श्रमिकहरुको स्वास्थ्य र बालबालिकाको शिक्षाको जिम्मा सरकारले लिनुपर्छ : अध्यक्ष लिङदेन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राज्यले श्रमिकहरुलाई शिक्षा र स्वास्थ्यको सेवा निःशुल्क दिनुपर्ने बताउनुभएको छ ।

सोमवार १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पार्टी संवद्ध ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले श्रमिकहरुलाई निःशुल्क रुपमा शिक्षा र स्वास्थ्यको सेवा दिनुपर्ने बताउनुभएको हो ।

उहाँले श्रमिकको जीवन मर्यादित र सुरक्षित हुन नसकेको भन्दै श्रमिकहरुको मर्यादा, सुरक्षा र जिविकाको सुरक्षातर्फ राज्यले ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले सबै श्रमिकहरुलाई सरकारले स्वास्थ्य बीमाको दायरामा ल्याउनुपर्ने पनि बताउनु भयो । अध्यक्ष लिङदेनले श्रमिकहरुलाई सूचिकृत गर्ने र परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘आजको हाम्रो श्रम क्षेत्र के मर्यादित छ ? के सुरक्षित छ ? के आजको जीवन धान्नसक्ने अवस्था छ ? यसतर्फपनि यस्तो बेला समिक्षा हुनुपर्दछ । मलाई लाग्छ, अहिलेपनि श्रमिकहरुको जीवन पूर्ण रुपले मर्यादित हुन सकेको छैन । सुरक्षित त छैन नै । राज्यको निर्माणमा सबभन्दा ठूलो योगदान पु¥याउने श्रमिक क्षेत्र राज्यको क्षेत्रबाट सबभन्दा धेरै उपेक्षित छ । सबैको अस्पताल छन् । तर श्रमिकहरुको अस्पताल छैनन् । म यतिबेला ट्रेड युनियनहरुलाई भन्न चाहन्छु, अबको ट्रेड युनियन आन्दोलन भनेको श्रमिकहरुको मर्यादा, सुरक्षा र जीविकाको सुरक्षातर्फ हुनुपर्दछ भन्ने मलाई लाग्दछ । राप्रपा मजदुरहरको बारेमा सुस्पष्ट छ । हामीले स्पष्टसँग भनेका छौँ कि पूर्ण रुपले सामाजिक सुरक्षासँग श्रमिकहरु जोडिनुपर्दछ । श्रमिकहरुको स्वास्थ्य र उनका बालबालिकाको शिक्षाको सुनिश्चितताको व्यवस्था सरकारले गरिदिनुपर्छ । अहिले नै पनि सबै श्रमिकहरुलाई सरकारले स्वास्थ्य बीमाको दायरामा ल्याउने र आधारभुत तहको स्वास्थ्य सेवामा मात्रै पनि सुनिश्चितता प्रदान गर्न सकिन्छ । श्रमिकका बालबालिकाका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्न सकिन्छ ।’

उहाँले थप्नुभयो, ‘यो देशभित्र काम गर्ने श्रमिकहरु हरेकलाई परिचयपत्रको व्यवस्था गर्नुप¥यो । उनीहरु सूचिकृत हुनुप¥यो । सबभन्दा पहिले यो देशको श्रमिकलाई कामको अवसर दिनुप¥यो । आज हाम्रो धेरै कामहरुमा श्रम इजाजत बिना बाहिरबाट आएका मानिसहरुले ओगटिरहेको अवस्था छ । यसतर्फ सरकारको ध्यान पुग्न सकेको छैन । हाम्रो मजदुरहरु बिस्थापित हुने अवस्था छ । यसतर्फ पनि ट्रेड युनियनहरुको ध्यान पुग्नुपर्दछ ।’

अध्यक्ष लिङदेनले देश बाहिरबाट श्रम इजाजत बिना नेपाल आएर व्यक्तिहरुले काम गरिरहेका भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले देशका श्रमिकहरुलाई प्राथमिकताका साथ देशभित्रै कामको अवसर दिनुपर्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?