मन्त्रिपरिषद् निर्णयः क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने, वैशाख २४ गते संसद्को बजेट अधिवेशन बोलाउने

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । सरकारले एसिसी क्रिकेट विजेता खेलाडीहरूलाई जनही ६ लाख दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही तीन लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभएको हो । खेलकुद पुरस्कार कार्यविधिअनुसार एसिसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही पाँच लाख रुपैयाँ पुरस्कार पाउने थिए । मन्त्रिपरिषद्ले कार्यविधिमा भएको भन्दा एक लाख बढाएर पुरस्कार घोषणा गरेको हो । साथै मन्त्रिपरिषद् बैठकले त्रिवि क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिँदै मन्त्री शर्माले भन्नुभयो, ‘क्रिकेटले धेरै विकास गरिरहेको छ । यसलाई मध्यनजर गरेर एसिसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख र अन्य टिम अफिसियललाई जनही तीन लाखका दरले रकम उपलब्ध गराएर प्रोत्साहन गर्ने भन्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन आगामी आर्थिक वर्षको बजेट विनियोजनमा विशेष प्राथमिकतामा राख्ने भन्ने निर्णय पनि बैठकले गरेको छ ।’
यस्तै, सरकारले वैशाख २४ गते संसद्को बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रवक्ता शर्माले वैशाख २४ गते संसद्को अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको बताउनुभयो ।

त्यस्तै, मन्त्रिपरिषद्को बुधबारको बैठकले कोशीटप्पु वन्यजन्तु आरक्षण स्थापना गर्दा विस्थापितहरूको सम्बन्धमा थप छानविन गरी समस्या समाधान गर्न आयोग पुनः गठन गरी तीन महिना म्याद थप गर्ने पनि निर्णय गरेको छ । त्यस्तै, प्रवक्ता शर्माले विज्ञापन ऐन अन्तर्गतको नियमावली बनाउनको निम्ति प्रक्रिया मिलाएर यसलाई अगाडि बढाउने निर्णय भएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘विज्ञापन ऐनमा भएको व्यवस्थाअनुरूप एकद्वार प्रणाली र समानुपातिक विज्ञापनको जुन विषय छ । कतिपय कुराहरू कार्यान्वयन भइरहेका तर त्यो हाम्रो नियमावलीमा व्यवस्था नभएका विषय पनि भएको हुनाले हाम्रो विज्ञापन ऐन अन्तर्गतको नियमावली बनाउनको निम्ति प्रक्रिया मिलाएर यसलाई अगाडि बढाउने भन्ने निर्णय पनि भएको छ ।

हतियार खरिद प्रकरणलाई प्रधानमन्त्रीको भारत भ्रमणसँग नजोड्न आग्रह
बैठकका निर्णय सुनाउँदै प्रवक्ता शर्माले चीनसँग हतियार खरिद प्रकरणलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणसँग नजोड्न आग्रह गर्नुभयो । उहाँले खरिद गर्ने भनिएको हतियारको विषयमा रक्षा मन्त्रालयबाट कुनै प्रस्ताव नआएको स्पष्ट पार्नुभयो ।
यसअघि सञ्चार माध्यममा सरकारले चीनसँग ६ अर्बको हतियार खरिद गर्ने तयारी गरिरहेको समाचार सार्वजनिक भएको थियो । तर, उहाँले यसबारे प्रस्ताव नै नआएकाले कुनै निर्णय नभएको सञ्चारकर्मीलाई बताउनुभयो । यसले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा कुनै असर नगर्ने प्रवक्ता शर्माले स्पष्ट पार्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?