पाल्पामा निजी गाडीले यात्रु बोक्न थालेपछि प्रहरीले भन्यो : ‘अब हामी कारवाही गर्छौं’

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 5 mins

पाल्पा । पाल्पामा रातो नम्बर प्लेट (निजी सवारी) ले यात्रु बोकेर चर्को भाडा असुल्ने गरेका छन् । निजी गाडी यात्रु ओसारपोसारमा प्रयोग गरेर चर्को भाडाँ असुल्ने गरेको पाइएको छ । निजी गाडीले यात्रु ओसारेको पाइएपछि जिल्ला प्रहरी कार्यालयले भने कारवाहीका आवश्यक कदम अगाडि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एवं प्रहरी उपरीक्षक हेरम्व शर्माले यात्रु तथा मालसमान बोक्ने रातो प्लेटका सवारी साधनहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउने बताउनुु भएको छ । ‘रातो प्लेट भनेको व्यक्तिगत प्रयोगको लागि मात्र हो, रातो प्लेटले नत यात्रुहरु बोक्न पाउँछ, नत रिजर्वमा हिड्न पाउछ, नत माल समान बोक्न पाउछ, यी अवस्थामा भेटिएका रातो प्लेटका सवारी साधनहरुलाई कडा कारवाही गर्छौं’ उहाँले भन्नुुभयो ।

रातो प्लेटका सवारी साधनको निगरानी गर्न ठाउँ–ठाउँमा रहेका प्रहरी चौकी तथा ट्राफिक प्रहरीलाई रातो प्लेटका सवारी साधनहरुको कडा निगरानी गरी चेकजाँच गर्न निर्देशन दिएको प्रहरी प्रमुख शर्माले बताउनुुभयो । ‘पाल्पाका ८० भन्दा बढी रातो प्लेटका सवारी साधनहरुले नियमित रुपमा सार्वजनिक यातायातले झै यात्रु बोक्ने, रिजर्वमा हिड्ने र मालसमान बोक्ने काम गर्दै आएका छन् । हामीले सबै प्रहरी चौकीहरुमा नियमित रुपमा यात्रुहरु बोक्दै आएका ति सवारी साधनहरुको नम्वर तथा चालकसहित विवरण उपलब्ध गराएका छाै‌,सोही अनुसार कानुन विपरित अवस्थामा भएका रातो प्लेटका सवारी साधनहरुलाई कारवाही गरिने छ’ उहाँले भन्नुुभयो ।

। जिल्लामा ८० भन्दा बढी निजि गाडीहरुले यात्रु ओसारपोसार गर्ने गरेका छन् । कालो नम्बर प्लेट (सार्वजनिक गाडी) बनाएर मात्र यात्रु ओसार्नुपर्ने नियम रहेको छ । तर यहाँ निजी गाडीहरुले चर्को मूल्य असुलेर यात्रुहरु ओसार्ने गरेका छन् । एउटा जिपमा २० जनादेखी ३० जनासम्म कोचेर यात्रुहरुबाट कम्तिमा ३ सयदेखी ५ सयसम्म पैसा लिने गरेको छन् । निजी सवारी साधनहरुले मनपरी यात्रु बोक्ने र पैसा असुल्ने गरेको जनगुनासो आएपछि प्रहरीले कारवाहीको कदम थालेको छ ।

वर्षातको बेला सडकको अवस्था नाजुक हुँदा पनि जोखीम मोलेर पैसा असुल्न निजी सवारी साधनहरु गाउँगाउँसम्म यात्रु ओसारपोसार गर्ने गरेका छन् । निजी प्रयोजनका लागि किनेका जिपहरु यात्रु बहाक सवारीका रुपमा प्रयोग हुँदा ट्राफिक प्रहरीका लागि चुनौती थपिएको छ । निजी सवारीहरु नियन्त्रणमा लिएर कागज बनाएर जरिवाना गर्दा पनि अटेरी गरेको स्थानीयहरु बताउँछन् ।

जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय पाल्पालाई श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि.का सवारीधनी चालक, सहचालकहरुले समेत कानुन विपरित सञ्चालन भएका रातो प्लेटका सवारी साधन तत्काल बन्द गर्न माग गरेका छन् । रातो प्लेटका सवारी साधनहरुले अत्याधिक मात्रामा यात्रुहरु बोक्दा आफुहरुको व्यवसाय नै धरापमा परेको बताएका छन् । रातो प्लेटका सवारी साधनले यात्रु बोक्ने कार्य नरोकिए आफुहरु प्रहरी प्रशासनमा सवारी साधन खडा गरी चावी बुझाउनु पर्ने अवस्था आएको प्रा.लि.का अध्यक्ष डिल बहादुर ढुङ्गानाले बताउनुुभयो ।

उहाँले भन्नुुभयो ‘हामीले नेपाल सरकारले तोकेकै दर भाउँमा यातायात सञ्चालन गरेका छौ, सरकारलाई विभिन्न किसिमका करहरु तिरेका छौं, हामीले लाखौ व्यक्तिलाई रोजगारी दिएका छौ ।’ यस्तो अवस्था रोकिएन भने निजी क्षेत्रबाट सार्वजनिक यातायात सञ्चालन गर्न नसकिने अध्यक्ष ढुङ्गानाले प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला र पाल्पा प्रहरी प्रमुख हेरम्व शर्मा समक्ष बताउनुुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?