जग्गा व्यवस्थापन हुन नसक्दा ट्रमा अन्योलमा

Read Time = 8 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा लामो समयदेखि ट्रमा सेन्टर निर्माण हुने चर्चा भए पनि जग्गा व्यवस्थापन हुन नसकेका कारण टेण्डर हुन सकेको छैन । जग्गाको टुंगो लगाउन नगरप्रमुख शम्भुलाल श्रेष्ठसहितको टोली अहिले काठमाडौंमा छ । शहरी विकास कार्यालय चितवनले ट्रमा सेन्टर निर्माणका लागि टेण्डर प्रकाशन गर्न जग्गाको टुंगो लगाउन भनी गत भदौमा पत्राचार गरे पनि हालसम्म टुंगो लाग्न सकेको छैन ।

शहरी विकासको पत्रसँगै बर्दघाट नगरपालिकाको कार्यपालिका बैठकले चिसापानीकै जग्गामा भवन बनाउने निर्णय गरेको थियो । आवास कम्पनीबाट जग्गा प्राप्तिका लागि विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले त्यति सहज थिएन । नगरपालिकाले फेरि कार्यपालिका बैठकमार्फत् पञ्चनगरमा रहेको वडा ९ को वडा कार्यालय रहेको जग्गामा बनाउने निर्णय गरेको थियो । पञ्चनगरमा बनाउने निर्णयसँगै नगरपालिकाले सर्वदलीय बैठक बोलाएर सबैसँग राय सुझावसमेत लिने काम गरेको थियो । दलका प्रतिनिधिले नगरपालिकाको निर्णयमा सहमति जनाएका थिए । नगर कार्यपालिकाले चिसापानी र पञ्चनगर दुवै ठाउँका लागि निर्णय गरेको देखिन्छ ।

पछिल्लोपटक आर्थिक वर्ष सकिनै लाग्दा चिसापानीमै बनाउन जग्गा प्राप्तिका लागि नगर कार्यपालिकाबाट राष्ट्रिय आवास कम्पनीसँग जग्गा भाडामा लिने निर्णय गरिएको छ । कार्यपालिकाको निर्णयअनुसार नै हाल चिसापानीमै ट्रमा सेन्टर बनाउने टुंगो लगाउन नगरप्रमुखसहितको टोली केही दिनदेखि काठमाडौंमा रहेको छ । टेण्डर आहृवानमा ढिलाइसँगै ट्रमा सेन्टर नवलपुरमा जाने चर्चा थियो । विभिन्न बहानामा ट्रमा सेन्टर नगरभन्दा बाहिर लैजान नहुने र त्यस्तो अवस्थामा नगरपालिकाभित्र जुनसुकै ठाउँमा बनाउँदा पनि फरक नपर्ने सबैको मत रहेको छ ।

ट्रमा सेन्टरको बहसको सरगर्मी बढिरहेका बेला नगरभित्रका विभिन्न दलका नेतृत्वले आ-आफ्ना धारणा प्रस्तुत गरेका छन् । नगरपालिकाभित्र जुनसुकै ठाउँमा बन्दा पनि फरक नपर्ने उनीहरूको भनाइ छ । नगरपालिकाले चिसापानीमै बनाउनेमा जोड दिएका कारण जग्गा प्राप्तिको विषय भने राष्ट्रिय आवास कम्पनीसँग भर पर्नुपर्ने भएको छ ।

जनता प्रगतिशील पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले आफ्ना कारणले ट्रमा सेन्टरको चर्चा देशव्यापीरूपमा सुरु भएको दाबी गर्नुभएको छ । उहाँले आफू स्वास्थ्यमन्त्री हुँदा काठमाडौंमा एक ठाउँमा रहेको ट्रमा सेन्टर उपत्यकाभन्दा बाहिर पनि आवश्यक महसुस गरी बर्दघाटमा ट्रमाका लागि बजेट विनियोजन गरेपछि ट्रमा सेन्टरको चर्चा देशव्यापीरूपमा सुरु भएको दाबी गर्नुभएको हो ।

त्यसअघि ट्रमाबारेमा कहीँ-कतै पनि चर्चा-परिचर्चा नभएको भन्दै बर्दघाटमा परेको योजना बाहिरिन नहुने पनि त्रिपाठीले बताउनुभयो । ट्रमाका लागि जग्गा व्यवस्थापन गर्न गत भदौमा नगरपालिकालाई शहरी विकास कार्यालय चितवनले पत्राचार गरे पनि त्यसयता लामो समयसम्म नगरपालिका गम्भीर नभएको उहाँको भनाइ छ । आफूले दिव्यज्योति बहुमूखी क्याम्पसको साधारणसभामा ट्रमाको विषय गम्भीररूपमा उठाएपछि बल्ल नगरपालिकाले जग्गाको विषयमा काम अघि बढाएको त्रिपाठीले बताउनुभयो ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री एवं संविधानसभा सदस्य विक्रम खनालले ट्रमा सेन्टर चिसापानी वा पञ्चनगर जता बने पनि फरक नपर्ने बताउनुभएको छ । तर, कुनै पनि बहानामा ट्रमा योजना नगरभन्दा बाहिर जान नहुने उहाँको भनाइ छ ।

नगरप्रमुख धिरज शर्मा बस्यालका अनुसार बजेटमार्फत् बर्दघाटमा ट्रमा सेन्टरको योजना परे पनि बजेट फ्रिज भएको थियो । बजेट कार्यान्वयन गर्ने समय र चुनावको समय जुधेका कारण बजेट कार्यान्वयनमा लैजान नसकिएको उहाँको भनाइ छ । बजेटमा बर्दघाट उल्लेख गरे पनि शहरी विकास कार्यालय चितवनको रेकर्डमा दाउन्ने उल्लेख भएकोमा त्यसलाई सच्याएर बर्दघाटका लागि सुनिश्चित गर्ने कार्य गरिएको हो ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामानन्द यादवले चिसापानीमा रहेको जग्गा राष्ट्रिय आवास कम्पनीसँग भाडामा लिएर ट्रमा सेन्टर बनाउँदा जग्गाको मुद्दा कमजोर हुने बताउनुभयो । उहाँले त्यो जग्गा कुनै पनि हालतमा नगरपालिका मातहत आउनुपर्ने, आवश्यक परे खरिद गर्न नगरपालिका तयार हुनुपर्ने बताउनुभयो ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य बृहस्पति अधिकारीले ट्रमा सेन्टर बर्दघाटबाट नगुम्ने सुनिश्चितता हुनुपर्ने बताउनुभयो । बर्दघाटवासीका लागि मात्र नभएर देशकै गौरवको योजना भएकाले सबैले मिलेर काम गर्नुपर्ने उहाँको भनाइ छ । लामो समयदेखि चिसापानी जग्गाको विषयमा लागिपर्दै आउनुभएका यमबहादुर थापा अहिले नगरप्रमुखकै टोलीमा काठमाडौंमा हुनुहुन्छ ।

नगरप्रमुख श्रेष्ठले भने ट्रमा सेन्टर निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको दाबी गर्नुभएको छ । जग्गाको अन्तिम टुंगो लगाउन र आवश्यक प्रक्रिया पूरा गर्न केही दिनदेखि काठमाडौंमा रहनुभएका उहाँले ट्रमा सेन्टर बर्दघाटमै बन्ने निश्चित भएकाले जग्गाका लागि राष्ट्रिय आवास कम्पनीसँग भाडामा लिने गरी टुंगोमा पुुगिने बताउनुभयो । राष्ट्रिय आवास कम्पनी बर्दघाटका योजना प्रमुख महेन्द्र थापाले ट्रमा सेन्टरका लागि आवश्यक जग्गा लिजमा मात्र उपलब्ध गराउन सकिने बताउनुभएको छ । चिसापानीमा रहेको सो जग्गा राष्ट्रिय आवास कम्पनीले बिक्रीका लागि टेण्डर गरेयता स्थानीयले निरन्तर विरोध गर्दै आएका छन् । जग्गा सार्वजनिक हुनुपर्ने उनीहरूको माग छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?