एम्नेस्टीको निष्कर्ष : मृत्युदण्डका अभिलिखित घटनाहरूको पाँच वर्षमा उच्चतम् वृद्धि

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले मृत्युदण्डको वार्षिक समीक्षा जारी गर्दै पाँच देशले मृत्युदण्ड दिने कानूनी व्यवस्था फेरि शुरू गरेकोमा चिन्ता जनाएको छ । एम्नेस्टीका अनुसार सन् २०२२ बाट अफगानिस्तान, कुवेत, म्यानमार, प्यालेस्टाइन र सिंगापुरमा मृत्युदण्ड दिने कानूनी व्यवस्था फेरि शुरू गरिएको हो । त्यस्तै, तीन देशमा मृत्युदण्डको घटनामा वृद्धि भएको छ । इरान (३१४ बाट ५७६), साउदी अरब (६५ बाट १९६) र अमेरिका (११ बाट १८) मा मृत्युदण्डको संख्या बढेको पाइएको हो । सन् २०२१ को तुलनामा सन् २०२२ मा लागूऔषध सम्बन्धी अपराधका लागि मृत्युदण्ड दिइएको अभिलिखित संख्या दोब्बरले बढेको छ । चीन, साउदी अरब, इरान र सिंगापुरमा अभिलेख गरिएका मृत्युदण्डको संख्या विश्वव्यापी रूपमा अभिलेख गरेको कुल मृत्युदण्डको ३७ प्रतिशत रहेको एम्नेस्टीले जनाएको छ ।

मध्यपूर्व र उत्तर अफ्रिकामा मृत्युदण्डको सजायको श्रृँखलालाई निरन्तरता दिएका कारण सन् २०२२ मा अभिलेख गरिएको मृत्युदण्डहरूको संख्या पाँच वर्षमा सबैभन्दा उच्च हुनपुगेको पनि एम्नेस्टीले मंगलबार आफ्नो वार्षिक समीक्षा जारी गर्दै बताएको छ । २० वटा देशहरूमा कुल ८८३ जनालाई मृत्युदण्ड दिइएको थाह हुन आएको छ जुन सन् २०२१ को तुलनामा ५३ प्रतिशतले बढेको हो । मृत्युदण्डको यो वृद्धिमा मध्यपूर्व र उत्तर अफ्रिकाका देशहरू अगुवा रहेका थिए जहाँ अभिलिखित मृत्युदण्डको संख्या सन् २०२१ को ५२० बाट बढेर सन् २०२२ मा ८२५ पुगेको छ र यसमा चीनमा गरिएका हजारौं मृत्युदण्डहरूलाई समावेश गरिएको छैन ।

‘सन् २०२२ मा मृत्युदण्डको संख्या बढाएर र मानव जीवन प्रति कठोर अवहेलना प्रकट गरेर मध्यपूर्व र उत्तर अफ्रिका क्षेत्रका देशहरूले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेका छन् । जीवन खोसिएका व्यक्तिहरूको संख्या यस क्षेत्रमा नाटकीय रूपमा बढेको छ ।
साउदी अरबले एकै दिनमा ८१ जनालाई मृत्युदण्ड दिएको थियो । हालै इरानमा भएको लोकप्रीय विद्रोहलाई अन्त्य गर्ने हताश प्रयासमा इरानले मानिसहरूलाई केवल विरोध गर्ने अधिकारको अभ्यास गरेकैमा मृत्युदण्ड दियो’, एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामारले भन्नुभएको छ ।

चिन्तालाग्दो कुरा के रहेको छ भने चीनबाहिर भएको थाहा हुन आएका विश्वका ९० प्रतिशत मृत्युदण्डहरू यस क्षेत्रका तीन देशले मात्रै गरेका छन् । इरानमा अभिलिखित मृत्युदण्डको संख्या सन् २०२१ को ३१४ बाट बढेर सन् २०२२ मा ५७६ पुग्यो । साउदी अरेबियामा सन् २०२१ को ६५ बाट तीन गुणा बढेर सन् २०२२ मा १९६ पुग्योजुन एम्नेस्टीले ३० वर्षमा अभिलेख गरेको सबैभन्दा उच्च संख्या हो र इजिप्टले सन् २०२२ मा २४ जनालाई मृत्युदण्ड दियो ।

मृत्युदण्डलाई व्यापक रूपमा प्रयोग गर्ने चीन, उत्तर कोरिया र भियतनाम लगायतका धेरै देशहरूमा मृत्युदण्डको प्रयोगलाई गोपनीयताको आवरणमा लुकाइएको छ जसको अर्थ मृत्युदण्डको वास्तविक विश्वव्यापी आंकडा यो भन्दा धेरै उच्च रहेको छ । चीनमा मृत्युदण्ड दिइएकाहरूको खास संख्या अज्ञात रहेतापनि के स्पष्ट छ भने इरान, साउदी अरेबिया, इजिप्ट र अमेरिका भन्दा चीन मृत्युदण्ड दिने देशहरूमा संख्यात्मक हिसाबले अग्र स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?