आरआर क्याम्पसमा अध्ययनरत पाँच सय बढी विद्यार्थीको आन्तरिक प्राप्तांकमा अनुपस्थितबारे छानविनको माग

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले आरआर क्याम्पसमा अध्ययनरत पाँच सय भन्दा बढि विद्यार्थीहरुको बिए प्रथम वर्षको नतिजामा अनुपस्थित देखाइएको भन्दै आपत्ति जनाउनु भएको छ ।

सो क्याम्पसका ५ सय भन्दा बढि विद्यार्थीहरुको परीक्षाको नतिजामा आन्तरिकतर्फको प्राप्तांकमा अनुपस्थित देखाएर विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गर्न खोजिएको भन्दै सम्बन्धित निकायसँग छानविन गरी दोषिमाथि कडा कारबाही गर्न पनि उहाँले सरकारसँग माग गर्नु भयो ।

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद सापकोटाले ढिलो परीक्षा लिने, ढिलो नतिजा निकाल्ने अनि नतिजामा पनि अनुपस्थित देखाउने काम त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र आरआर क्याम्पस कसले गरेको हाहे ? छानविन गरी सत्यतथ्य तत्काल बाहिर ल्याउन पनि सरकारलाई सचेत गराउनु भयो । सांसद सापकोटाले भन्नु भयो, ‘आज ५९ औं राष्ट्रिय दिवस, विद्यार्थीहरुले सुखद खवर सुन्नुपर्ने तर आज त्रिभुवन विश्वविद्यालय र आरआर कलेजको लापरबाहीका कारण झण्डै ५ सय विद्यार्थीहरुको भविष्यमै प्रश्न चिन्ह खडा हुने गरी एउटा घटना अगाडि आयो । जुन सार्वजनिक मिडियाहरुमा सनसनीपूर्ण ढंगले आएको छ । आरआर कलेजले भन्छ–टियूको परीक्षा नियन्त्रण कार्यालयको गल्ती भयो । टियूको परीक्षा नियन्त्रण कार्यालय भन्छ–आरआर कलेजको कमजोरी भयो । एकले अर्कालाई दोषारोपण गर्ने र ५ सय भन्दा बढि विद्यार्थीहरुको जीवनमाथि खेलबाड हुने कार्य भईराखेको छ । २ वर्ष अघि हुनुपर्ने परीक्षा ढिलो गरेर २ वर्ष पछाडि भयो । एक वर्ष लगाएर बल्ल परीक्षाको नतिजा सार्वजनिक भयो । त्यो पनि ५ सय विद्यार्थीहरुको नतिजामा अनुपस्थित देखियो । र, के सम्म आएको छ भने आन्तरिक रुपमा विषय शिक्षकले दिएको अंकमा समेत फेरबदल गरियो भन्नेजस्ता आरोपहरुसमेत लागेर समाचार प्रकाशित भएका छन । यसबीचमा ती विद्यार्थीहरुले छात्रवृत्तिलगायतका अरु पाउने सुविधाबाट बञ्चित रहन सक्ने खतरा पनि उत्पन्न भएको छ । त्यसैले म सम्माननीय सभामुखमार्फत सरकार र सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउँदै यो घटनाको गम्भिर रुपमा छानविन गर्दै दोषीउपर गम्भिर कारबाहीको माग राख्न चाहन्छु । ’

सांसद सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई कारबाहीको दायरामा ल्याउने काममा केन्द्रित हुन पनि सम्बन्धित सबै निकायलाई अपिल गर्नु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?