लगानीमैत्री वातावरण बनाउन उपराष्ट्रपतिको आग्रह

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लगानीमैत्री वातावरण बनाउन तथा उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकारले अभिभावकीय भूमिका निभाउनुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालको २८औँ साधारणसभाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उपराष्ट्रपति यादवले नेपालमा ग्रिल व्यवसायीले कोरोना महामारी, डेंगु, महाभूकम्पलगायतका प्रतिकूल अवस्थामा पनि सेवा प्रदान गरेको भन्दै ग्रिल व्यवसायीले आयात प्रतिस्थापन तथा रोजगारीको अवसर सिर्जनासमेत महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले ग्रिल व्यवसायीका समस्या सम्बोधन गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल घरेलु उद्योग तथा साना उद्योग महासंघ र नेपाल चेम्बर अफ कमर्सको समेत ध्यानाकर्षण गराउनुभयो । ग्रिल व्यवसायीले भोग्दै आएको दक्ष जनशक्ति अभाव, उद्योग दर्तामा नीतिगत समस्या, वित्तीय पहुँचमा कमी, मूल्यवृद्धि, नवीनतम प्रविधिको विकासमा कमीलगायतका समस्या समाधानमा जोड दिन उहाँले ध्यानाकर्षण गराउनुभएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीका लागि चुनौतीपूर्ण रहेको भन्दै हालै राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २.१६ प्रतिशतमात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपणले पनि उक्त तथ्य पुष्टि गरेको बताउनुभयो । सरकारले व्यवसायीमैत्री मौद्रिक तथा आर्थिक नीति ल्याएर उद्योगी व्यवसायी र आमजनताको आत्मबल बढाउनुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष ढकालले अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधान गर्न सरकार, नियमन निकाय र निजी क्षेत्र सबै हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । अर्थतन्त्रमा समस्या आउनुमा निजी क्षेत्र, नियमन निकाय र सरकार पक्षको केही न केही दोष रहेको भन्दै उहाँले निजी क्षेत्रले बैंकहरूले सहजरूपमा कर्जा दिँदा घरजग्गा, सेयर वा सवारीसाधन खरिदमा लगानी गर्नु व्यवसायीको पनि दोष भएको बताउनुभयो ।

ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले ग्रिल तथा स्टिल व्यवसायलाई सरकारले सधैं उपेक्षा गर्दै आएको गुनासो गर्नुभयो । विगतमा लोडसेडिङ र पछि कोरोनाका कारण थला परेको ग्रिल व्यवसाय पछिल्लो समय दक्ष जनशक्ति अभाव, लगानी, पेशागत विभेद र नीतिगत उपेक्षाको शिकार बनेको उहाँको भनाइ थियो । जसका कारण अधिकांश ग्रिल तथा स्टिलजन्य व्यवसाय कानुनी दायरामा आउन सकेका छैनन् । अव्यावहारिक र झन्झटिलो नीतिगत व्यवस्थाका कारण ७५ प्रतिशत ग्रिल तथा स्टिलजन्य व्यवसाय दर्ताबिना सञ्चालन भइरहेको अवस्था रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष कटुवालका अनुसार हाल वार्षिकरूपमा ६० अर्ब बराबरको ग्रिल तथा स्टिलजन्य सामग्री कारोबार हुने गरेको छ भने एक लाख ६० हजारभन्दा बढीले प्रत्यक्षरूपमा रोजगारी पाएका छन् । देशभर ११ हजारभन्दा बढी व्यवसायी संलग्न छन् । सो अवसरमा विभिन्न व्यवसायीलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?