पानीको रङ परिवर्तन हुने म्याग्दीको अनौठो ‘गाइँखर्क ताल’ अनुसन्धानको पखाईमा

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । शिरानमा दाङ खोला । थाप्ले पहाडको काखमा छ अलिकति समथर मैदान । अलि वल्थिर हाडिस खोला । वरीपरी रुखैरुख । बीचमा छ देख्दै आश्चर्य लाग्ने रातो (रगत जस्तो) रङको पानी भएको अनौठो गाइखर्क ताल ।

सामान्यतया रंगविहीन हुन्छ पानी । पानी जमेर बनेका अधिकाँश तालहरुमा त्यहाँको पानी निलो देखिन्छ । तर, पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ५ देविस्थानमा रहेको गाईखर्क तालको पानी भने रगत जस्तो रातो रङको छ ।

गाईखर्क ताल पहिलो पटक देख्नेहरुका लागि डरलाग्दो नै देखिन्छ । जो कोहिलाई झ्ट्ट विश्वास गर्न कठिन हुन्छ तर यो सत्य हो । कतै पानीको मुहान देखिदैन, जंगलको विचमा अवस्थित जति खडेरी परे पनि पानी नसुक्ने अनौठो विषेशता भएको प्राकृतिक ताल हो । यो ताललाई म्याग्दीको रहस्यमय र अनौठो ताल भनेर चिनिन्छ ।

मालिका गाउँपालिका वडा नं ५ देविस्थानका वडा अध्यक्ष मिम पुनले हावा–हुरीले तालमा झारेका पात चराचुरुङ्गीले टिपेर लैजाने र कहिल्यै पानी फोहोर नहुने यसको विशेषता भएको वताउनुभयो ।

उहाँका अनुसार यस तालको सबैभन्दा ठूलो विशेषता वर्षामा निलो र हिँउदमा यसको पानी पूर्ण रूपमा रगत जस्तै रातो रङ्गको हुन्छ । एल्गी र ब्याक्टोरीयको कारण हिउँदमा तालको पानी रातो हुने अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो ।

युनिभर्सिटी अफ स्टटगार्टका एक अन्वेषकका अनुसार उच्च लवणताले एल्गीलाई सुरक्षात्मक क्यारोटिनोइड्सको कारणले पानीलाई रातो बनाउने गर्दछ । सोही कारण यो तालको पानी रातो भएको हुनसक्ने वडाअध्यक्ष पुनले बताउनुभयो ।

यो ताल समुन्द्रि सतहदेखि करिब २४ सय मिटरको उचाइमा अवस्थित छ । दाङखोलाको सिरान थाप्ले पहाडको कोखमा ताल रहेको छ । ४६/४६ मिटर लम्बाइ, चौडाइ तथा ३ मिटर गहिराइ भएको तालको २०७४/७५ मा लम्बाइ चौडाइ बढाएर ५५/५५ मिटरको बनाइएको वडाअध्यक्ष पुनले जानकारी दिनुभयो । मालिका गाउँपालिकाको रु ५ लाख आर्थिक सहयोग र स्थानीयको सक्रियतामा तालको छेउमा मन्दिर र गेट निर्माण गरिएको छ । हाडिस खोलादेखि तालसम्म सडक बनाएको छ । चालु आर्थिक वर्षमा ताललाई व्यवस्थित गरी पूर्वाधार निर्माणका लागि रु ७ लाख बजेट विनियोजन गरिएको अध्यक्ष पुनले जानकारी दिनुभयो ।

देविस्थानको घरीथोकदेखि ३० मिनेट उकालो पैदल हिडेपछि पुगिने गाईखर्क ताल प्रचारप्रसार र संरक्षण नहुँदा अझै पर्यटकको नजरमा परेको छैन ।
बाँध बनाएपछि क्षेत्रफलसँगै गहिराइ पनि बढेको छ । गोलो आकारको तालको पृष्ठभूमिमा धौलागिरि, गुर्जा लगायतका हिमालको दृष्य अवलोकन गर्न सकिन्छ ।यो ताल प्राकृतिक दृश्यले सुशोभित र मनोहर छ ।

यो तालको अर्को विशेषता भनेको वरीपरी वाख्लै रुख हुँदाहुँदै पनि रुखका पातहरु झरेर यो तालमा पर्दैनन् । “रुखबाट पात त झर्छन् तर हावाले तालमा पातलाई पर्नै दिंदैन” वडा सदस्य समेत रहनुभएका घनबहादुर फगामीले भन्नुभयो “स्थानीयहरुले दैवि शक्तिका कारण यस्तो भएको भनेर विश्वास गर्छन् र तालको छेउमा वराहा देवताको मन्दिर निर्माण गरी पूजाआजा गर्दै आइरहेका छन् ।”

मिलेको बनोट र प्रकृतिक एवं जैविक विविधता नै यसको अर्को आकर्षण हो । सेभेन ए साइड फुडसल तथा बनभोजको लागि पनि उपयुक्त गन्तव्य खर्कमा मनमोहक दृश्यले भरिएको यो ताल अहिले पर्यटकलाई लोभ्याउन पर्खिएर बसेको वडाअध्यक्ष पुनले बताउनुभयो ।
गाईखर्कतालमा धौलागिरि र गुर्जा हिमालको छायाँ (प्रतिविम्व) स्पष्ट रुपमा देख्न सकिन्छ । स्थानीय वासी एवम् शिक्षक डोल्पा शिउथानी मगरका अनुसार तालमा हिमाल पौडि खेलीरहेको जस्तो दृश्य यहाँ देख्न सकिन्छ ।

यहाँबाट प्राचिन पहाड, सेताम्य हिमालहरु, पहाडी बस्तीहरु स्पष्ट रुपमा देख्न सकिन्छ । तालतलैया, पोखरी, दह, मठमन्दिर, पाटिपौवा, चौतारा, साना साना छरिएर रहेका वस्तीहरुले जोकोहीको मन लोभ्याउँछ । यहाँ गाईखर्क ताल, खोरिया दह, ठुल दह, जंगले झरना, महखोला झरना, कोटखोला झरना, घराङखोल झरना, पाते छहरा , धुन्द्रुक गल्छी प्रभु गुफा र रहस्यमय देउताभिर गुफाले आन्तरिक तथा वाह्य पर्यटकहरुको ध्यान खिच्न सक्ने प्रशस्तै सम्भावनाहरु हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा यस्ता अमूल्य र आश्चर्य लाग्दा सम्पदाहरु ओझेलमा परेका वडाअध्यक्ष पुनले बताउनुभयो ।

यो तालको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सके यहाँ पर्यटकहरूको आगमन बलिया सम्भावनाहरु रहेका स्थानीयको भनाइरहेको छ यहाँ लुकेर रहेको सम्भावनालाई उजागर गरि पर्यटन विकास गर्न सक्ने हो भने ग्रामीण वस्तीको मुहार फेर्न सकिने वडा सचिव धर्मकान्त पौडेलले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?