धनगढी । कोरोना संक्रमितसहित भारतबाट फर्केकाहरूलाई राख्ने उद्देश्यले कैलालीमा निर्माण गरिएको एक हजार शै्ययाको सुविधा सम्पन्न होल्डिङ सेन्टर अलपत्र परेको छ । संघीय सरकारको २८ करोड ८१ लाख १२ हजार रुपैयाँ लगानीमा बनेको होल्डिङ सेन्टर प्रयोगमा नआई अलपत्र परेको हो । गत वर्ष जेठमा तयार भएको होल्डिङ सेन्टर एक वर्षदेखि प्रयोगविहीन छ । कोरोना संक्रमण फेरि बढ्न थाले पनि होल्डिङ सेन्टर के का लागि प्रयोग गर्ने भन्ने विषय नै अनिश्चित छ । धनगढीस्थित नेपाली सेनाको भवानी दल गणको अनुगमन र व्यवस्थापनमा बनेको सो होल्डिङ सेन्टर हस्तान्तरणसमेत हुन सकेको छैन । नेपाली सेनाले होल्डिङ सेन्टरको रेखदेख गर्दै आएको छ ।
होल्डिङ सेन्टर केका लागि प्रयोग गर्ने भन्ने विषयमा अहिलेसम्म कुनै ठोस निर्णय हुन नसकेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । ‘यसलाई के गर्ने भन्ने विषयमा हामीले गृहसँग छलफल गर्ने कार्य गरिरहेका छौँ’, उहाँले भन्नुभयो, ‘अहिलेसम्म के का लागि प्रयोग गर्ने वा कसलाई हस्तान्तरण गर्ने भन्ने कुनै ठोस निर्णय भएको छैन ।’
कोरोना महामारीका क्रममा गौरीफन्टा नाका भएर भारतबाट फर्केकाहरूलाई व्यवस्थापन गर्नका लागि ठूलो लगानीमा धनगढी उपमहानगरपालिका-३ बडहरामा होल्डिङ सेन्टर बनाइएको हो । त्यसमा २२ वटा क्वारेन्टाइन, २२ वटा चर्पी र १५ वटा डाइनिङ हलसहितको भान्सा कोठा रहेका छन् । २०७८ असार ३ मा त्यसको ठेक्का पाएर हनुमान कन्स्ट्रक्सनले निर्माणको काम गरेको थियो । २०७८ भदौ मसान्तमै होल्डिङ सेन्टर निर्माण सम्पन्न गर्नुपर्ने समयावधि तय गरिए पनि तोकिएको समयमा निर्माणको कार्य पूरा हुन सकेन । गत जेठमा निर्माणको काम सकिएको थियो । तर, बनेको होल्डिङ सेन्टर कुनै पनि प्रयोजनको लागि काम आउन सकेको छैन ।
प्रयोगविहीन होल्डिङ सेन्टर खुइलिँदै गइरहेको छ । साथै, पश्चिमतिर मोहना नदीले होल्डिङ सेन्टरलाई कटान गर्नसक्ने खतरा रहेको धनगढी उपमहानगरपालिका–३ का वडा अध्यक्ष राजबहादुर ऐरले बताउनुभयो । ‘अबको दुई महिनापछि वर्षात लाग्छ’, उहाँले भन्नुभयो, ‘यदि, संरक्षण गर्न सकिएन भने पश्चिमतिर होल्डिङ सेन्टरलाई नदीले कटान गर्नसक्छ ।’
ठूलो बजेट आवश्यक पर्ने भएकाले स्थानीय सरकारले यसको संरक्षण र व्यवस्थापन गर्न नसक्ने भन्दै वडा अध्यक्ष ऐरले प्रदेश वा संघीय सरकारले नै केही गर्नुपर्नेमा जोड दिनुभयो । ‘यसको संरक्षण आवश्यक छ’, उहाँले भन्नुभयो, ‘तर, सुदूरपश्चिम प्रदेश सरकार र संघीय सरकारको यसतर्फ ध्यान गएको छैन ।’ नदी किनारमा तटबन्ध बनाउनका लागि बजेटको व्यवस्थापन गर्न जरुरी रहेको ऐरको भनाइ थियो । होल्डिङ सेन्टर कुनै पनि प्रयोजनका लागि प्रयोगमा नआए राज्यको ठूलो लगानी खेरजाने उहाँले उल्लेख गर्नुभयो । यसको संरक्षणसहित सदुपयोग गर्न आवश्यक रहेको वडा अध्यक्ष ऐरको भनाइ थियो ।
प्रयोगविहीन होल्डिङ सेन्टरलाई अब होल्डिङकै रूपमा प्रयोग गर्ने वा के बनाउने भन्ने विषय नै अन्योल बनेको छ । होल्डिङ सेन्टरको रूपमा प्रयोग गर्दा त्यसको लागत खर्च नै धेरै आउने जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीको भनाइ छ । ‘यसलाई सञ्चालन गर्न धेरै खर्च आवश्यक पर्छ’, उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच