११ औँ संस्करणको नेपाल-अफ्रिका फिल्म महोत्सव हुँदै

Read Time = 5 mins

काठमाडौं । नेपाल–अफ्रिका फिल्म फेस्टिबल–२०२३ को तयारी अन्तिम चरणमा पुगेको आयोजक पक्षले जनाएको छ । ११औँ संस्करणको यो फेस्टिबल आगामी १ देखि ३ असारसम्म हुने भएको छ । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा हुने यो महोत्सव कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसन प्रालिले आयोजना गर्न लागेको हो ।

महोत्सव अध्यक्ष तथा कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसनकी अध्यक्ष डा. मञ्जु मिश्रले महोत्सवबारे भन्नुभयो, ‘प्राकृतिक र सांस्कृतिकरूपमा धनी नेपाल र अफ्रिकन मुलुकका धेरै कुरा मिल्दाजुल्दा छन् । अफ्रिकालाई अब पश्चिमाहरूको नभएर अफ्रिकन लेन्सबाटै हेर्नुपर्छ भनेर हामीले विगत ११ वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएका छौँ ।’ नेपाल र अफ्रिकाको चलचित्र संस्कृतिका लागि आफूहरूले एक दशकअघिबाट नेपालमा नेपाल–अफ्रिका फिल्म फेस्टिबल आयोजना गर्दै आएको अध्यक्ष डा. मिश्रले बताउनुभयो ।

यो अन्तर्राष्ट्रिय फिल्म महोत्सवका लागि हालसम्म २० भन्दा बढी अफ्रिकी मुलुकका फिल्म प्राप्त भएको पनि उहाँले जानकारी गराउनुभयो । नेपालबाट यो महोत्सवमा फिल्म सहभागी हुनका लागि जेठको दोस्रो हप्तासम्म समय तोकिएको पनि उहाँले जनाउनुभयो ।

महोत्सवका लागि हाल प्राप्त अन्तर्राष्ट्रिय चलचित्रहरू निर्णायक समूहबाट हेर्ने काम भइरहेको अध्यक्ष डा. मिश्रले बताउनुभयो । यो महोत्सवका लागि विगतमा झैं यसपटक पनि बढीमा २५ वटा सिनेमा चयन गरिनेछ । नेपाली र अफ्रिकन फिल्म यो महोत्सवमा प्रदर्शन गरिनेछ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत अफ्रिकन मुलुकका तथा अफ्रिकामाथि बनेको अन्य मुलुकका सिनेमा चयन गरिनेछ । अन्य मुलुकबाट निर्माण गरिएका अफ्रिकन विषयवस्तुमा आधारित फिल्म पनि महोत्सवमा चयन भएका छन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री र निर्देशन विधामा प्रतिस्पर्धा हुनेछ ।

महोत्सव निर्देशक डब्बु क्षेत्रीका अनुसार यो महोत्सवमा विगतझैँ यसपटक पनि सांस्कृतिक झाँकी, नेपाल र अफ्रिकाको विषयमा अन्तरक्रिया, नेपालमा सर्ट फिल्म किन व्यावसायिक हुन सकेनन् लगायत विभिन्न विषयमा छलफल पनि गरिनेछ । महोत्सवमा कला प्रदर्शनी पनि गरिने भएको छ ।

यो महोत्सवमा चलचित्र, लघु चलचित्र, वृत्तचित्र, एनिमेसन चलचित्र, कार्टुन फिल्म सहभागी गराइनेछ । नेपाल खण्डअन्तर्गत खुला प्रतिस्पर्धा र विद्यार्थी सिनेमा प्रतिस्पर्धा गरी दुईवटा क्याटोगोरी रहेको पनि क्षेत्रीले बताउनुभयो । यस्तै, नेपाली खण्डअन्तर्गत खुला प्रतिस्पर्धामा उत्कृष्ट चलचित्र, लघु चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाँकार, सम्पादक, लेखकजस्ता विधामा प्रतिस्पर्धा हुनेछ । नेपाली सिनेमामै विद्यार्थी खण्डअन्तर्गत उत्कृष्ट स्टुडेन्ट सर्ट फिल्म र उत्कृष्ट स्टुडेन्ट डिरेक्टर अवार्डका लागि प्रतिस्पर्धा हुने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?