जलवायु परिवर्तनलाई बेवास्ता गरे सकारात्मक विकास असम्भव: उपप्रमुख डङ्गोल

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले जलवायु परिवर्तनलाई बेवास्ता गरिए विकासका लागि भएका प्रयासको सकारात्मक नतिजा नआउने बताउनुभएको छ । जनप्रतिनिधि, कर्मचारी, नगरवासीसहित जलवायु परिवर्तनका क्षेत्रमा अध्ययन गर्ने अनुसन्धानकर्ता र साझेदारकाबीच आजबाट सुरु गरिएको दुई दिने सचेतना तथा अभिमुखीकरण कार्यक्रममा उपप्रमुख डङ्गोलले सो धारणा राख्नुभएको हो ।

जलवायु परिवर्तन विश्वव्यापी समस्या हो । यसको कारणमा नेपालको योगदान छैन तर असर भोगिरहेको छ । “बाढीपहिरो, खडेरी, अतिवृष्टि, अनावृष्टि, अति जाडो र गर्मी प्राकृतिक रुपमा बढिरहेका जोखिमले आर्थिक, सामाजिक, जैविक विविधता, पर्यटनलगायत क्षेत्रमा असर गरेको छ । यसबाट परेका असर तथा जोखिम कम गराउन, बदलिँदो मौसम अनुकूलन अघि बढ्न आवश्यक छ”, उपप्रमुख डङ्गोलले भन्नुभयो ।

कार्यक्रममा कामपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले अनुकूलन र न्यूनीकरणका लागि काम गर्नु अहिले सबैको मुख्य जिम्मेवारी हो भन्नुभयो । काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बनाउन धेरै पक्षका बीचमा सन्तुलन कायम गराउनुपर्ने भन्दै कामपाका प्रवक्ता नवीन मानन्धरले सन्तुलन विगार्नेमध्ये सबैभन्दा महत्वपूर्ण पक्ष जलवायु परिवर्तन रहेको र यसका असर कम गराउनु अहिलेको प्रमुख दायित्व रहेको बताउनुभयो ।

दुई दिने कार्यक्रममा कामपाका ३२ मध्ये हरेक वडाबाट दुई वडा सदस्यसहित अन्य जनप्रतिनिधि, कर्मचारी र साझेदार संस्थाका प्रतिनिधि सहभागी रहनुभएको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?