल प्रदान गर्छ । चीनका शानवंशी सम्राटका पालामा मिथिलामा हुन लागेको आक्रमणलाई विफल तुल्याउन सलहेस किरातहरूसँग मिलेर लडेको र आक्रमणलाई विफल तुल्याए भन्ने उल्लेख इतिसासकारले गरेका छन् ।

राजा सलहेस अहिले पनि मिथिलामा पूजनीय र लोकप्रिय पात्र हुन् । अहिले पनि गाउँ–गाउँमा गीत र महराइका माध्यमले राजा सलहेसको गाथा गाउने चलन छ । मिथिला क्षेत्रको लोकनाचमा पनि राजा सलहेस त्यति नै चर्चित र लोकप्रिय हुन् ।

सलहेस फूलबारीले विभिन्न किसिमको अतिक्रमण सहँदै आएको छ । यद्यपि अहिलेसम्म एउटा सानो जंगलको रूपम अस्तित्वमै छ । यस फूलबारीकै सेरोफेरोमा सलहेससँग सम्बन्धित अन्य ऐतिहासिक स्थान पनि छन् । उत्तरतर्फ मनिक दह छ भने पूर्वोत्तरमा पकडियागढ छ । यी ठाउँहरूलगायत धमनी माई र पतारीमा पनि वैशाख १ र २ गते मेला लाग्ने गर्छ । सिरहा जिल्लाभित्र सलहेसको गाथासँग जोडिएका अन्य धर्मिकस्थलको समेत खोजी गरी सरकारले संरक्षण गर्नुपर्छ । यसको प्रचारप्रसार, संरक्षण र सम्बद्र्धन गरी सिरहाको पर्टकीय स्थलको रूपमा विकास गर्नुपर्छ । यसले ग्रामीण अर्थतन्त्रमा टेवा पुग्नेछ । धर्मिक रूपमा नेपाललाई देश विदेशमा समेत चिनाउनेछ ।

सामाजका हरेक वर्ग, जाति, समुदायले सम्मान, श्रद्धा र निष्ठा साथ सलहेसको नाम लिने र पूजा गर्ने गर्छन् । हाम्रो देशमा सबैले पुज्ने यस्तो अर्को कुनै दलित ऐतिहासिक व्यक्ति सायदै होलान् । सरकारले दलित वर्गलाई सम्मान दिन र समताको अनुभूति गराउनकै लागि भए पनि सलहेसबारे आधिकारिक अध्ययन÷अनुसन्धान गराई सलहेस सर्किटको विकास गर्नुपर्छ । सलहेस मिथिलाका गौरवमय इतिहासका ऐतिहासिक पुरुष हुन् । सलहेसको बारेमा अध्ययन/अनुसन्धान गर्ने जिम्मेवारी मधेस सरकारको पनि हो । सलेसमा रहेका गुणहरू र उनको साहसको बारेमा देश विदेशमा प्रचार गर्न सक्नुपर्छ ।
मिथिलाका जनताले सलहेसलाई जुन सम्मान दिने गरेका छन्, त्यसलाई सम्झेर मधेस सरकारले उनीसँग सम्बन्धित ऐतिहासिक स्थलहरूको संरक्षण र सम्बद्र्धन गरेर मधेसलाई धार्मिक पर्यटनको रूपमा विकास गर्नु पर्ने देखिन्छ । यसबाट मधेसले आर्थिक लाभ लिन सक्नुपर्छ । मधेसमा दलित वर्गका व्यक्तिले पनि ऐतिहासिक आधारमा कुन हदसम्मको सम्मान पाएइरहेको छ भन्ने सन्देश विश्वलाई दिन सकिन्छ । साथै सामाजलाई भेदभाव गर्न नहुने र समुदायबीच समन्वय बढाउन सकिन्छ ।

राजा सलहेस अहिले पनि मिथिलामा पूजनीय र लोकप्रिय पात्र हुन् । अहिले पनि गाउँगाउँमा गीत र महराइका माध्यमले राजा सलहेसको गाथा गाउने चलन छ । मिथिला क्षेत्रको लोकनाचमा पनि राजा सलहेस त्यति नै चर्चित र लोकप्रिय हुन् । लोकनाचमा राजा सलहेसको नाच मन पराउने हरूको कमी थिएन । अहिले मैथली लोकनाच नै लोप हुने खतरामा परेको छ । यसका कालाकारहरू पलायन भइसकेका र पलायन हुने क्रममा छन् । राजा सलहेस अहिलेको युवावर्ग त्यति परिचित नभए पनि बुढापाकाहरूमा उनलाई नचिन्ने र उनलाई श्रद्धा नगर्ने कोही छैनन् । मिथिलाको यस्तो विभूतिलाई हालका आधुनिक शिक्षित सामाजमा पनि चिनाई राख्न फिल्म, कथा, कविता र टेलिफिल्मको साहारा लिनुपर्ने देखिन्छ । यसमा सम्बन्धित पक्षले पहलकदमी लिनुपर्ने देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?