म्याग्दीखोला ५७.३ मेगावाटमा पाँच बैंकको लगानी

Read Time = 3 mins

काठमाडौं । हाइड्रो भिलेजले म्याग्दीमा निर्माण सुरु गरेको ५७.३ मेगावाटको जलविद्युत् आयोजनामा पाँचवटा बैंकले करिब आठ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् । कम्पनी र बैंकबीच सोमबार लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । कुल १० अर्ब ७४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा नेपाल बैंकको अगुवाइमा मेगा बैंक, कृषि विकास बैंक, कर्मचारी सञ्चय कोष र नेपाल एसबिआई बैंकले लगानी गर्नेछन् । आयोजनाले ६२६.५० मिटर हेड र म्याग्दी खोलाको १२.५० घनमिटर प्रतिसेकेण्ड बहाव प्रयोग गरी ५७.३ मेगावाट क्षमता विद्युत् उत्पादन गर्नेछ ।

सम्झौतामा कम्पनीतर्फबाट रामेश्वर थापा, नेपाल बैँकतर्फबाट लक्ष्मण पौडेल, मेगा बैंकतर्फबाट रामकाजी थापा, कृषि विकास बैंकतर्फबाट सुदिपकुमार दाहाल, कर्मचारी सञ्चय कोषतर्फबाट ठाकुरजंग थापा र नेपाल एसबिआई बैंकतर्फबाट मनोजकुमार गौतमले हस्ताक्षर गर्नुभएको छ । आयोजनामा वित्तीय संस्थाहरूबाट ७५ प्रतिशत अर्थात् आठ अर्ब पाँच करोड ७० लाख रुपैयाँ र स्वपुँजी २५ प्रतिशत अर्थात् दुई अर्ब ६८ करोड ६० रुपैयाँ लगानी हुनेछ । आयोजना क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २० प्रतिशत लगानी छुट्याइएको छ ।

प्रत्यक्ष वैदेशिक लगानीका रूपमा मलेसियन कम्पनी एक्वा भेन्चर तथा स्वदेशी लगानीका रूपमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र ऊर्जा डेभलपर्स, सिम्रिक भेन्चर्स, बिजबेलसमेतको स्वपुँजी लगानी हुने कम्पनीले जनाएको छ ।

ऊर्जा डेभलपर्स प्रालिका अध्यक्ष विजयबहादुर राजभण्डारीले ऊर्जाले रणनीतिक साझेदारीमा विश्वास गर्ने र हाइड्रो भिलेजसँगको आबद्धता लगानी प्रतिबद्धताको अर्को चरण भएको बताउनुभयो । आगामी सुक्खा यामदेखि मुख्य सिभिल संरचना निर्माण सुरु गरिने कम्पनीका निर्देशक सुशील पोखरेलले बताउनुभयो । निर्माण सुरु भएको ४० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । कम्पनीका अध्यक्ष रामेश्वर थापाले हाइड्रो भिलेजका प्रवद्र्धकहरू सक्षम एवं अनुभव प्राप्त संस्था तथा व्यक्ति भएकाले आयोजना समयमै निर्माण सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?