मूल्यवृद्धि ८.०८ प्रतिशत पुग्यो

Read Time = 7 mins

काठमाडौं । अर्थतन्त्रका अन्य आर्थिक सूचकांकमा सुधार आए पनि मूल्यवृद्धि भने बढेर ८.०८ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/०८० को चार महिना अर्थात् कात्तिकसम्मको तथ्यांकअनुसार मूल्यवृद्धि ८.०८ प्रतिशत पुगेको हो । अघिल्लो वर्षको कात्तिकमा मूल्यवृद्धि ६.०४ प्रतिशत थियो ।

खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि ७.३८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ८.६३ प्रतिशत रहेको छ । खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत रेष्टुरेण्ट तथा होटल उपसमूहको मूल्य सूचकांक १५.९७ प्रतिशत, सुर्तीजन्य ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डा ९.३३ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थ ९.१९ प्रतिशत र मदिराजन्य पेयपदार्थ ८.८४ प्रतिशतले बढेको छ । काठमाडौं उपत्यकामा ७.५६ प्रतिशत, तराईमा ८.५२ प्रतिशत, पहाडमा ८.०३ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत मूल्य वृद्धिदर रहेको छ । २०७८ कात्तिकमा उल्लेखित क्षेत्रमा क्रमशः ६.१४ प्रतिशत, ५.४२ प्रतिशत, ७.१४ प्रतिशत र ५.०० प्रतिशतमात्रै मूल्य वृद्धिदर रहेको थियो ।

चालु आवको कात्तिकमा शोधनान्तर स्थिति २० अर्ब तीन करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर एक खर्ब ५० अर्ब ३८ करोडले घाटामा थियो ।

शोधनान्तर २० अर्बले बचतमा
चालु आर्थिक वर्ष २०७९/०८० को कात्तिक महिनासम्म शोधनान्तर स्थिति २० अर्ब तीन करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर एक खर्ब ५० अर्ब ३८ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब २७ करोडले घाटामा रहेको शोधनान्तर समीक्षा अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०७९ कात्तिकमा १२ खर्ब ४६ अर्ब २७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असारमा नौ अर्ब ५४ करोड रहेकोमा २०७९ कात्तिकमा १.० प्रतिशतले वृद्धि भई नौ अर्ब ६३ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असारमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ कात्तिकमा ३.३ प्रतिशतले वृद्धि भई १० खर्ब ९१ अर्ब २२ करोड पुगेको छ । चालु आवको चार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.७ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने बताइएको छ ।

समीक्षा अवधिमा चालु खाता ३५ अर्ब ४० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता दुई खर्ब २० अर्ब ९१ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ८६ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २८ करोडले घाटामा रहेको छ ।

रेमिट्यान्स बढ्यो
रेमिट्यान्स आप्रवाह २०.४ प्रतिशतले वृद्धि भई तीन खर्ब ७८ अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ७.० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १०.८ प्रतिशतले वृद्धि भई दुई अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष ७.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १०२.५ प्रतिशतले वृद्धि भई एक लाख ९५ हजार एक सय ९६ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या ४६.४ प्रतिशतले वृद्धि भई ८७ हजार चार सय २८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४९.१ प्रतिशतले बढेको थियो ।

निर्यात ३३.३ प्रतिशतले घट्यो
चालु आवको चार महिनामा कुल वस्तु निर्यातमा ३३.३ प्रतिशतले कमी आई ५४ अर्ब ७७ करोडमा सीमित हुन पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात १०४.३ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फको निर्यात क्रमशः ४२.३ प्रतिशत र ३४.२ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ७.४ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, ऊनी गलंैचा, चिया, तयारी पोशाकलगायतको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, जुटका सामान, लत्ताकपडाको घटेको छ । चार महिनामा कुल वस्तु आयात १८.१ प्रतिशतले कमी आई पाँच खर्ब ३२ अर्ब ६९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६१.६ प्रतिशतले बढेको थियो ।

वस्तुगत आधारमा पेट्रोलियम, रासायनिक मल, स्पंज आइरन, सुन, हवाईजहाजका स्पेयर पार्टपूर्जालगायतका वस्तुको आयात बढेको छ भने सवारीसाधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्स, एमएस बिलेट, कच्चा सोयाबिन तेललगायतको आयात घटेको छ । चार महिनामा कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले कमी आई चार खर्ब ७७ अर्ब ९२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५६.८ प्रतिशतले बढेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?