पिएसजीको जितमा एम्बाप्पेका दुई गोल

Read Time = 3 mins

पेरिस । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा एसी एजासियोलाई पाँच-शून्यको फराकिलो जित दर्ता गर्दा स्टार फरवार्ड केलियन एमबाप्पेले दुई गोल गर्नुभएको छ । उहाँसँगै पिएसजीका फावियन रुइज र अचरफ हाकिनीले समान एक-एक गोल गर्नुभयो । यस्तै, पिएसजीले एक गोल उपहार पाएको थियो । खेलको २२औँ मिनेटमा फावियन रुइजको गोलबाट पिएसजीले सुरुवाती अग्रता लियो । ३३औँ मिनेटमा अचरफ हाकिमीले दोस्रो गोल गर्नुभयो । ४७औँ मिनेटमा एमबाप्पेले तेस्रो तथा ५४औँ मिनेटमा उहाँले चौथो गोल गर्नुभयो ।

७३औँ मिनेटमा मोहम्मद युसोउफले आत्मघाती गोल गरेपछि पिएसजी पाँच-शून्यले विजयी बन्यो । ८०औँ मिनेटमा एजारियोका थोमस मनगानी पनि सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दुवै टोलीले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेका थिए ।

यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३५ खेलबाट ८१ अंक पुगेको छ । पिएसजी दोस्रो स्थानको लेन्सभन्दा ६ अंकले अघि छ । लेन्सको ७५ अंक छ । पराजित एजासियो २३ अंक जोडेर १८औँ स्थानमा छ ।
स्पेनिस ला लिगामा रियल म्याड्रिडले कठिन जित निकालेको छ । रियलले घरेलु मैदानमा गेटाफेमाथि एक-शून्यको झिनो जित दर्ता गरेको हो ।

घरेलु मैदानमा रियलको जितमा दोस्रो हाफमा मार्काे एसेन्सियोले गरेको गोल नै निर्णायक बन्यो । सान्टियागो बर्नबेउमा शनिबार राती भएको खेलको सुरुवातदेखि नै घरेलु टोलीले पाहुना टोलीमाथि बल पोसेसन राख्दै लगातार दबाब बढाए पनि गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो ।

पटक-पटकको आक्रमण विफल भएको रियललाई अन्ततः मार्काे एसेन्सियोले गोल गर्दै टोलीलाई एक-शून्यको अग्रता दिलाउनुभयो । उहाँ लुकास भास्क्वेजको पासमा गोल गर्न सफल हुनुभएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा रियल विजयी हुन सफल भयो ।

यस जितसँगै दोस्रो स्थानमा उक्लिएको रियलको ३४ खेलबाट ७१ अंक पुगेको छ । रियल एक खेल कम खेलेको शीर्षस्थानको बार्सिलोनाभन्दा ११ अंकले पछि रहँदा तेस्रो स्थानको एट्लेटिको म्याड्रिडभन्दा दुई अंकले अघि छ । दुवै टोलीले एक खेल कम खेलेका छन् । पराजित गेटाफे ३४ अंक जोडेर १८औँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?