मोबाइल चलाउन छाडेर फुटबल सिक्दै बालबालिका

हिमालय टाइम्स
Read Time = 5 mins

दाङ । विगतमा घरमै मोबाइल चलाएर बस्ने बालबालिकाको दैनिकी अचेल फेरिएको छ । उहाँहरू दाङको घोराही उपमहानगरपालिका-१८ स्थित नवलपुर फुटबल मैदानमा फुटबल सिक्न थालेका छन् । दिनहुँ बालबालिका फुटबल अभ्यासका लागि पुग्ने गरेका छन् ।

स्थानीय धरम केसी हरेक दिन बिहान फुटबल अभ्यासका लागि नवलपुर पुग्नुहुन्छ । फुटबलका बारेमा सैद्धान्तिक ज्ञानसँगै अनुशासनबारे पनि थाहा पाएको उहाँको भनाइ छ । केसीले भन्नुभयो, ‘खेल खेल्न र यससम्बन्धी विभिन्न खालका ज्ञान लिन पाउँदा धेरै हर्षित छु, खेल क्षेत्रमा अगाडि बढ्न सघाउ पुर्‍याएको छ ।’ नवलपुर फुटबल एकेडेमीले फुटबल सिकाउन थालेपछि अभिभावक पनि खुसी भएका छन् ।

खुट्टामा जुत्ता, फुटबलकै पोशाक लगाएका आठ वर्षदेखि १४ वर्षसम्मका बालबालिका हरेक दिन चौरमा फुटबल सिक्न व्यस्त रहन्छन् । उहाँहरू निकै मेहनत गर्नुहुन्छ । रामेछाप स्थायी घर भई हाल घोराही-१५ बस्दै आउनुभएका १४ वर्षीय सुजन तामाङ एकेडेमी आएर सिक्न थालेको दुई वर्षभन्दा बढी भइसकेको छ । बालबालिका तथा किशोरकिशोरी गलत संगतमा फस्ने, कुलतमा लाग्ने, अनावश्यक गतिविधि गरेर भविष्य बिगार्ने खतरा रहेका बेला यहाँ आएर फुटबल सिक्ने र भविष्यका बारेमा सोच्न सक्ने भएका छन् ।

बालबालिकामा विभिन्न खालका मानसिक तथा शारीरिक समस्या देखापरिरहेका बेला फुटबल प्रशिक्षणका माध्यमबाट खेलमा व्यस्त हुन थालेपछि बालबालिकाका अभिभावक पनि उत्साहित भएका प्रशिक्षक दीपक पुन बताउनुहुन्छ । एकेडेमीमा आबद्ध थुप्रै बालबालिकालाई हरेक दिन उनीहरूका अभिभावकले खेल मैदानसम्म पुर्‍याउने गरेका छन् । खेलमा सानै उमेरदेखि लाग्न प्रेरित गर्न, मानसिक, शारीरिकरूपमा स्वस्थ राख्न फुटबल प्रशिक्षणमा लैजाने गरेको नवलपुरका भीमबहादुर छन्तेल बताउनुहुन्छ ।

विसं २०७६ देखि विभिन्न उमेर समूहका बालबालिकालाई नवलपुर फुटबल एकेडेमीले प्रशिक्षण दिँदै आएको छ । ‘ग्रासरुट’मा नै प्रशिक्षण दिन सके राम्रा खेलाडी उत्पादन हुनेमात्रै नभई मानसिक तथा शारीरिक विकाससँगै खेलमा सुधार ल्याउन मद्दत पुग्ने प्रशिक्षक पुनको भनाइ छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले हरेक जिल्लामा यस्तो कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको उहाँले बताउनुभयो । तर, दाङमा नवलपुर फुटबल एकेडेमीले लामो समयदेखि बालबालिकालाई निःशुल्क फुटबल प्रशिक्षण गराउँदै आएको छ ।

‘फुटबलको समग्र विकासका लागि उमेर समूहबाटै खेलाडी उत्पादन आवश्यक छ । यसका लागि खेलकुदका क्षेत्रमा काम गर्दै आएका निकाय र राज्यको नजर अझै पुग्न सकेको छैन,’ प्रशिक्षक पुनले भन्नुभयो । दक्ष खेलाडी उत्पादनमा ध्यान नदिने तर नतिजा भने राम्रो खोज्ने परिपाटीले नेपालमा फुटबलको विकास सोचेअनुरूप हुन नसकेको उहाँको भनाइ छ । कमजोर खेल संरचनालाई बलियो बनाउन र खेलकुदको समग्र विकासका लागि स्थानीयस्तरमा पालिकाले पनि प्रयास गर्न जरुरी छ । एकेडेमीको सहयोगले बालबालिकाको शारीरिक र मानसिक विकासमा त सहयोग पुगेको छ नै, साथै खेलाडी उत्पादन गर्न पनि मद्दत पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?