आगामी आर्थिक वर्षका लागि पेश भएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पर्याप्त छैनन् : गोकर्ण विष्ट

Read Time = 6 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद एवम् पूर्वमन्त्री गोकर्ण विष्टले सरकारले आगामी आर्थिक वर्षका लागि पेश गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पर्याप्त नभएको टिप्पणी गर्नु भएको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि पेश गरेको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताले ऋणात्मक अवस्थामा रहेको मुलुकको अर्थतन्त्रको समस्यालाई समाधान गर्न नसक्ने सांसद विष्टको दावी थियो ।

मंगलबार प्रतिनिधिसभाको दोस्रो बैठकमा सो विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले झारफुकको आधारमा गरिने उपचार विधिजस्तै गरेर मुलुकको आर्थिक संकटको समाधान गर्न नसकिनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । सांसद विष्टले मुलुकलाई आर्थिक संकटबाट पार लगाउन उच्चस्तरीय सार्वजनिक खर्च पुनरावलोकन आयोगले पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न पनि सरकारलाई सुझाव दिनु भयो । यो आयोगले पेश गरेको प्रतिवेदन अनुसार अनावश्यक खर्च कटौति गरियो भने खर्बौ रुपैयाँ खर्च कटौति हुने भएकाले सरकारले सो प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने उहाँको तर्क थियो । राजस्व मिनाहा रोक्नका लागि महालेखा परीक्षकको कार्यालयले दिएको सुझाव पनि कार्यान्वयनमा ल्याउन सरकारलाई सांसद विष्टले सचेत गराउनु भयो ।

उहाँले भन्नु भयो, ‘अर्थतन्त्रमा देखा परेको यस प्रकारका संकटहरु, अर्थतन्त्रको संकुचन र ऋणात्मक अवस्थालाई पार लगाउन केवल नियमित प्रक्रिया, केवल टालटुले प्रक्रियामात्रै पर्याप्त हुन सक्दैन । संकट अत्यन्तै गहिरो छ । तर, सरकारका सिद्धान्त र प्राथमिकता केवल झारफुकको आधारमा गरिने उपचार विधिजस्तो मात्रै छन । यसकारण देशको अर्थतन्त्रमा जुन प्रकारका संकटहरु देखा परेका छन । यी संकटहरुलाई समाधान गर्नका लागि के सरकार तयार छ ? आज म प्रतिपक्षको एउटा सांसदको नाताले सरकारसँग अनुरोध गर्न चाहन्छु कि सरकार संकटलाई समाधान गर्नका लागि गम्भिर छ, तयार छ ? यदि सरकार तयार छ भने म सरकारलाई केही सुझाव दिन चाहन्छु सभामुख महोदय । उच्च स्तरीय सार्वजनिक खर्च पुनरावलोकन आयोगले एउटा प्रतिवेदन पेश गरेको छ । त्यो प्रतिवेदनले सार्वजनिक खर्चमा हुने अनाआवश्यक खर्चलाई कटौति गरियो भने खर्बौ रुपैयाँ खर्च कटौति हुन सक्छ भन्ने कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ । के सरकार यसका लागि तयार छ ? बैदेशिक सहायताद्धारा संचालित हुने आयोजनामा केही प्राविधिक प्रक्रियाको कारणले ५० अर्वभन्दा बढि सोधभर्ना लिने काम अहिले पनि बाँकि छ । एकातिर सरकार स्रोत, साधनको अभावमा विकास खर्च बढाउन सकिएन भनिरहेको छ । तर ५० अर्वभन्दा बढि सोधभर्ना लिने अवस्था अहिले पनि विद्यमान छ । तर सरकारले यसमा तदारुकता देखाईरहेको छैन । यसको लागि सरकार तयार छ ? आर्थिक वर्ष २०७७÷७८ को महालेखा परीक्षकको प्रतिवेदनले विभिन्न नाममा मिनाहा गरिने कर प्रक्रियाले एक वर्षमा एक खर्व ५० अर्वभन्दा बढि राजस्व मिनाहाको नाममा राजस्व गुमिराखेको छ भन्ने प्रतिवेदनले उल्लेख गरेको छ । के सरकारले कडा कदम चालेर राजस्व मिनाहालाई रोक्नका लागि सरकार तयार छ ? वा सरकारले राजस्व मिनाहामार्फत् रोजगारी सृजना, उत्पादन वृद्धि, आर्थिक वृद्धिमा कहाँनिर योगदान पुग्यो भन्ने सन्दर्भमा सरकार समिक्षा गर्न तयार छ ? तार, पोल, ईआइएजस्ता सामान्य समस्याहरुको सहजीकरणको अभावमा अहिले पनि अर्बौ रुपैयाँ बराबरको वैदेशिक सहायता प्राप्त गर्न सक्ने अवस्था अवरुद्ध छ । के सरकारले यी प्रक्रियाहरुलाई सहज बनाएर समस्यालाई सही ढंगले समाधान गर्न के सरकार तयार छ ?’

सांसद विष्टले रोजगारी सृजना, उत्पादन वृद्धि र आर्थिक वृद्धिदरमा योगदान पु¥याउने क्षेत्रहरुको पहिचान गरेर पनि मुलुकको आर्थिक संकटलाई समाधान गर्न सरकार तयार हुनुपर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?