रूस र युक्रेनबीचको खाद्यान्न सम्झौता दुई महिना लम्बियो

Read Time = 3 mins

इस्तानबुल । संयुक्त राष्ट्रसंघको समर्थनप्राप्त रूस र युक्रेनबीचको खाद्यान्न सम्झौतालाई दुई महिना थप गर्ने सहमति भएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्की र संयुक्त राष्ट्रसंघघका महासचिव एन्टोनियो गुटेर्रेसलाई सम्झौता लम्ब्याउन भूमिका खेलेको र आफुले यसको समन्वय गरेको बताउनुभयो । ‘हाम्रो देशको प्रयास, हाम्रा रूसी मित्रहरूको समर्थन र युक्रेनी मित्रहरूको योगदानले ‘ब्ल्याक सी’ को अन्न सम्झौतालाई थप दुई महिना लम्ब्याउने निर्णय गरिएको छ’, एर्दोगानले राष्ट्रिय टेलिभिजनमार्फत् दिएको भिडियो जानकारीमा उल्लेख छ ।

किएभले संयुक्त राष्ट्रसंघ र टर्कीप्रति कृतज्ञ रहेको बताउनुभएको छ । एर्दोआनले रुसले युक्रेनका दुई बन्दरगाह छोड्न जहाजलाई नरोक्न सहमत भएको बताउँदै यो सम्झौता ‘सबै पक्षका लागि लाभदायक हुने’ विश्वास व्यक्त गर्नुभयो ।

गत वर्षको फेब्रुवरीमा रूसले आक्रमण गर्नुअघि युक्रेन विश्वको प्रमुख खाद्यान्न निर्यातकर्तामध्ये एक थियो । रुसी युद्धपोतहरूले युक्रेनको ‘ब्ल्याक सी’ बन्दरगाह अवरुद्ध गरे, जसले गर्दा विश्व बजारमा खाद्यान्नको मूल्य बढेको थियो र विश्वका सबैभन्दा गरिबहरूलाई असमान रूपमा असर पारेको थियो ।

टर्की र संयुक्त राष्ट्रसंघले पहिलो पटक जुलाई २०२२ मा युद्धरत पक्षहरूबीच एक सम्झौताको मध्यस्थता गरे, जसले संकटलाई शान्त गर्न युक्रेनी उत्पादनको निर्यातका लागि सुरक्षित मार्ग सिर्जना गरेको थियो । युद्ध सुरु भएयता रूस र युक्रेनबीच यो मात्र एउटा सम्झौता भएको छ । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?