टोलटोलमा मिल : लोप भए ढिकी, जाँतो, घट्ट र कोल

हराउँदै एकापसको सौहार्दता, सामुहिकता र आत्मियता

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । विद्युत सेवा विस्तार भएसंगै गाउँका टोलटोलमा समेत मिल राख्न थालिएपछि कुटानी पिसानीका रैथाने प्रविधि ढिकी,जाँतो,घट्ट र कोलहरु म्याग्दीका ग्रामीण भेगबाट लोप हुने अवस्थामा पुगेका छन् ।

जिल्लाका प्रायःसबै गाउँमा बिद्युत सुबिधा पुगेको र गाउँमा नै कुटानी पिसानी मिलहरु संचालन हुन थालेपछि ग्रामिण जीवनको पहिचान बोकेका रैथाने प्रविधिबाट निर्माण गरिने कुटानी पिसानीका परम्परागत साधनहरु लोप हुने अवस्थामा पुगेका हुन् ।

आधुनिक प्रविधिका साधनहरु प्रयोग गर्न सजिलो हुनु, समयको वचतका साथै मानिसहरुमा बढ्दै गएको सुविधाभोगी प्रवृतिका कारण ग्रामीण जीवनको सौन्दर्यका रुपमा चिनिएका ढिकी, जाँतो लगाएतका रैथाने प्रविधिहरु हराउँदै जान थालेका गाउँका बृद्धबृृद्धाहरु बताउँछन् ।

घण्टौं लगाएर ढिकी जाँतो चलाएर कुट्ने, पिस्ने गर्नुभन्दा सस्तो दरमै मिलमा लगेर छोटो समयमा नै धेरै अन्न सजिलैसँग कुट्न, पिस्न सकिने भएकाले गाउँ घरबाट समेत परम्परागत कुटानी पिसानीका साधनहरु लोप हुँदै गएकाे बेनी नगरपालिका २ बगरफाँटका ८५ वर्षिय बेदप्रसाद उपाध्यायले बताउनुभयो ।

उहाँले भन्नुभयो, “धान, गहुँ, कोदो र पिठोका लागि ढिकी जाँतो प्रयोग हुने गर्थ्याे । तर अत्याधुनिक प्रविधिले परम्परागत ढिकी जाँतो प्रयोग गर्ने चलन हराइसक्यो ।” उपाध्यायले भन्नुभयो “ढिकी जाँतोको के कुरा गर्ने, अहिले त गाउँका समूहगत मिलसमेत बन्द हुने अवस्थामा पुगीसके, अनुदान पनि पाइने साथै थोरै लगानीमा पनि घर मै एक्लैले राख्न मिल्ने भएकाले घर मै मिल राख्न थालिएको छ ।”

जिल्लाका ग्रामिण क्षेत्रका पुराना केही घरमा ढिकी,जाँतो देखिए पनि ती प्रयोगमा नआउँदा अलपत्र अवस्थामा पुगेका छन् । बगरफाँटकी ७४ वर्षिया यामकुमारी शर्माले जान्ने भएदेखि ५५/६० वर्षको उमेरसम्म ढिकी जाँतोबाट नै कुटानी पिसानी गरी अन्नको जोहो गर्ने गरेको अनुभव सुनाउनुभयो ।

“अहिले जस्तो त्यतिबेला टोलटोलमा र घरघरमा मिल र मिक्चर थिएनन्, धान कुट्न र गहुँ,कोदो,मकै लगाएतका अन्न पिस्न ढिकी जाँतोको नै प्रयोग गर्नुपर्दथ्यो । राति खाना खाएर घरका अरु मान्छे सुतेपछि बुहारीहरु ढिकी जाँतोमा अनि बिहान सखारै उठेर पनि ढिकी जाँतोमै, हाम्रो आधा जिन्दगी त ढिकी जाँतोमा नै बितेको हो ।”

बिगतमा गाउँका मानिसहरु वर्खायामको शुरुवात भन्दा अगाडि निकै फुर्सदिला हुन्थे र एकै ठाउँमा भेला भएर पालैपालो एउटै ढिकी जाँतोमा अन्न कुट्ने पिस्ने गर्दथे, तर त्यो पनि अहिले किवंदन्ती जस्तै बन्दै गएको ज्यामरुककोटकी देवकुमारी थापाले बताउनुभयो ।

बगरफाँटमा कुटानी पिसानीको मिल संचालन गर्दै आउनु भएका बगरफाँट कार्की राइस मिलका संचालक हरि कार्कीले ढिकी जाँतो होइन गाउँ गाउँमा मिल संचालनमा आएर अहिले त मिलमा कुटानी पिसानी गराउन आउनेको संख्या समेत घटेको बताउनुहुन्छ ।

“आधुनिक कुटानी पिसानी मिलले समय र श्रमको बचत हुने भएपछि पुराना ढिकी जाँतो पनि हराउँदै गए । मिल आएपछि समय र श्रम दुवैको बचत भएको छ” रोहोटेकी गृहिणी सबिता घिमिरेले भन्नुभयो ।

अत्याधुनिक प्रविधिका मिलहरु गाउँगाउँमा खुल्नु र अहिले गाउँघरमा ढिकी जाँतो गर्ने मनिसहरु पनि नहुने भएकाले ढिकीजाँतो जस्ता परम्परागत शैली र पहिचानका सामाग्रीहरु लोप हुदै जान थालेका बूढापाकाहरुको भनाइ छ ।

उनीहरुका अनुसार ढिकी, जाँतो जस्ता परम्परागत रैथाने प्रवृतिका साधनहरुसंगै एकापसको सौहार्दता, सामुहिकता र आत्मियता पनि हराउँदै गयो । सुविधाभोगि प्रवृतिका कारण पुर्खाको सीप र साधन त हराए हराए,आपसी सम्वन्ध पनि टाढिन पुगेको उनीहरुको भनाइरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?