बालाजीद्वारा उत्पादित सिमेन्ट पनि निर्यात सुरु

Read Time = 5 mins

काठमाडौं । लामो समयको प्रतीक्षापछि कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका-६ स्थित बालाजी सिमेन्ट इण्डष्ट्रिज प्रालिबाट उत्पादित सिमेन्ट राष्ट्र भारत निर्यात सुरु भएको छ । कम्पनीबाट उत्पादित बहुवली र सृष्टि ब्राण्डका पिपिसी सिमेन्ट भारत सरकार गुणस्तर विभागद्वारा ब्युरो अफ इण्डियन स्ट्याण्डर्स (बिआइएस) प्रदान गरेसँगै भारत निर्यात सुरु गरिएको कम्पनीले जनाएको छ ।

पहिलो चरणमा भारत उत्तर प्रदेश राज्यको सिद्धार्थनगर जिल्लास्थित क्लासिक इन्टरप्राइजेज डिलरलाई ४२ टन सिमेन्ट निर्यात सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीले दुई ट्रकमा प्रतिट्रक २१ टनका दरले सिमेन्ट कपिलवस्तुको कृष्णनगर नाका हुँदै निर्यात सुरु गरेको हो ।

कपिलवस्तु जिल्लाबाट भारत निर्यात पहिलोपटक भएको बताइएको छ । विस्तारै निर्यात परिमाण बढाउँदै जाने उद्योग व्यवस्थापनको लक्ष्य रहेको छ । भारतमा आइएसआई चिहृन नलागेका सिमेन्ट आयात गर्न नपाइने व्यवस्था रहेको छ भने नेपालबाट पनि एनएस चिहृन नभएका सिमेन्ट निर्यात गर्न पाइँदैन । यसै महिना आइएसआई चिहृन पाएपछि सिमेन्ट निर्यात सुरु गरिएको कम्पनीले जनाएको छ । सरकारले सिमेन्ट, छडलगायतका ३० भन्दा बढी वस्तुमा निर्यात अनुदान दिने घोषणा गरेको छ ।

सरकारले ५० करोडभन्दा बढीको स्वदेशी उत्पादन विदेश निर्यात गर्ने उद्योगलाई आठ प्रतिशत अनुदान दिने नीतिले पनि हामी सिमेन्ट उद्योगीलाई धेरै राहत भएको छ । विद्यमान असहज एवं आर्थिक मन्दीका अवस्थामा सिमेन्ट भारततर्फ निर्यात गर्ने कार्य शुभारम्भ गर्न पाउँदा आशाको दियो जागेको उद्योगका संस्थापक सन्दिपकुमार गाडियाले बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘हाम्रो सिमेन्ट उद्योग स्थापनाको लक्ष्य नै भारत निर्यात गर्ने सोचसहितको थियो । सोच आज पूरा भएको छ, हामी सफल भएका छौँ । सरकारले वस्तु नै तोकेर निर्यातमा अनुदानको घोषणाले नै निर्यात सहज भएको छ । हामी चाहन्छौँ, राज्यले अझै उद्योगमैत्री, निर्यातमैत्री नीति ल्याउनु जरुरी छ । आजको दिनमा निर्यातको वातावरण बनाउने सरकारलाई हामी धन्यवाद दिन चाहन्छौँ । हाम्रो सिमेन्ट निर्यातले भारतसँगको व्यापार घाटा केही कम गर्नेमा हामी विश्वस्त छौँ । हामीले जति धेरै सामान भारतलगायत अन्यत्र निर्यात गर्न सक्छौँ, त्यति धेरै व्यापार घाटामा कमी आउँछ ।’

कम्पनीका प्रबन्ध निर्देशक ऋषिकेश अग्रवालका अनुसार बालाजी सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता एक हजार छ सय टन रहेको छ भने बहुवली र सृष्टि ब्राण्डका ओपिसी ४३ ग्रेड र पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ । दुवै ब्राण्डका सिमेन्टलाई नेपाल गुणस्तर विभागले एनएस र भारत सरकार गुणस्तर विभागले बिआइएस प्रदान गरेको छ । २०७७ सालमा स्थापना भएको उद्योगमा जर्मनको लोच्से कम्पनीको भिआरएम प्रविधि जडान छ । जर्मनकोे प्रविधि सिमेन्ट उद्योगका लागि विश्वकै उच्चस्तरीय कम्पनी हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?