भ्रष्टाचारविरुद्ध सडक आन्दोलन भन्दा संसद आन्दोलन गरौं : ज्ञानेन्द्र शाही

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही भ्रष्टाचारविरुद्धको सडक आन्दोलनको विपक्षमा उभिनु भएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले भ्रष्टाचार नियन्त्रण गर्नका लागि सडक आन्दोलन भन्दा संसदमा आन्दोलन गर्नुपर्ने बताउनु भएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही जेठ ४ गते भ्रष्टाचारविरुद्ध काठमाडौंमा आमसभा गर्दैछ । प्रमुख सचेतक शाहीले भने भ्रष्टाचारलाई न्यूनिकरण गर्न, भ्रष्टाचार गर्नेहरुको तीनपुस्ते सम्पत्ति हरण गरी आजीवन कारबास भोग्ने कानुन यही संसदबाट बन्ने हुनाले संसद आन्दोलन गर्न उपयुक्त हुने तर्क गर्नु भयो ।

उहाँले भ्रष्टाचारविरुद्ध लड्नका लागि पार्टी पंक्ति, दल र सिद्वान्त भन्दामाथि उठेर कानुन बनाउने काममा एकजुट हुन पनि सबै राजनीतिक दलहरुलाई आग्रह गर्नु भयो ।

प्रमुख सचेतक शाहीले भन्नु भयो, ‘तपाईहरु साँच्चै भ्रष्टाचारको विरुद्धमा लड्ने हो भने पार्टी पंक्ति, दल, सिद्धान्त भन्दामाथि उठेर कानुन बनाउन तयार हुनुहुन्छ ? हुनुहुन्छ भने ल म आज हेर्न चाहन्छु–हात खडा गर्नुस ल । ल गर्नुस् खडा । हुनुहुन्छ कोही ? त्यही भएको हुनाले मैले अहिले पनि भन्न चाहन्छु–यसो नगरौं । कृपया, तिमी हेरेजस्तो गर्नू, म देखेजस्तो गर्छु । तिमी खेदेजस्तो गर्नु, म दौडेजस्तो गर्छु । यस्तो प्रवृत्तिले भ्रष्टाचारलाई नियन्त्रण गर्दैन । भ्रष्टाचारलाई न्यूनिकरण गर्ने, भ्रष्टाचार गर्नेहरुलाई तीनपुस्ते सम्पत्ति हरण गर्ने, आजीवन कारवास भोग्ने कानुन यही सदनबाट आजका दिनबाट पार्टी पंक्ति, सिद्धान्त नभनेर लागू गरौं । हामीलाई कानुन बनाएर कारबाही गर्न कसले रोक्छ ? कसैले रोक्दैन । त्यही भएर सडक आन्दोलन भन्दा संसद आन्दोलन गरौं । संसदमा एकजुट भएर अगाडि बढौं । म यही भन्न चाहन्छु ।’

प्रमुख सचेतक शाहीले त्यस अवसरमा भ्रष्टाचार नियन्त्रण गर्नका लागि तयार हुने सांसदहरुले हात उठाउन पनि आग्रह गर्नु भएको थियो । उहाँले ‘तिमी हेरेजस्तो गर्नू, म देखेजस्तो गर्छु । तिमी खेदेजस्तो गर्नु, म दौडेजस्तो गर्छु’ भन्ने खालको प्रवृत्तिले भ्रष्टाचारलाई नियन्त्रण गर्न नसकिने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?