पुनको आन्दोलन र समर्थन

हिमालय टाइम्स
Read Time = 8 mins

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सञ्चालक महावीर पुनद्वारा केही दिनदेखि आरम्भ आन्दोलनले अनेक प्रश्नहरू खडा गरेको छ । राष्ट्रको एक महान् प्रतिभा कर्मयोगी पुनजस्तो मानिसले पनि सकारात्मक परिवर्तनका लागि अनशनमा नै बस्नुपर्ने, आन्दोलन नै गर्नुपर्ने अवस्था किन र कसरी भइरहेको छ ? सरकारसँग उहाँका मागहरू कुनै पनि हालतमा नाजायज, अतिरञ्जित वा राजनीति प्रेरित थिएनन्, हुने कुरा पनि होइन । उहाँको आन्दोलनमा जनताको समर्थन व्यापक देखिएको छ । एक कर्मयोगीको आग्रह, अडानका लागि कोही पनि निरपेक्ष हुने अवस्था भएन । कतिपय राजनीतिक दलहरूले औपचारिकताबस वा स्वाभाविक रूपले भए पनि समर्थन र ऐक्यबद्धता जनाएको देखियो । पुनको यस आन्दोलनमा ऐक्यबद्धता जनाउनु स्वाभाविक यस अर्थमा पनि मानिन्छ कि पुनले अन्य स्वार्थ र राजनीतिप्रेरित आन्दोलन गर्नुभएको होइन, यो सबैलाई थाहा छ । त्यही कारणले उहाँले सहानुभूति पाउनु भएको हो । विदेशमा पढेर फर्किनुभएका पुनले आफूस्वदेश फर्किएदेखि नै राष्ट्रिय अनुसन्धान केन्द्र स्थापना गरेर विभिन्न अनुसन्धान तथा आविष्कारका कामहरू गर्दै आउनुभएको छ ।

उहाँले धेरै विद्यालयहरूमा शैक्षिक सामग्रीलगायत विभिन्न सहयोगका कामसमेत गरेका समाचार आइरहेकै छन् । साधारण लुवाइखुवाइमा साधा जीवन र उच्च विचारको भावना राखेर आफ्नो जे-जस्तो प्रयास हुन्छ, त्यो राष्ट्रकै योगदानका लागि होओस् भन्ने भावनाका साथ सिर्जनात्मक र वैज्ञानिक आविष्कारका कार्यमा समर्पित पुनले यस क्षेत्रमा सरकारी सहयोग बढाउनुपर्छ भन्ने माग राख्नुभएको हो । यसका लागि बजेट निर्माणको समय र कार्यलाई दबाब पुर्‍याउनकै लागि यो आन्दोलनको उद्घोष गर्नुभएको भन्ने पष्ट छ । आविष्कार केन्द्रको स्थापनादेखि हालसम्म यस्ता कुनै विरोधजन्य, मागका लागि दबाबजन्य आन्दोलनको कार्यक्रम अगाडि नसार्नुभएका पुन एकाएक यस्तो आन्दोलन लिएर अगाडि आउनुबाट मागको सान्दर्भिकता प्रमाणित हुन्छ ।

सरकार सामु कुनै पनि माग राखेर अगाडि आउनुभनेको सरकारको विरोध गर्नु भनेर बुझ्ने हाम्रो परम्परा छ । तर, सरकारलाई नै सहयोग पु¥याउने गरी माग वा आन्दोलनहरू आउन सक्छन् । पुनको आन्दोलन पनि सरकारको विरोधमा नभएर विज्ञान तथा प्रविधिको विकासका लागि हो भन्ने बुझ्नु अन्यथा हुँदैन । विज्ञान तथा प्रगतिको समग्र विकासका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान रहेको छ । तर सरकारी क्षेत्रबाट गरिने सबै काम जस्ता हुनेगरेका छन्, यस प्रतिष्ठानको अवस्था पनि त्यस्तै नै हो । पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले भने केही गर्न चाहेको तर बजेटको अभावमा आफूले गर्न चाहेको काम गर्न नसकिरहेको अवस्थामा उहाँले सरकारसमक्ष केही माग राखी आन्दोलन गर्नुभएको हो ।

महावीर पुनप्रति आमजनमानसमा सकारात्मक दृष्टिकोण रहेको छ । नेपाली जनताले अत्यन्त सम्मानजनक रूपमा लिने नाम मध्ये यतिखेर सन्दूक रुइत र महावीर पुन नै हुनुहुन्छ । अरू कवि कलाकर्मीहरूको प्र्रसंग फरक हो । उहाँको नाम लिने गर्नुभएको छ र सिंगो नेपालले दृष्टान्तका रूपमा अगाडि सार्ने नामले समेत सरकारको ध्यानकर्षणका लागि सडकमा उभिनुपर्ने अवस्था आउनु राज्य र सरकारका लागि शिर निहुराउनुपर्ने विषय हो । केही व्यक्तिहरू आफ्ना कामले नै स्थापित भएका छन् र राजनीतिबाट अलग बस्न रुचाउँछन् । पुनको माग र आन्दोलनका सन्दर्भमा अनावश्यक, तर्कहीन पूूर्वाग्रह राखेर राजनीतिक आँखाले हेर्नु अन्याय हुनेछ ।

पुनले मूल दुइटा महत्वपूर्ण माग राख्नु भएको छ । पहिलो आविष्कार केन्द्रको कार्यलाई आर्थिक रूपले सहयोग गर्न बजेटमा उचित व्यवस्था हुनुपर्ने र आविष्कार केन्द्रका कामलाई विधिअन्तर्गत संरक्षित गर्नुपर्ने मूल माग रहेका छन् । यी मागहरूका लागि पुनजस्तो व्यक्तित्वले सडकमा आउनुपर्ने परिस्थिति सिर्जना हुनु देशकै दुर्भाग्य मान्नु पर्दछ । नेपाल सरकारले राजनीतिका विषयमा जसरी आफ्नो आर्थिक र नीतिगत दृष्टि दिने गरेको छ समाजका अन्य अंगकाप्रति कहिल्यै पनि गम्भीर भएको छैन । हिजो जस्तो थियो अहिले पनि उस्तै छ । नेपालको विकासको पूर्वाधार के हो, कसरी देशलाई विकसित तुल्याउने आमनागरिकको भौतिक आवस्यकता र ज्ञानको भोकलाई पूरा गर्नेजस्तो चिन्तन पटक्कै छैन ।

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामात्रै महान् उपलब्धि होइन । यो राजनीतिक उपलब्धिलाई निरन्तरता प्रदान गर्न अरू सामाजिक आर्थिक पक्षसमेत सबल हुनु आवश्यक छ । आमनागरिकले परिवर्तनको अनुभूति नेताहरूको अनुहारमा, उनीहरूको आर्थिक प्रगतिमा, नेताहरूका आफन्तजनको समृद्धि र सुविधामा देख्न लाग्यो भने आजको परिवर्तनको कुनै अर्थवत्ता रहँदैन । राज्यका सबै अंगको स्वभावमा परिवर्तन आउनुपर्छ, सबै अंगको नेतृत्व गर्ने र त्यसको संयन्त्रमा बस्नेहरूमा परिवर्तन आउनुपर्छ । राज्यले कुन ठाउँमा, कुन समयमा विवेक पु¥याउनुपर्ने हो त्यो छुट्याउने सामथ्र्य राख्नुपर्छ । अहिलेको परिवर्तनसँग नेपाली जनताको र देशको विकासमा दत्तचित्त लाग्ने महावीर पुनजस्ता सबैको चाहना यतिमात्रै हो । विवेकहीन राजनीतिको अन्त्य र विवेकसम्मत प्रक्रियाले परिपूर्ण प्रणालीको विकास । हामी पूर्णरूपमा महावीर पुनका मागहरूप्रति ऐक्यबद्धता जनाउँछौं र सरकारले उचित मागलाई संबोधन गरी राष्ट्रिय प्रतिभाहरूको सम्मान गरोस् भन्ने आग्रह गर्दछौं ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?