बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : उपेन्द्र यादव

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी वर्षको बजेटमा सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभएको छ ।

मंगलवार सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो सुझाव दिनुभएको हो । उहाँले आर्थिक अवस्था सुधार गर्न सबैभन्दा पहिला कृषिमा लगानी बढाउनुपर्ने बताउनु भयो ।

उहाँले उत्पादनमुलक उद्योगहरुलाई सबलीकरण गर्ने, रुग्ण उद्योगलाई पुनः सञ्चालन गरेर मात्रै अहिलेको आर्थिक संकटको सामना गर्न सकिने बताउनु भयो । उहाँले पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नसकेपनि केही मात्रामा आर्थिक समस्या समाधान गर्न सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्राथमिकता हामी कहाँ दिन्छौँ, सबैभन्दा बढी प्राथमिकतमा अहिले जुन आर्थिक संकट जुन आइरहेको जस्तो देखिन्छ, जुन मुलुकमा आर्थिक वृद्धिदर घटेर गएको छ । त्यसलाई परिपूर्ति गर्न सबैभन्दा सजिलो र छिटो भनेको कृृषि उत्पादनमा वृद्धि नै हो । कृषिमा आज लगानी गर्नुभयो भने तीन,चार महिनापछि नै नतिजा आउँछ । त्यसपछि उत्पादनमुलक उद्योगहरुलाई सबलीकरण गर्ने, जुन उद्योगले उत्पादन गरिरहेको छ, त्यसको सबलीकरण गर्नुपर्छ । जुन विभिन्न कालखण्डमा अत्याधिक मुनाफामा रहेका उद्योग, कलकारखाना निजीकरण र उदारीकरणका नाममा कौडीका मूल्यमा बेचियो, वा प्राइभेटाइज गरिनु आज ती सबै रुग्ण अवस्थामा रहेका छन् । तिनलाई पुनः सञ्चालन गर्ने वीरगञ्ज चिनी काराखाना, कृषि औजार कारखाना, चुरोट कारखाना लगायत कारखाना पुनः सञ्चालन गर्न सकिन्छ । त्यो सञ्चालको नीति निर्माण गरेर अघि बढ्ने हो भने, त्यसले उत्पादन वृद्धि गर्न सकिन्छ । विशेष गरी पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नुपर्छ । त्यसपछि विनियोजित विधेयकमा समावेश बुँदाहरुलाई मार्गचित्र स्पष्ट हुन्छ ।’

उहाँले हरित क्रान्ति कार्यक्रम लागू गर्नसके कृषि उत्पादनमा वृद्धि गर्न सकिने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?