जहाज किन्ला त नेवानिले ?

Read Time = 19 mins

सरकारले मुख्यतः आमनागरिकलाई सेवा दिने उद्देश्यले सार्वजनिक संस्थानहरू स्थापना गर्ने गर्दछ । प्रायः संस्थानहरू व्यापारिक प्रतिष्ठानका रूपमा रहेका छन् तर व्यापारका माध्यमबाट जनतालाई सेवा-सुविधा दिनु उसको प्रमुख कर्तव्य हुन्छ । सेवा दिनु पहिलो दायित्व हो भनेर संस्थान घाटामा जाँदा पनि गर्वले शिर ठाडो पार्ने छुट भने त्यहाँका प्रमुख हाकिमहरू, व्यवस्थापकहरू र कर्मचारीहरूलाई नमिल्नुपर्ने हो तर नेपालमा भने यस्तै भइरहेको छ । नेपाल सरकारका मातहतमा रहेका त्यस्तै संस्थानहरूमध्येको एक संस्थान हो नेपाल वायुसेवा निगम अर्थात् नेवानि ।

नेवानि नाफामा गयो भनेर आजसम्म सुन्न पाइएको छैन । ऋणमुक्त नेवानिको कल्पना न कुनै सरकारले गर्न सकेको छ न त्यहाँका व्यवस्थापकले नै सुधारको संकेत दिने प्रयत्न गरेको आभास मिल्न सकेको छ । यद्यपि नेवानिमा जागिर खाएका, त्यहाँको प्रमुख व्यवस्थापकको नियुक्ति सरकारबाट लिएका र नेवानिका जहाजहरूको टिकट बिक्री गर्ने अधिकार लिएका एजेन्टहरू कोही पनि नेवानि जसरी ऋणमा डुबेको देखिएको छैन । घाटामा गएको संस्थाका जागिरेहरूको सुविधा र कर्मचारीहरूको संख्या घट्यो भन्ने कहिल्यै सुनिँदैन तर जहाजको संख्या घट्दोमात्रै देखिन्छ ।

सडक सञ्जालले नछोएको अवस्थामा नेपालका दुर्गम क्षेत्रहरूमा सेवा दिएको नेवानिको इतिहास स्वर्णिम पनि छ । पछिल्ला दिनहरूमा भ्रष्टाचार र अव्यवस्थाले गाँजे पनि कुनै बेला पहाडी जनताको स्लाइनका रूपमा रहन सफल थियो । आज त्यो सुनौलो इतिहास त यथावत् छैन र पनि विविध समस्यामा जेलिँदै आफैँमा रुमल्लिई रहेको नेपाल वायुसेवा निगम (नेवानि) कहिले तंग्रिने प्रयास गर्दै त कहिले घिस्रिँदै आजका मितिसम्म हवाई यात्रुहरूको सेवा गर्दै आएको छ । कुनै समयमा स्पष्ट दृष्टिकोण र निगमलाई सक्षम संस्थाका रूपमा विकास गर्ने लक्ष्य बोकेका नेतृत्वको साथ पाउने गरेको छ भने कतिपय बेलामा अन्य संस्थामा भ्रष्ट भनेर नाम कमाएका व्यक्तिलाई संस्थाको हाकिमका रूपमा यसले स्वीकार गर्नुपरेको दुःखद् इतिहास पनि रहेको छ ।

सर्वसाधारणहरू नेवानिसँग असन्तुष्ट हुने मुख्य कारण के हो भने एउटा जहाज अरूसँग भाडामा लिएर एअरलाइन्स कम्पनी खोलेकाहरूले प्रगति गर्दै गएर वर्षेनी जहाज थपेको देखिन्छ तर दर्जनौं जहाजको धनी नेवानिका जहाज वर्षेनी घट्दै गएको पाइन्छ ।

लामो समयदेखि अवनतिका नराम्रा सन्देशहरू मात्रै दिँदै आएको नेवानिले पछिल्ला केही महिनाहरूमा राम्रा संकेतहरू पनि दिन थालेको हो कि जस्तो पनि हुँदैछ । संस्थाका प्रमुखहरू, शाखा महाशाखा प्रमुखहरू र कर्मचारीहरू सबैलाई नेवानिको व्यथा बढ्दा आफ्ना नराम्रा कथाहरू इतिहासमा लेखिनेछ भन्ने चेत पलाएर संस्थामा केही सुधार गर्नुपर्दछ भन्ने मानसिकता पलाएको सन्देश दिन केही गतिला कदमहरू कतिपय अवस्थामा चाल्न खोजेको हो कि भन्ने लाग्दछ । साथै वर्तमान पर्यटन मन्त्रीको नेवानिलाई केही गरेर देखाउँछु भन्ने सोच र निरन्तरको अनुगमनले थोरै भए पनि भूमिका खेल्छ कि भन्ने आशा धेरैले गरेका छन् ।

सर्वसाधारण नेवानिसँग असन्तुष्ट हुने मुख्य कारण के हो भने एउटा जहाज अरूसँग भाडामा लिएर एअरलाइन्स कम्पनी खोलेकाहरूले प्रगति गर्दै गएर वर्षेनी जहाज थपेको देखिन्छ तर दर्जनौं जहाजको धनी नेवानिका जहाज वर्षेनी घट्दै गएको पाइन्छ । बैंकबाट ऋण लिएर त्यसको ब्याज तिर्दै वायुसेवा सञ्चालन गरिरहेका कम्पनीहरू प्रायशः सबै नाफामा गएर मालिकहरूले बोनस बाँडेको पनि देखेकै छौं । सरकारको लगानीमा जहाज किन्ने, सरकारकै जग्गामा कार्यालय राख्ने, हृयांगरदेखि लिएर नेपाल आउने सबै जहाजहरूको विविध व्यवस्थापनको जिम्मा पाउने नेवानि भने जहिले घाटामा जाने यथार्थ कसैबाट छिपेको छैन ।

यसका कारण खोतल्न न कहिल्यै सरकार सक्रिय भएको देख्न पाइएको छ न त नेवानि व्यवस्थापन नै यसमा सम्वेदनशील भएर यस्ता समस्याहरूको निराकरणमा जुटेको छ भन्ने सन्देश प्रवाह गर्न सफल भएको छ । यही मेसोमा हालै नेवानिले आफ्नै पैसाले चारवटा जहाज किन्ने भन्ने समाचार सुन्न पाइएको छ । अरूको भर नपरी संस्था आफैंले आँट गरेर आत्मनिर्भर हुने प्रयास गर्नु प्रशंसनीय कार्य नै हो । नेपालको झण्डा अंकित अर्थात् राष्ट्रिय ध्वजाबाहक कम्पनीका जहाज आकाशमा यत्रतत्र उडिरहेका देख्न पाइनुलाई खुशीकै विषय मान्नुपर्दछ ।

कुनै समयमा बोइङ, एभ्रो, ट्विनअटर आदि बीस-बाईस जहाजहरूले सम्पन्न रहेको नेवानि पछिल्ला दिनहरूमा दुईवटा साना जहाजमा सीमित हुन पुगेको पनि थियो तर वर्तमान समयमा केही थप्न सफल भएको छ । यो सफलतामा अझ बढी सिँढी थप्ने प्रयास हुनुलाई शुभकामना नै दिनुपर्दछ तर जहाज खरिद गर्नु भनेको खरिदकर्ताहरू मात्रै मोटाउनु हो भन्ने विगत देखेका जानकारहरूमा भने शंकाको मात्रा बढ्दै गएको छ । यसलाई चिर्न सकेमा मात्रै नेवानि सफल हुनसक्दछ ।

तर, यी जहाज किनेपछि नेवानिले कति सफलता हात पार्न सक्दछ भन्ने कुनै विश्लेषण भएको छ कि छैन ? चारवटा जहाज उडाउन थालेपछि यी जहाजको सञ्चालन खर्च घाटामा जान्छ कि जाँदैन भन्ने अध्ययन गरिएको छ कि छैन ? जहाज कुन कम्पनीबाट ल्याउने र ती कम्पनीका जहाजहरू विश्वसनीय हुन्छन् कि हुँदैनन् भन्ने बारेमा बृहत् छलफल गरिएको छ कि छैन ? किनेर ल्याइसकेपछि ती जहाजहरूको उचित व्यवस्थापन गरेर नेवानिलाई नाफामा लैजान के कस्ता कदम चाल्नुपर्दछ भन्ने कुराको अध्ययन अनुसन्धान गरिएको छ कि छैन ? नेवानि सार्वजनिक निकाय भएकाले यस्ता विषयमा सर्वसाधारणको चासो बढ्दै गएको पाइएको छ ।

नेवानिका कर्मचारी प्रायः उही पुरानै हुन् । नेवानि सञ्चालनका लागि गठन हुने उच्च व्यवस्थापन उही पुरानै पद्धतिको हो । यसका व्यवस्थापकहरू सरकारले खटाउने र आउने व्यवस्थापकहरूको प्रवृत्ति उही परम्परागत नै हो । जब सबै कुरा उस्तै हो भने आफूसँग भएको एउटा ट्विनअटर पनि चलाउन नसकेर यति एअरलाइन्सलाई भाडामा दिने त्यस्तै प्रकृतिको नेवानि व्यवस्थापनले थप जहाज किनेर सुसञ्चालन गर्न सक्दछ भन्ने विश्वास कसरी दिलाउन सक्दछ ? यस्ता प्रश्नहरूले नेवानिभित्रै चासो बढाइरहेको र जवाफ खोज्ने काम भइरहेको पाइन्छ ।

मुख्य कुरा जवाफदेही हो । सार्वजनिक संस्थाका हाकिमहरू खरिद गर्न लालायित नै हुन्छन् । खरिद गर्दा वैध र अवैध गरी दुईखाले नाफा वा कमिसनका कुरा हुन्छन् भन्ने नेपालमा गोप्य भनिए पनि खुलेयाम जस्तै छ । पहिला चीनबाट किनेर ल्याइएका छवटा जहाजहरू उडाउँदा घाटा हुने भन्दै थन्क्याएर राखिएको छ । त्यसैगरी अब किनिने जहाज हृयांगरमै राख्ने अवस्था यो-यो कारणले आउँदैन भन्ने ग्यारेन्टी विज्ञहरूले नदिँदासम्म हचुवाकै भरमा जहाज किनिहाल्न हुँदैन जस्तो लाग्दछ । चिनियाँ जहाज किन्दाका निर्णयकर्ता जवाफदेही नभए जस्तै यसमा पनि त्यस्तै सुविधा निर्णयकर्तालाई दिइन्छ कि दिइँदैन भन्ने आमचासोको विषय हो । चल्दाचल्दैका बोइङलाई थन्क्याएर कवाडीमा पनि बिक्री नहुने अवस्थामा पुर्‍याउने पदाधिकारीकै मातहतमा नेवानि चलिरहने हो भने नयाँ जहाज किन्नुको अर्थ के होला भन्ने जिज्ञासा सर्वत्र छ ।

चीनबाट जहाज खरिद गर्दा गलत प्रतिवेदन तयार गर्नेहरू र जहाज उपयुक्त छन् भनेर निर्णय गर्नेहरू कारबाहीमा परेको कतै सुनिएन । अनुपयुक्त जहाजमा नेपाली जनताको पैसा डुबाएकालाई दण्ड दिइएको जानकारीमा आएको भए अब किन्ने भनिएका जहाजका बारेमा कसैलाई कुनै शंका उत्पन्न हुने थिएन तर जहाजको भविष्य जे सुकै भए पनि निर्णयकर्ताहरू दण्ड र पुरस्कार केहीको पनि भागीदार हुनु नपर्ने प्रचलन भएकाले जहाज खरिदका विषयमा प्रश्न उठेका हुन् । यी जहाज किनेर पछि विगतकै जस्तो उडाउन नमिल्ने, उडाउँदा पनि घाटा हुने अवस्था आउने भयो भने जिम्मेवार को हुने भन्ने निर्णय पनि जहाज किन्ने निर्णयसँगै गरेमा नेवानिले आमविश्वास आर्जन गर्न सक्दथ्यो ।
नेवानिको धर्म नाफा कमाउनुमात्रै निश्चय नै होइन । सरकारी संस्थान भएकाले सेवालाई पनि यसले मुख्य प्राथमिकतामा राख्नै पर्दछ ।

नेवानिका जहाज जताततै उडे भने निजी वायुसेवाका जहाजहरूको भाडादरलाई नियन्त्रणमा राख्न मद्दत गर्दछ । केही अघिसम्म काठमाडौं दिल्लीको भाडा चालीस हजार रुपैयाँसम्म पुगेको हामीले देखेकै हो तर नेवानिले जहाज ल्याई उडान सुरु गरेपछि यही रुटको भाडा दश बाह्र हजार रुपैयाँमा सीमित हुन पुगेको पनि भोगेकै छौं । यातायातको सुविधा नपुगेका दुर्गम क्षेत्रका जनतालाई सरल दरमा सुविधा दिने काम पनि नेवानिको हो र यसका लागि जहाजको आवश्यकता पर्दछ नै तर अहिले धेरै स्थानमा मोटर बाटो पुगिसकेको अवस्थामा कति र कस्ता जहाज आवश्यकता पर्दछ भन्ने विशद अध्ययन हुन भने आवश्यक देखिन्छ ।

अहिले नेवानिले एटिआर र ट्विनअटर जहाजहरू किन्ने भन्दैछ । मुलुकका निजी कम्पनीसँग ५० जनाभन्दा बढी यात्रु बोकेर हिँड्ने एटिआर जस्तै जहाजहरू दुई दर्जन हाराहारीमा छन् । त्यस्तै ट्विनअटर जहाजहरू पर्याप्त नै छन् । यिनै निजी वायुसेवाहरूकै प्रतिस्पर्धामा भैरहवाबाट काठमाडौंसम्मको यात्रा कहिले १५ सय रुपैयाँमा त कहिले २५ सय रुपैयाँमा गर्ने मौका यात्रुहरूले पाउने गरेका छन् । अर्थात् बसभाडा शरह प्लेनभाडा हुन पुगेको पनि देखिन्छ । यही परिवेशमा अरू जहाज थपिँदा निजी वायुसेवासँग नेवानिको व्यवस्थापनले आफूलाई चुस्त बनाउँदै प्रतिस्पर्धा गर्न सक्ला कि झन् बढी घाटामा जाने बाटो तय गर्ला भन्ने अहं प्रश्न हो ।

जहाज थप्दा रुट एनालाइसिस गरिएको छ कि छैन भन्ने प्रश्न आमनेपालीको हो । चाहिनेभन्दा बढी जहाज भित्र्याएर निजी कम्पनीहरूलाई पनि डुबाउने र आफू पनि डुब्ने काम त हुँदैन भन्नेतर्फ नेवानिले गम्भीर भएर सोच्नुपर्दछ ।

एटिआर जहाज ओर्लन सक्ने नेपालका एरपोर्टहरू भनेका करिब एक दर्जनमात्रै छन् । जहाँ यस्ता जहाज चल्छन् त्यहाँका सुविधासम्पन्न मानिस या पर्यटकमात्रै जहाजको यात्रा गर्न रुचाउँदछन् । अन्यथा पिच रोडले राजधानीसँग जोडिएका यी स्थानका अधिकांश यात्रुहरूको पहिलो रोजाइ राजमार्ग नै हुनेगर्दछ । ट्विनअटर ओर्लने अधिकांश स्थानसमेत आजभोलि सडक सञ्जालबाट टाढा छैनन् । हवाई यात्रा महँगो हुँदासम्म आर्थिक हैसियतमाथि नपुगेकाहरूले बाध्यात्मक अवस्थामा बाहेक निश्चय नै हवाई यात्रा गर्ने सोच बनाउँदैनन् ।

यस परिस्थितिमा जहाज थप्दा रुट एनालाइसिस गरिएको छ कि छैन भन्ने प्रश्न आमनेपालीको हो । चाहिनेभन्दा बढी जहाज भित्र्याएर निजी कम्पनीहरूलाई डुबाउने र आफू पनि डुब्ने काम त हुँदैन भन्नेतर्फ नेवानिले गम्भीर भएर सोच्नुपर्दछ । नेपालमा एटिआर ओर्लने एअरपोर्ट, जहाज संख्या र हवाई यात्रु कति छन् ? त्यस्तै ट्विनअटर आवश्यक भएका यात्रु कति छन् ? बजारको माग र आपूर्तिको अवस्थाका बारेमा गम्भीर समीक्षा गरेरमात्रै जहाज खरिदको निर्णय हुनुपर्ने हो तर के गरिएको छ भन्ने विस्तृत जानकारी बाहिर आएको छैन ।

नेपालमा ४० भन्दा बढी विदेशी जहाजहरू आउने जाने गर्दछन् । जसरी दिल्लीको यात्रालाई सरल बनाउन नेवानिले सहयोग गर्‍यो त्यसैगरी ती विदेशी जहाजलाई प्रतिस्थापन गर्ने नीति नेवानिले लिँदा नेपाली जनतालाई राहत मिल्ने र नेवानिलाई पनि फाइदा पुग्न सक्थ्यो कि भन्नेतर्फ सोचिएको छ कि छैन ? अन्तर्राष्ट्रिय क्षेत्रमा जहाँ बढी नाफा छ त्यतातिरको उद्देश्य बनाउँदा नेवानिलाई अझ बढी सफलता मिल्थ्यो कि ? नेपालबाट विद्यार्थीका रूपमा धेरै जाने भारत, चीन, अष्ट्रेलिया र कामदारका रूपमा जाने मध्यपूर्व अर्थात् खाडीतिर उडान थपेमा नेपाली नागरिकलाई पनि सुविधा हुने र नेवानिलाई पनि नाफा हुने अवस्था आउँथ्यो कि ? यसतर्फ नेवानिको दृष्टिकोण निश्चय नै पुगेको छ भन्ने ठानिएको छ ।

नेवानिलाई अहिले भएकै जहाजले पनि नाफामा लैजान सक्दछन् भन्नेमा कुनै शंका छैन । नेवानि डुब्दै आएको भनेको अक्षम व्यवस्थापन र भ्रष्टाचारले हो भन्ने ठोकुवा गर्न कुनै अप्ठ्यारो मान्नुपर्दैन । राजनीतिक दबाब, अनावश्यक र अयोग्य कर्मचारी भर्ती, कर्मचारी संगठनहरूको अवाञ्छित आन्दोलन आदि पनि नेवानिलाई घाटामा पुर्‍याउन सहयोगी भूमिका खेल्ने विषय हुन् । जहाज थप्नुभन्दा पहिला यस्ता सन्दर्भमा सुधार भएको छ कि छैन भन्ने पनि आमचासोकै विषय हुन् ।

जहाजहरू किन्नु हजार या लाखको कुरो होइन । अर्बौं खर्च हुने निर्णय गर्दा खरबको सम्वेदनशीलता अपनाइयोस् भन्नेमात्रै आशय हो । नेवानिले जहाज नकिनोस् र निजीका वायुसेवाहरूले कमाउने मौका प्राप्त गरून् भन्ने आशय पटक्कै होइन । निजीको उद्देश्य नाफा कमाउनुमात्रै हुन्छ भने सेवाभाव कत्ति पनि राखेको देखिएको छैन । नेवानिले घाटा भए पनि दुर्गमका जनतालाई पनि सेवा दिने हुँदा यो संस्था फष्टाउनै पर्दछ । चीनबाट आएका जहाजमा खिया पारेर राखी आमनेपालीको खर्बौंको सम्पत्ति डुबाएजस्तै अब देख्नु नपरोस् । नेवानिलाई हार्दिक शुभकामना !

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?