लागुऔषधसहित ११ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौ‌‌ । देशका विभिन्‍न स्थानबाट ११ जना लागुऔषधसहित पक्राउ परेका छन् । मकवानपुरको कैलाश गाउँपालिका-४ कटुन्जेबाट अवैध लागुऔषध गाँजा ५ सय ११ किलो ९ सय ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३८ वर्षीय उत्तम रिजाल र ४२ वर्षीय राधाकृष्ण रिजाल रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उत्तम रिजालको घरबाट ६ वटा बोरामा रहेको १ सय ८४ किलो १ सय ग्राम गाँजा, नगद ५५ हजार ३ सय ६५ रूपैयाँ तथा राधाकृष्ण रिजालको घरबाट १२ वटा बोरामा रहेको ३ सय २७ किलो ८ सय ग्राम गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७१ मिलिग्रामसहित सुनसरी ईटहरी उपमहानगरपालिका-३ बस्ने २२ वर्षीय निमेश राईलाई  प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका-३० पावरहाउसबाट अवैध लागुऔषध गाँजा करिब २ केजी ५ सय ग्रामसहित सोही महानगरपालिका-१८ शितल बस्ती बस्ने २५ वर्षीय बसन्त सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु.१ ख ८७१८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

बर्दियाको गुलरिया नगरपालिका-११ स्थित हुलाकी सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ५० मिलिग्रामसहित दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका-३ भग्रैया बस्ने ३० वर्षीय रोजन पुरी र सोही नगरपालिका-२ ओराली बस्ने २१ वर्षीय अबिनाश नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गणेशपुरबाट गुलरियातर्फ जाँदै गरेको ना.२८ प ९२८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागुऔषध ब्राउनसुगर ८ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका-५ बस्ने ३० वर्षीय तरूण जोशी समेत २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई उक्त ब्राउनसुगसहित फेला पारी पक्राउ गरेको  हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-६ बैशाखापुलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पर्दाथ ४९ मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका-२ तेघरी बस्ने २७ वर्षीय अजय सोप, कञ्चनपुर लालझाडी गाउँपालिका-४ जाई बस्ने २३ वर्षीय प्रकाश नाथ र सोही ठाउँ बस्ने २३ वर्षीय दिपेन्द्र साउँद रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउदै गरेको म.२ प ४३६४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?