मधेसका बालबालिकाहरू झन् होचापुड्का हुँदै

Read Time = 34 mins

✍️ मनोजकुमार साह/पुरन साह

के मधेस प्रदेशका बालबालिकाहरूको उचाइ घट्दै गएको हो ?
भनिन्छ कुनै राष्ट्रको समृद्धि त्यो राष्ट्रको औसत जनताको कदसँग जोडिएको हुन्छ र त्यसैले संसारका प्रायःजसो सबै विकसित पश्चिमा राष्ट्रहरूको अधिकांश नागरिकको उचाइ अग्लो भएका होला । दोस्रो विश्व युद्धपछि जापानका नागरिकको उचाइ ४ इन्चले वृद्धि भएको (पुरुष-४ इन्च, महिला-२.७ इन्च) र यसको सिधै असर जापानको आर्थिक र सामाजिक समृद्धिसँग जोडिएको थुप्रै अध्ययनहरूको विश्लेषण र निष्कर्ष रहेको छ । हालै सार्वजनिक भएको नेपाल जनसांखिक स्वास्थ्य सर्वेक्षणले २०२२ नेपालको नागरिकको (खास गरेर अहिलेका ५ वर्षमुनिका बाबालिकाहरूको) कद बढिरहेको देखाएको छ तर देशको यो दीर्घकालीन महत्व राख्ने प्रगतिमा मधेस प्रदेशको साथ र सहभागिता नभएको देखिन्छ ।

नेपालको सबै प्रदेशमा बालबालिकाको उचाइ बढ्दै गर्दा मधेस प्रदेशमा बालबालिकाको उचाइ झन् घटेको देखिन्छ । पछिल्लो जनसांखिक सर्वेक्षणले मधेसको बालबालिकाको कदको अवस्था तेस्रो स्थानबाट दोस्रो स्थानमा झरेको देखाएको छ । यसको सिधै अर्थ हो मधेसी बालबालिकाको उचाइ ओरालो लाग्ने क्रममा छ । हुन त यस सर्वेक्षण अनुसार प्रतिशतको हिसाबले कर्णाली पर्देश पाँच वर्षमुनिका बालबालिकाको पुड्कोपनको मामिलामा पहिलो स्थानमा रहेको छ भने मधेस प्रदेशमा दोस्रो स्थानमा ।

तर, प्रतिशको मुखौटालाई हटाउने हो भने मधेस प्रदेशमा पाँच वर्षमुनिका करिब ११ लाख बालबालिका पुड्का छन् जुन संख्यात्मक हिसाबले त आफैंमा बढी त छँदै छ साथै यो संख्या कर्णाली र सुदुरपश्चिम प्रदेशका पुड्का बालबालिकाहरूको संयुक्त संख्याभन्दा धेरै बढी छ । सर्वेक्षणको डाटालाई गहिरो रूपले विश्लेषण गर्ने हो भने मधेस प्रदेशको साक्षरता (अझै महिला साक्षरता सबैभन्दा कम भएको प्रदेश) कम भएको र ग्रामीण बस्तीमा रहेका गरिब तथा विपन्न समुदायका बालबालिकामा पुड्कोपनको अवस्था (प्रतिशत र संख्या दुवै गरी) कर्णालीमा भन्दा पनि नाजुक र व्यापक देखिन्छ ।

होचोपन आर्थिक अवस्थालाई पनि कमजोर गर्दछ । होचोपनको कारणले हुने शैक्षिक क्षतिले एउटा व्यक्तिको जीवनकालमा हुने आयआर्जनमा २२ देखि ४५ प्रतिशतसम्म नोक्सानी पुर्‍याउँदछ । सधारणतया होचा बालबालिका होचा वयस्ककै रूपमा ठूलो हुन्छन् ।

हुन त सन् २००१ मा नेपालका ५७ प्रतिशत बालबालिकामा रहेको पुड्कोपन सन् २०२२ सम्म आइपुग्दा २५ प्रतिशतमा झरेको छ र यसलाई राज्यले गरेको साकारात्मक उपलब्धिका रूपमा लिन सकिन्छ । तर, नेपालका बालाबलिकाहरूको औसत उचाइ बढ्नुमा मधेसका बालबालिकाहरूको योगदान सबभन्दा न्यून देखिन्छ । साथै यसै रफ्तारमा प्रगति हुने हो भने दिगो विकासको विश्वव्यापी लक्ष्यअनुरूप पुड्कोपनलाई २०३० सम्म १५ प्रतिशत मुनि झार्न नेपाल सफल हुने अनुमान गरिन्छ ।

कथमकदाचित देशले यो उपलब्धि हासिल गर्न असफल हुने हो भने यसको कारण बन्नेछन् मधेस प्रदेशका बालबालिकाहरू । तर, यदि देशले यो लक्ष्य प्राप्त गरिहाल्यो भने यसमा मधेसी बालबालिकाहरूको सहभागिता न्यून रहनेछ किनभने अरू सबै प्रदेशका बालबालिकाको उचाइ धेरै बढिसकेको हुन्छ, मधेस प्रदेशका बालबालिकाहरूको तुलनामा । आश्चर्यको कुरा त के हो भने विपन्नता, खाद्य असुरक्षा, भौगोलिक विकटता हुदाँहुँदै सबै प्रदेशभन्दा धेरै उपलब्धि कर्णाली प्रदेशले गरेको छ भने खाद्य सुरक्षित, सुगमता, सेवाको पहुँच राम्रो भएका मधेस प्रदेशको प्रगतिको गति प्रायः शून्य नै देखिन्छ ।

बालबालिकाको होचोपनले के कस्तो असर गरिरहेको छ ?
होचोपनका असरहरू एउटा व्यक्तिको स्वास्थ्य, शिक्षा, आर्थिक अवस्थासँग त जोडिएकै हुन्छ साथै यसले राष्ट्रको आर्थिक र सामाजिक समृद्धिलाई पनि प्रतिनिधित्व गरेको हुन्छ । स्वास्थ्यसँग सम्बन्धित असरहरूको रूपमा पाँच वर्षमुनिको बालमृत्युमध्ये ४५ प्रतिशत बालमृत्यु विभिन्न प्रकारको कुपोषणको कारणले हुन्छ भने पुड्कोपनको भूमिका सबभन्दा धेरै हुन्छ । होचा बालबालिकाहरू झाडापाखाला, निमोनिया र दादुरा जस्ता दोहोरिरहने संक्रमणको उच्च जोखिममा रहन्छन्, जसका कारण बालबालिकाहरूको मृत्यु हुनसक्ने सम्भावना निकै बढी हुन्छ । होचा बालबालिकाहरू होचा वयस्क रूपमै विकास हुन्छन् र यस्ता वयस्कहरू मोटोपना, मधुमेह, क्यान्सर र हृदयसम्बन्धी दीर्घकालीन रोगहरूको चपेटा पर्दछन् । फलस्वरूप पारिवारिक आर्थिक अवस्था धराशायी बन्न पुग्छ ।

साथै नेपालमा हुनेगरेका राष्ट्रिय मृत्युहरूमध्ये ६६ प्रतिशत मृत्यु यी रोगहरूको कारणबाटै हुनेगरेको एक अध्यनले देखाएको छ । सानो कद भएका बालबालिका तथा किशोरकिशोरीहरूको शैक्षिक अवस्था प्रभावित हुनेगरेको थुप्रै राष्ट्रिय/अन्तर्राष्ट्रिय अध्यन र अनुसन्धानले पुष्टि गरेका छन् । पुड्कोपनले बालबालिकाहरूको बौद्धिक क्षमता र कलाकौसल सीपलाई कमजोर पार्दछ । फलस्वरूप उनीहरूको सिकाइ उपलब्धि कम हुन्छ । युनिसेफले गरेको एउटा अनुमान अनुसार जीवनको सुरुवाती कालमा हुने पुड्कोपनले एउटा नानीलाई विद्यालय सुरु गर्न सात महिना ढिलो गराउँदछ भने उसले ०.७ कक्षाबराबरको विद्यालय शिक्षा गुमाउँछ ।

होचोपन आर्थिक अवस्थालाई पनि कमजोर गर्दछ । होचोपनको कारणले हुने शैक्षिक क्षतिले एउटा व्यक्तिको जीवनकालमा हुने आयआर्जनमा २२ देखि ४५ प्रतिशतसम्म नोक्सानी पुर्‍याउँदछ । सधारणतया होचा बालबालिका होचा वयस्ककै रूपमा ठूलो हुन्छन् । एउटा वयस्कको उचाइ एक प्रतिशत मात्र कम भयो भने उसको उपादकत्वमा १.४ प्रतिशतले ह्रास गराउँछ । सायद होचोपनका धेरै कारणहरूमध्ये एक हुनुपर्दछ जसले मधेस प्रदेशलाई वैदेशिक रोजगारीका लागि देशकै सबैभन्दा बढी कामदार पठाउने प्रदेशको रूपमा चिनाएको छ ।

बालबालिका अवस्थामा भएको पुड्कोपनले एक व्यक्ति श्रम बजारका लागि तुलनात्मक रूपमा कम सक्षम हुन्छ र फलस्वरूप उसको कमाइ पनि कम हुन्छ । साथै होचोपनको कारणले हुने स्वास्थ्यको क्षतिले दीर्घकालीन रोगहरूका उपचार खर्चमा ठूलो धनराशि नोक्सान गराउँदछ जसले पारिवारिक आर्थिक अवस्थालाई धराशायी बनाउँदछ । होचोपन कम गर्न सकियो भने मधेसको अहिलेको कूल गार्हस्थ उत्पादनमा लगभग ४ देखि ११ प्रतिशत वृद्धि गराई मधेस प्रदेशको आर्थिक उत्पादकत्वमा सुधार गर्न सकिन्छ ।

के हुन् पुड्कोपनका कारक तत्वहरू ?
पारिवारिक र मातृस्वास्थ्य तथा पोषणका कारण मधेसी महिलाहरू कम तौल, रक्तअल्पता र अधिक तौल गरी कुपोषणको तेहरो चपेटामा छन् । खास गरेर गर्भवती तथा सुत्केरी अवस्थामा हुने यस्ता किसिमका कुपोषणले महिलाहरूको आफ्नो स्वास्थ्य र सुन्दर जीवनमा ठूलो असर त पार्छ नै साथै उनीहरूबाट जन्मिने बालबालिकामा पनि आजीवन रहने खालको पुड्कोपनलगायत शारीरिक तथा मानसिक विकासको समस्या गराउँछ । आधाभन्दा बढी मधेसी महिलाहरू रक्तअल्पताको सिकारमा परेका छन् भने साक्षरता र गरिबी सबभन्दा धेरै भएको दलित, मुस्लिम अन्य पिछिडिएको समुदायका मधेसी महिलामा रक्तअल्पता त डरलाग्दो अवस्थामा रहेको कुरा नेपाल जनसांखिक स्वास्थ्य सर्वेक्षण २०२२ले देखाएको छ ।

नेपालको राष्ट्रिय सूक्ष्मपोषण सर्वेक्षण २०१६ को डाटालाई सूक्ष्म विश्लेषण गर्ने हो भने नेपालका प्रजनन उमेरका महिलामध्ये सबैभन्दा (सबै प्रदेश र राष्ट्रिय औसतभन्दा) कम तौल र अधिक तौल पनि मधेसी महिलाहरूमै देखिन्छ । सो सर्वेक्षणअनुसार करिब प्रत्येक चारजनामा एक एकजना मधेसी महिला कम तौल र अधिक तौलका छन् । यी दुवै अवस्था पुड्कोपनलगायत अन्य कुपोषणका लागि अत्यन्तै जोखिम मानिन्छ । यी तेहरो कुपोषणको अवस्थालगायत अन्य सूक्ष्मपोषक तत्वहरूको कमी (भिटामिन ए) मधेसका महिलाहरूमा व्यापक रहेका कारण यस्ता आमाहरूको कोखबाट जन्मेको बालबालिकाको कदमा अपेक्षित सुधार हुनसकेको छैन ।

स्तनपान तथा निम्न स्तरीय परिपूरक खानपान :
होचोपनको अर्को मुख्य कारण हो बालबालिकालाई गराइने स्तनपान र यसको तरिका । हुन त सामाजिक सांस्कृतिक मूल्यमान्याता अनुरूप बच्चा जन्मेको एक घण्टाभित्र आफ्नो दूध चुसाउने तथा ६ महिनासम्म स्तनपानमात्र गराउने कुरामा मधेसी महिलाहरू अन्य प्रदेशका आफ्ना समकक्षीहरूको तुलनामा सबभन्दा अगाडि छन् तर उनीहरूको आफ्नै निम्नस्तरीय खानपान, रहनसहन, हेरचाह, कमजोर स्वास्थ्य तथा पोषण अवस्थाका कारण बालबालिकालाई दुई वर्षसम्म स्तनपान गराउन नसकेको देखिन्छ र यो अवस्था ऊनीहरूको अन्य प्रादेशिक समकक्षी भन्दा सबभन्दा पछाडि छ ।

पुड्कोपनलगायत अन्य कुपोषणको अर्को महत्वपूर्ण कारण साना बालबालिकालाई सही समयमा सही खानपान खुवाउन नसक्नु पनि हो जुन मधेस प्रदेशको बालबालिकामा सबभन्दा खराब अवस्थामा छ । मधेस देशकै खाद्य भण्डार भए पनि यस प्रदेशका ६ देखि २३ महिनाका प्रत्येक चारजनामध्ये तीनजना बालबालिकाले विश्वव्यापी मापदण्ड अनुसार आफ्नो पूर्ण क्षमतामा बढ्न र विकास हुन चाहिने न्यूनतम आहार विविधता (कम्तीमा पाँच समूहको खाना) भएको खानेकुरा दैनिक रूपमा कम्तीमा चार पटक खानपाएका छैनन् । बिहान सूर्योदयदेखि रात परेसम्म मधेसका सानासाना नानीहरूको हातमा चाउचाउ, बिस्कुट, चिजबल जस्ता अतिप्रशोधित खानेकुरा देखिन्छ ।

विद्यालयका वरिपरि तथा विद्यालयभित्रकै क्यान्टिन र पसलमा यस्ता खालका खाद्यापदार्थको बिक्रीवितरण भएको देखिन्छ तथा कतिपय विद्यालयले दिबाखाजाका लागि यिनै खानेकुराहरू पनि खुवाउने गरेको देखिन्छ । तथ्यांकले यहाँका यसै समूहका आधा जति बालबालिकालाई (४३ प्रतिशत) गुलियो पेय दिइन्छ भने दुई तिहाइ जति बालबालिकालाई अस्वस्थ्यकर तथा जंकफुड खान दिने गरेको वा खुवाइने गरेको पाइएको छ । यसको डरलाग्दो परिणाम के हो भने यसले कलिला बालबालिका जिब्राको प्राकृतिक तालुलाई ध्वस्त पारेर बालबालिकालाई अस्वस्थकर खाद्य खाने बानीको साथै मोटोपन र आहारसम्बन्धी अन्य रोग लागेर पुड्कोपन गराउने खतरा बढाउँछ ।

असुरक्षित खाना र पानी तथा संक्रामक रोग :
घरायसी निम्नस्तरीय सरसफाइ, खानेपानी र व्यापक रहेको खुला दिशा गर्ने अभ्यासको साथै कमजोर फोहोर व्यवस्थापनका कारण मधेसी बालबालिका अन्य प्रदेशका बालबालिकाको तुलनामा झाडापाखाला, श्वासप्रश्वास, औलो, सुन्निनुलगायत संक्रामक रोगको चपेटामा निकै बढी पाइएको देखिन्छ र यस्ता किसिमका रोगले कडा खालाको शिघ्र कुपोषण गराउनुको साथै आजीवन रहने पुड्कोपन गराउँदछ ।

अन्य आधारभूत कारकतत्वहरू :
मधेसमा बिग्रिँदै गएको राजनीतिक अर्थव्यवस्था, ध्वस्त हुँदै गएको सार्वजानिक शिक्षा, गुणस्तरहीन र सर्वसाधारणका पहुँचबाट टाढिँदै गएको स्वास्थ्य सेवालगायत परम्परागत सामाजिक मूल्य, मान्यता र सांस्कृतिक अभ्यासहरूका कारण मधेसका बालबालिकामा हुने होचोपनमा उल्लेख्य सुधार हुन नसकेको देखिन्छ । गुणस्तरीय सार्वजानिक शिक्षाले व्यक्तिको रहनसहन, खानपान, स्वास्थ्य सेवा लिने व्यवहारलगायत निकै साकरत्मक सोच र व्यवहार स्थापित गर्दछ तर देशकै सबैभन्दा धेरै विद्यालयबाहिर रहेका बालबालिका मधेसमै छन् भने पाँच वर्षमाथिका जनसंख्यामा साक्षरता सबभन्दा कम यसै प्रदेशमा देखिन्छ । त्यसैगरी तल्लो र माथिल्लो आधारभूत तथा माध्यमिक तहसम्मका शिक्षा पूरा गर्ने सबैभन्दा कम बालबालिका मधेस प्रदेशमै रहेको युनिसेफले गरेको बहुसूचक सर्वेक्षणले देखाउँछ ।

तीन आधारभूत पठनसीप र चार आधारभूत अंकगणित) सीप सिकेका बालबालिका पनि सबभन्दा कम मधेस प्रदेशमै भएको यसै सर्वेक्षणले देखाउँछ । राज्यको विभेद र मधेस प्रदेशको आफ्नै कमीकमजोरीका कारण शिक्षक र विद्यालयको अनुपात (एउटा विद्यालयमा धेरै विद्यार्थी भएको) सबभन्दा कम तथा शिक्षक र विद्यार्थीको अनुपात (एक शिक्षकले हेर्ने विद्यार्थीको संख्या) सबभन्दा कम मधेसमा देखिन्छ जसले गुणस्तरीय शिक्षालाई नाकारात्मक असर पु¥याउँछ । राज्यको विभेद र मधेस प्रदेशमा रहेको व्यापक भ्रष्टाचारको कारण मधेसका विद्यालयहरूमा पहिलो र दोस्रो चौमासिकको पहिलो महिनामै राज्यले दिने बजेट उपलब्ध हुन नसकेको अवस्था व्यापक छ ।
मधेसका विद्यालहरूमा सामाजिक र आर्थिक परीक्षण सबभन्दा कम हुन्छ जसले आर्थिक अनियमितता व्यापक रहेको र यसका कराण शिक्षाको अवस्था झन्झन् कमजोर हुँदै गएको देखिन्छ, यसले गर्दा सामाजिक र जनस्वास्थ्यसम्बन्धी चेतना व्यापक हुनसकेको छैन ।

फलस्वरूप पुड्कोपनलाई यथास्थितिमा राख्न मद्धत पुर्‍याएको देखिन्छ । सामाजिक मूल्य र मान्याता प्रगतिशील हुन नसक्नु तथा राजनीतिक र कानुनी राज्य स्थापना हुन नसक्नुको कारण १५ वर्षअगावै बालविवाह हुने जनसंख्या पनि मधेस प्रदेशमा छ । बालविवाहले महिलाहरूको प्रजनन् स्वास्थ्य कमजोर बनाउनुको साथै यस्ता महिलाबाट जन्मिने बच्चाहरूमा होचोपनको जोखिम निकै बढी हुन्छ ।
गर्भवती अवस्थामा राम्रो हेरचाहको साथै सही र समय समयमा स्वास्थ्य उपचार खोज्नु, गर्नु र पाउनुले आमा र बच्चाको स्वास्थ्य अवस्था ठीक राख्दछ र यसले होचोपनलगायत अन्य कुपोषणबाट बचाउँछ । तर, मधेस प्रदेशको अवस्था यस मामिलामा पनि दयनीय नै देखिन्छ । स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार गर्भाअवस्थामा एक महिला कम्तीमा चारपटक स्वास्थ्य जाँच गराउनुपर्दछ तथा सुत्केरी स्वास्थ्य संस्थामै हुनु पर्दछ तर मधेसका महिलाहरू अरू प्रदेशका आफ्ना समकक्षीको तुलनामा निकै पछाडि देखिन्छ ।

त्यसैगरी सुत्केरी भएपछि शिशुलाई स्वास्थ्य संस्थामा जाँच गर्ने चलन पनि कम देखिन्छ यस प्रदेशमा । एकदेखि दुई वर्षबीचका बालबालिकाले पाउने पोलियो, दादुरा र अरू संक्रामक रोग (क्षयरोग र हेपाटाइटिस बी)विरुद्ध खोपको सबालमा मधेसी बालबालिकाहरू सबभन्दा पछाडि छन् जसको कारण जीवनकालीन असक्षमता हुनसक्दछ ।

खानेपानी, सरसफाइ तथा स्वच्छताको सबालमा पनि मधेस प्रदेश निकै पछाडि छ । देशका सबैजसो जिल्लाहरू खुला दिसा पिसाब मुक्त जिल्ला घोषणा भइसके पनि मधेसका एउटा जिल्ला पनि त्यसो हुनसकेको छैन र अहिले पनि खुला दिसा–पिसाब मधेसका बस्तीहरूमा व्यापक देख्न सकिन्छ । प्रायःजसो मधेसका बस्तीहरूमा गाईवस्तुको गोठ घर र भान्सासँगै हुन्छ र यी गोठहरूमा फोहोर व्यवस्थापन अवस्था निकै कमजोर हुन्छ । यस्तो किसिमको अस्वच्छता र फोहोरको व्यवस्थापनको कमीले संक्रामक रोगहरूको जोखिम निकै बढाउँछ जसले होचोपनलाई मलजल गर्ने काम गर्दछ । जस्तै कि बंगलादेश लगायत देशमा गरिएको एक अध्ययनले २४ महिनाभित्रका शिशुमा प्रत्येक एक पटक हुने झाडापाखालाले होचोपनलाई सघाएको देखाउँछ ।

मधेस प्रदेशलाई राज्यको स्रोत बाँडफाँडमा, सेवासुविधाको व्यवस्थापनमा राज्य शक्तिमा रहेका समूहबाट विभेद भएको छताछुल्ल देखिन्छ जबकि मधेस प्रदेश राज्यको ढुकुटीको एक मुख्य स्रोत हो चाहे त्यो मधेस प्रदेशका युवा जनशक्तिले कमाएको विप्रेशणबाट आएको विदेशी मुद्रा होस वा मधेसको आफ्नै उत्पादनबाट हुने आम्दानी । मधेस केन्द्रित क्षेत्रीय राजनीति दलहरूभित्रका व्यक्तिगत र दलगत स्वार्थका कारण पनि मधेस प्रदेशसँग सम्बन्धित धेरै सामाजिक र राजनीतिक मागहरू स्थापित हुनसकेन जसको फलस्वरूप मधेसका जनताले राज्यबाट पाउने कतिपय सुविधाबाट वञ्चित भएका छन् ।

जस्तो कि स्थानीय र रैथाने तथा राज्य संयन्त्रमा पहुँच नभएका धेरै नागरिक नागरिकताका कारण अनागरिक बनेका छन् भने यिनका बालबालिकाले पाउने बालपोषण भत्तालगायत कतिपय राज्यका सुविधा पाउन सकेका छैनन् । त्यसैगरी मधेस प्रदेशमा भइरहेको भ्रष्टाचारका कारण बालपोषण भत्ता, निःशुल्क रूपमा वितरण हुने औषधिलगायत कैयौं सेवासुविधा जुन गरिब तथा विपन्न वर्गसम्म पुग्नुपर्ने हो त्यो पुग्न सकेको छैन । यसले विपन्न वर्गका नागरिकलाई सामाजिक र आर्थिक हिसाबले झन् कमजोर बनाउँदै गएको छ ।
त्यसैगरी मधेस प्रदेश नेपालमा काम गर्ने गैरराज्य संयन्त्रहरू तथा विकाश साझेदारहरूको पनि आकर्षित गर्ने क्षेत्र हुन सकेन । यसका दुई कारण छन् । पहिलो विकास साझेदारका कुइरेहरूलाई नेपालको पहाड र हिमालमा रहेको प्राकृतिक सौन्दर्य र काठमाडौंको विश्वकै सस्तो बसाइ र खानपानले यति मन्त्रमुग्ध पार्दछ भने मधेस प्रदेशको गर्मी, ताप, फोहोरले उनीहरूलाई विकर्षित गर्दछ ।

त्यसकारण भौतिक सुगमता भए पनि यहाँ रहेका धेरै सामाजिक र सांस्कृतिक समस्याहरूका बाबजुद (जसले विभिन्न तरिका र बाटोबाट होचोपनलाई सघाउँछ) मधेस प्रदेश जान मन लाग्दैन । दोस्रो यस्ता संस्थाहरू तथा केन्द्रीय सत्ताका कर्मचारी तन्त्रले पनि मधेसको समस्या राम्ररी पहिचान नगराउने बरू समस्या भए पनि यहाँ काम नै नगरिने वातावरण रहेको गलत जानकारी सम्प्रेषण गरी मधेस प्रदेशलाई उपेक्षा गरेको देखिन्छ ।

अब के उपाय होला मधेसी बालबालिकाको कद बढाउने ?
पुड्कोपन अन्तरजन्मान्तर रूपमा पन्छ्याइरहने एक जटिल किसिमको कुपोषण चक्र हो जुन एक कुपोषित गर्भवती महिलाबाट सुरु हुन्छ जसबाट जन्मिने सन्तान कम तौलको शिशुको रूपमा जन्मिन्छ, यस्ता शिशु पुड्को बालबालिकाका रूपमा विकास हुन्छन् र यीमध्येका पुड्का बालिकाहरू कुपोषित किशोरी भएर बढ्छ र यिनै कुपोषित किशोरीहरू कुपोषित गर्भवती हुन्छ । त्यसकारण पुड्कोपनबाट छुटकारा पाउन यो पङ्गु चक्रलाई माथि उल्लेख भएको चारै अवस्थामा प्रहार गर्नु पर्दछ । शिशु अवस्था (जन्मेको ६ महिना सम्म) पर्याप्त मात्रामा आमाको दूधमात्र सक्रिय रूपमा खुवाउने र चाहिने मात्रा र तोकिएको समयमा संक्रामक रोगविरुद्धको तोकिएको खोपहरू लगाउने ।

तर, आमाको दूधमात्र खुवाउन गर्भवती अवस्थादेखि नै आमा स्वस्थ, पोषित, खुशी, हसिँलो, जाँगरिलो र सक्रिय हुनुपर्दछ र तोकिएको स्वास्थ्य र पोषणसम्बन्धी सम्पूर्ण नियमहरू पूरा गर्न सक्नुपर्दछ । यस्तो गर्भवती आमा हुन एक किशोरी पनि पूर्णरूपमा फक्रिनु पर्दछ भन्नु को अर्थ ऊ पनि शारीरिक, मानसिक, सामाजिक रूपले स्वस्थ, पोषित र ऊर्जावान हुन जरुरी हुन्छ र यो सम्भव तब हुनसक्छ जब एउटा बालक वा बालिका दुई वर्षसम्म आमाको दूधको साथै पर्याप्त मात्रामा स्वस्थ्य, सफा, पोषिलो पूरक खाना खाने, तोकिएको सम्पूर्ण खोपको मात्रा पूरा गर्ने, उचित सरसफाइका साथै संक्रामक रोगबाट बच्ने गरी व्यव्स्थापन गर्न सकिन्छ । खानपान, सरसफाइलगायतको अवस्था दुई वर्षपछि पनि निरन्तरता पाउनुपर्दछ ।

तर, माथि भनिएको जस्तै अवस्था यतिकै सम्भव हुन सक्दैन यसको लागि व्यक्ति (महिला आफैं), परिवार, समाज, राष्ट्र र राष्ट्रका सम्पूर्ण संयन्त्र, प्रक्रिया र प्रणाली काम गर्न सक्नुपर्दछ । यस कुरालाई विश्व खाद्य कार्यक्रमले नेपालको लागि गरेको कष्ट अफ डाइट (आहारको लागि चाहिने खर्च) विश्लेषणबाट बुझौं ।

पुड्कोपन अन्तरजन्मान्तर रूपमा पन्छ्याइरहने एक जटिल किसिमको कुपोषण चक्र हो जुन एक कुपोषित गर्भवती महिलाबाट सुरु हुन्छ जसबाट जन्मिने सन्तान कम तौलको शिशुको रूपमा जन्मिन्छ, यस्ता शिशु पुड्को बालबालिकाका रूपमा विकास हुन्छन् ।

यो विश्लेषण अनुसार पाँच जना सदस्य भएको एक परिवार (एक वयस्क पुरुष, एक सुत्केरी महिला, एक ६ महिनामुनिका शिशु, एक विद्यालय जाने उमेरका बालक र एक किशोरी) लाई दिनभरिमा पोषिलो खानपानको लागि चाहिने खर्चको दुई तिहाइ खर्च सुत्केरी महिला र किशोरीलाई मात्र चाहिन्छ । यसको मुख्य कारण भनेकै यी दुवै सदस्यहरूको यस विशेष अवस्था र शारीरिक विकासको समयमा चाहिने पोषणयुक्त खानेकुराको बढ्दो आवश्यकता कारण हो । तर, यस्तो परस्थिति न यो देशको हो, अझ मधेसको अवस्था झन् कठिन छन् । यहाँका सामाजिक र सांस्कृतिक व्यवहार र परम्परा अनुसार महिला (चाहे त्यो एक बालिका, किशोरी वा वयस्क होस्) दोस्रो दर्जाका नागरिक रूपमा व्यवहार गरिने र उसले परिवार र समाजबाट पाउने हेरचाह, सुविधा, खानपानमा विभेदको सामना गर्नुपर्दछ ।

त्यसकारण यसको सुरुवात परिवारबाट हुनुपर्दछ र सो हुन परिवार आर्थिक, शैक्षिकरूपमा सम्पन्न हुनुपर्दछ । साथै राज्यबाट दिइने स्वास्थ्य, पोषण, अन्य सामाजिक सुरक्षा सेवाहरूको आपूर्ति समय र चुस्तदुरुस्त तरिकाले हुन आवश्यक छ । यी अवस्थाहरूको लागि राज्यको सम्पूर्ण संयन्त्र, प्रक्रिया र प्रणाली काम गर्न सक्नुपर्दछ जसका लागि दृढ राजनीतिक इच्छाशक्ति चाहिन्छ । राष्ट्रको आर्थिक र सामजिक समृद्धिसँग जोडिइएको यो पुड्कोपनको समस्या त अदृश्य भएको र ओझेलमा परेको÷पारिएको छ र खासगरी मधेसको नागरिक समाज र राजनीतिकर्मीमा न यस कुराको समझ न प्रतिबद्धता नै ।

त्यसकारण सबभन्दा पहिले यो गम्भिर विषयलाई मधेसमा देखिने, महसुस हुने मुद्दाको रूपमा स्थापित हुन/गराउन पर्दछ जसका लागि मधेसका राजनीतिक दल, नागरिक समाज, मिडिया, बौद्धिक वर्ग, राज्य संयन्त्र एक साथ काम गर्न सक्नु पर्दछ । मधेसको शैक्षिक अवस्थामा र खासगरी महिला शिक्षामा देखिने गरी रूपान्तरण हुन आवश्यक देखिन्छ किनभने महिलाको शैक्षिक अवस्थाले होचोपनसँग प्रत्यक्ष सम्बन्ध राख्दछ, महिलाको शैक्षिक अवस्था सुधार भयो भने पुड्कोपन कम हुँदैजान्छ ।

समुदायमा आधारित स्वास्थ्य तथा पोषण सेवाहरूको समता केन्द्रित भएर समुदायमा भएको अति गरिब, विपन्न र कमजोर घरपरिवारलाई लक्षित हुनेगरी स्थानीय तहहरूले कार्यक्रम सञ्चालन गर्नसक्नुपर्दछ । पुड्कोपनलगायत अन्य कुपोषणलाई न्यूनीकरण हुनेगरी राष्ट्रिय योजना आयोगले विकास गर्दै गरेको रणनीतिक र दीर्घकालीन महत्व राख्ने दश वर्षे बहुक्षेत्रीय पोषण योजना तेस्रोको मस्यौदा समूहमा मधेसी सामुदायको प्रतिनिधित्व त प्रायः न्यून रहेकाले मधेस केन्द्रित पोषण विशेष र संवेदनशील कार्यक्रम र योजनाहरू समावेश नहुने प्रायः पक्का नै छ ।

त्यसर्थ मधेस केन्द्रित राजनीतिक दलहरूले यस विषयलाई अबको प्रमुख सामाजिक मुद्दाको रूपमा स्थापित गराउनुपर्दछ र केन्द्रबाट बन्ने नीति र नियममा सहभागी भई मधेस संवेदनशील योजना समावेश हुने गरी पहल गर्नुपर्दछ । सधैंभरि समता र सहभागिता विकास गफ दिने द्विपक्षीय र बहुपक्षीय विकास साझेदारलाई पनि यस विषयमा संवेदनशील बनाउन राजनीतिक दल र मधेसी बौद्धिक समाजले नै पहल गर्नु पर्दछ । (साहद्वय विद्यालय दिवा खाजा विशेषज्ञ हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?