खुमलटारमाथि मच्छिन्द्रको सहज जित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । साबिक विजेता मच्छिन्द्र क्लबले एफसी खुमलटारमाथि सहज जित हात पारेको छ । काठमाडौंमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्रले खुमलटारलाई ३-० गोलअन्तरले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा मच्छिन्द्रको जितमा ओलावाले ओलाडिपो अफिजले दुई तथा आन्द्रेस नियाले एक गोल गर्नुभयो ।

खेलको ४२औँ मिनेटमा आन्द्रेस नियाले गोल गर्दै मच्छिन्द्रलाई पहिलो हाफमा १-० को अग्रता दिलाउनुभयो । ७७औँ मिनेटमा ओलावाले अफिजले मच्छिन्द्रका लागि दोस्रो गोल गर्नुभयो । ८३औँ मिनेटमा ओलावालेले नै टोलीका लागि तेस्रो गोल गर्नुभयो ।

यस जितसँगै तेस्रो स्थानमा रहेको मच्छिन्द्रको १८ खेलबाट ३० अंक पुगेको छ । समान ३० अंक नै रहे पनि एक खेल कम खेलेको चर्च ब्वाइज युनाइटेड हेड टु हेडमा अघि छ । पराजित खुमलटार १८ खेलबाट १७ अंक जोडेर पुछारमा छ । यस्तै, शहीद स्मारक ‘ए’ डिभिजन लिगमै भएको अर्को खेलमा हिमालयन शेर्पा क्लब र संकटाले १-१ को बराबरी खेलेका छन् । दशरथ रंगशालामा हिमालयन शेर्पाले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।

५०औँ मिनेटमा शेर्पाका लागि अबायोमी फाकुन्लेको हेडर पासमा म्यानुएल नानाले गोल गर्नुभयो । ७२औँ मिनेटमा संकटाले पेनाल्टीको अवसर पायो । ६ यार्ड बक्स नजिक सुशील राईले आयुष घलानलाई लडाएपछि रेफ्री विश्वास कार्कीले पेनाल्टी दिनुभयो । उक्त पेनाल्टीमा आयुषले गोल गर्दै संकटालाई बराबरीमा ल्याउनुभयो । त्यसपछि खेलमा थप गोल हुन सकेन । यस बराबरीले शेर्पा २२ अंकसाथ नवौँ स्थानमा पुग्दा संकटा २१ अंकसाथ ११औँ स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?