कलाकारिताबाट नाम र दाम दुवै कमाउन सकिन्छ : सनिषा भट्टराई

गीता अधिकारी
Read Time = 10 mins

सनिषा भट्टराई नेपाली कला क्षेत्रमा उम्दा कलाकारका रूपमा आउनुभएको छ । उहाँले एक दर्जनजति गीतका भिडियोमार्फत् आफ्नो कला प्रस्तुत गर्नुभएको छ । पोखराकी सनिषाले ‘सनसिल्क’को विज्ञापनमा पनि अभिनय गर्नुभएको छ । पोखराको जेमसी कलेजमा स्नातक तहमा छैटौँ सेमेस्टरमा ब्याचलर अफ इनफर्मेसन म्यानेजमेन्ट अध्ययनरत सनिषाको डेब्यु गीत ‘ए हो र माया’ रहेको थियो । हिमाल सागर र अनु चौधरीको स्वरमा रहेको यो गीतको भिडियोले करोड भ्युज पाइसकेको छ । पहिलो भिडियो नै सफल भएपछि उहाँ यो क्षेत्रमा व्यस्त हुँदै जानुभएको छ । आफ्नो एक वर्षको अनुभवमा इमानदारितापूर्वक लाग्ने हो भने कलाकारिताबाट नाम र दाम दुवै कमाउन सकिन्छ भन्नुहुने सनिषा भट्टराईसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अंश –

 यहाँ ब्याचलर अफ इनफर्मेसन म्यानेजमेन्टको विद्यार्थी, कसरी मोडलिङको क्षेत्रमा आउनुभयो ?

मेरो सानैदेखिको इच्छा थियो मोडल र कलाकार बन्ने । मेरो भित्री मनको इच्छा भएकाले अभिनेता विमल अधिकारीले आफ्नो गीतमा मोडलका रूपमा अफर गरेपछि म परिवारको सल्लाहले नै यता आएकी हुँ ।

भनेपछि परिवारको पूर्ण समर्थन पाउनुभएको छ ?

हजुर । बाबा–ममीको सल्लाहले नै म यो क्षेत्रमा आएकी हुँ । घर–परिवारको सहमति भएर नै ढुक्कले काम गर्ने मौका पाएँ । छोटो समयमा नै धेरै कामका अफरहरू आएकाले बाबा–ममी सबैजना खुसी हुनुहुन्छ ।

तपाईंचाहिँ कति खुसी हुनुहुन्छ नि ?

मेरो त खुसीको सिमाना नै छैन । अभिनय नपढेको, नसिकेको मान्छेको पहिलो गीत ‘ए हो र माया’ले दिलाएको सफलताको म शब्दमा नै वर्णन गर्न सक्दिनँ । विमल अधिकारी, हिमाल सागर, अनु चौधरीको टिममा काम गर्न पाउनु मेरो सौभाग्य नै हो भन्नुपर्छ । मलाई आजको यो दिनसम्म ल्याएर यसरी सबैमाझ चिनाउने श्रेय म विमल सरलाई दिन चाहन्छु । एक वर्ष पनि भएको छैन म यो क्षेत्रमा आएको तर ‘ए हो र माया’मा काम गरेपछि कैयौँ गीतहरूबाट अफरहरू आएका छन् । मैले सबैलाई सम्मानपूर्वक समय मिलाएर काम गर्छु भनेकी छु । हिजोभन्दा आज व्यस्त बनिरहँदा निकै खुसी लागेको छ । कहिलेकाहीँ त सपनामा पनि अभिनय गरेको देख्न थालेकी छु ।

ए हो र मायापछिको तपाईको मोडलिङ यात्रा कसरी अघि बढिरहेको छ ?

पहिलो गीत ‘ए हो र माया’बाट नै राम्रो सफलता पाएपछि अर्को गीतमा काम गर्नु मेरा लागि निकै चुनौती थियो । त्यहीबीचमा कैयौँ गीतहरूबाट अफर आए । तर, मैले ‘ए हो र माया’पछि डेढ महिना काम गरिनँ र पछि ‘साइँली’मा काम गरें । यो गत वर्षको पुस महिनाको कुरा हो । वसन्त विश्वकर्माको संगीत र स्वरमा रहेको यो गीतमा मैले वसन्त विश्वकर्माकै जोडी भएर अभिनय गरेकी छु । यो मेरो पहिलो लोकदोहोरी गीतको भिडियो हो । दोस्रो गीतको भिडियो छायांकनको समय म बिर्सिन सक्दिनँ । गत वर्षको पुस महिना थियो । त्यो समयमा म पिरियड भएका बेला परेका कारण निकै तनावमा काम सकियो । जुन कुलेखानीमा छायांकन भएको थियो । चिसोमा मिन्स भएका कारण मेरा दुई दिन निकै कष्टकर तरिकाले बिते । बाथरुम र सामान्य ट्वाइलेटसमेत सुटिङस्थलमा नभेटिँदाका ती दिन अझै पनि सम्झिरहेकी छु । काठमाडौं नजिकैको पर्यटकीयस्थलमा त यस्तो दुर्दशा छ भने दूरदराजका गाउँमा के होला भन्ने लागिरहन्छ । ‘साइँली’ले पनि राम्रो चर्चा पायो । त्यसपछि  तेस्रो गीत ‘ठिटो झापाको’मा गायक आशिष सचिनसँग काम गरें ।  त्यसपछि अभिनेता पल शाहसँग सहकार्य गर्ने मौका पाएँ ‘तिम्लाई हेर्ने बानी  पर्यो’ फिमेल भर्सनमा । पलजी मलाई निकै मिलनसार र सहयोगी लाग्यो । पलजीसँग सहकार्य गरेको ‘तिम्लाई हेर्ने बानी  पर्यो’ हालैमात्र रिलिज भएको छ । उहाँसँगै सहकार्य गरेको अर्को प्रोजेक्ट रिलिजको तयारीमा छ भने अहिलेसम्म करिब एक दर्जन भिडियोमा काम गरिसकेकी छु ।

पल शाहसँग कसरी भेट भयो ?

गायक आशिष सचिनसँग ठिटो झापाकोमा काम गरेसँगै पलजीको टिमबाट कुरा आयो । मेरा अघिल्ला चारवटा गीतहरूको सफलतासँगै पलजीले नै अफर गरेपछि मैले ‘तिम्लाई हेर्ने बानी पर्यो’मा काम गर्ने मौका पाएँ । जुन गीत अहिले चर्चामा पनि छ । एक हप्ता लगाएर छायांकन गरिएको गीतलाई दर्शकले निकै माया दिइरहनुभएको छ । पलजीसँग अन्य केही गीतमा फेरि सहकार्य गर्ने कुरा भइरहेको छ ।

चलचित्रबाट पनि अफर आएका छन् ?

हजुर, आएका छन् । चलचित्रबाट अफरहरू आउन थालेपछि मैले अभिनय र अन्य प्रशिक्षण पनि लिइरहेकी छु । कला क्षेत्रमा परिवारको पनि पूर्णसाथ भएकाले यसलाई करिअरकै रूपमा अघि बढाउने योजनामा छु । मैले छिट्टै नै काम सुरु गर्न लागेको चलचित्रको टिम राम्रो भएकाले उहाँहरूलाई नाइँ भन्न सकिनँ । नयाँ चलचित्रका लागि स्कृप्ट अध्ययन गरिरहेकी छु । यस विषयमा केही दिनमा नै हजुरलाई खुसीको खबर सुनाउँछु है ।

तपाईं काठमाडौंभन्दा बढी पोखरा बस्नुहुन्छ हो ?

मेरो घर नै पोखरा हो । काठमाडौंको सितापाइलामा मामाघर छ । भिडियो र एडहरूको काम आएको बेलामा मात्रै म काठमाडौं आउने गरेकी छु । अहिले पोखरामा नै पढाइ अघि बढिरहेका कारण बेला–बेलामा मात्रै म काठमाडौं आउने गरेकी छु ।

पहिलो कमाइ के गर्नुभयो ?

मेरो पहिलो कमाइ सनसिल्कबाट जितेको एक लाख रुपैयाँ थियो । त्यो सबै पैसा मैले परिवारलाई दिएँ । मेरो पहिलो कमाइ समात्दै बाबा–ममी दुवै खुसी हुनुभयो ।

तपाईंलाई सबैभन्दा मनपर्ने अभिनेता

विपिन कार्कीको अभिनय राम्रो लाग्छ । उहाँबाट म निकै प्रभावित छु । उहाँसँग काम गर्ने इच्छा छ ।

तपाईंलाई सबैभन्दा मनपर्ने अभिनेत्री को हो र किन ?

नायिका सुरक्षा पन्तको निडर शैली र अभिनय निकै राम्रो लाग्छ । उहाँ इञ्जिनियर भएर पनि कलाकारितामा जमेका कारण पनि मलाई यो क्षेत्रमा लाग्ने प्रेरणा मिलेको हो ।

विवादमा नमुछिन के गर्नुपर्छ ?

सबै कुराको अध्ययन चाहिन्छ । विचार गरेर बोल्ने र कम बोल्ने बानी भयो भने त्यति विवादमा परिँदैन कि भन्ने लाग्छ ।

टिकटक कति चलाउनुहुन्छ ?

टिकटक चलाउन थाल्यो भने समय गएको पत्तै हुँदैन । आफूले अभिनय गरेका गीतको धेरै टिकटक बनाउँछु । अरू साथीहरूले पनि बनाइदिन आग्रह गरे भने नाइँ भन्न सक्दिनँ ।

करिब एक वर्षको अनुभवले कलाकारिता क्षेत्रलाई कसरी परिभाषित गर्नुहुन्छ ?

यो क्षेत्रमा अवसर र चुनौती दुवै छन् । म सुरुमा यसरी पूरै डुबेरै लाग्छु भनेर आएकी थिइनँ । ब्याक टु ब्याक कामहरू आइरहँदा अहिले काममा नै व्यस्त छु । भिडियोसँगै फिल्मको पनि अफर आएपछि अहिले अभिनयका क्लासहरू लिइरहेकी छु । आफू अनुशासित र मर्यादित भएर लागे कलाकारिताबाट नाम र दाम दुवै कमाउन सकिन्छ जस्तो लाग्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?