सुदूरपश्चिम सरकारको सय दिन, कार्यकाल उपलब्धि : मुख्यमन्त्री शाह

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 10 mins

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार गठन भएको सय दिन पुगेको छ । गत माघ २७ मा शपथ खानुभएका मुख्यमन्त्री कमलबहादुर शाहको शुक्रबार पदभार ग्रहण गरेको सय दिन पुगेको हो । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले सरकारका सय दिनका उपलब्धि सार्वजनिक गर्नुभएको छ । राजनीतिक सहमति र स्थायित्वको नेतृत्व गर्दै वर्तमान सरकारले काम गरिरहेको उहाँको दाबी छ ।

भौतिक पूर्वाधार विकासमा बढोत्तरी, वार्षिक विकास कार्यक्रम पहिचान छनोट र प्राथमिकीकरणमा अनुशासित र जवाफदेही प्रणाली स्थापनाको सुरुवात र वार्षिक बजेट तर्जुमामा स्थानीय तहसँगको उच्चतम समन्वय र सहकार्य संस्कृतिको विजारोपण भएको उल्लेख गरिएको छ । सरकारले धार्मिक र प्राकृतिक पर्यटन प्रवद्र्धन र पर्यटन पूर्वाधार निर्माण, विपद् जोखिम न्यूनीकरणमा सहकार्य, शिक्षा र स्वास्थ्य क्षेत्रको समग्र सुधारको पहल थालिएको मुख्यमन्त्री शाहले बताउनुभयो ।

सरकारले पूर्वाधारतर्फ २२ किलोमिटर पक्की र ७५ किलोमिटर ग्राभेल सडक निर्माण भएको र खानेपानीका ३३ वटा आयोजनाबाट चार हजार ५३८ जना लभान्वित भएका छन् । यो अवधिमा तीन वटा सडक पुल र एक झोलुंगेपुलको काम सम्पन्न भएको दाबी गरेको छ । प्रदेश सरकारले थप एक हजार २२६ हेक्टरमा सिँचाइ सुविधा पुगेको, १५० लाख किलोग्राम खोटो र पाँच लाख किलोग्राम जडीबुटी संकलन हुँदा प्रदेशभर ४५ हजार विरुवा रोपिएको जनाएको छ ।

एक सय दिनको अवधिमा प्रदेश सरकारले सदाचार नीति र भ्रष्टाचार नियन्त्रण कार्ययोजना तर्जुमा गरिएको छ । मागमा आधारित अनुशासित बजेट तर्जुमा प्रक्रियाको सुरुवात भएको, संघ र स्थानीय तहसँग समन्वय एवं विकास साझेदारसँग परामर्श गरिनुका साथै तीन लाख ५० हजार पशुपन्छीलाई खोप, आलु, किबी र चैते धान खेती विस्तार भएको सरकारले आफ्नो सय दिनको उपलब्धि मानेको छ ।
मुख्यमन्त्री शाहले प्रदेशको वस्तुस्थिति अध्ययन, विभिन्न विकास आयोजना र जिल्लाहरूको स्थलगत अवलोकन र अनुगमन गरी समस्या पहिचान र भावी कार्यदिशा निर्धारण गर्ने काम भएको बताउनुभयो । सरकारले प्रदेशको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पक्षको उजागर गर्न मानसखण्ड सम्मेलन सम्पन्न गरेको, खप्तड, रामारोशन पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि विशेष पहल हुनुलाई सरकारको उपलब्धि ठानेको छ ।

यस्तै, प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको तयारी पूरा हुनुलाई पनि सरकारले उपलब्धि मानेको छ । सय दिनको अवधिमा सरकारले मुख्य रुपमा प्रणाली सुधारमा केन्द्रित रहेर काम गरेको जनाएको छ । सरकारले लामो समयदेखि निर्माण कार्यमा कुनै प्रगति नभएको विकास आयोजनाको स्थलगत अनुगमन गरि सम्बन्धित निर्माण व्यवसायी र कर्मचारीलाई आयोजनाको शीघ्र कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।

प्रदेश सरकारले अनुशासन नीतिगत र प्रणालीगत सुधारका अतिरिक्त विकास निर्माणलाई तीव्रता दिइएको जनाएको छ । सरकारले पहिलो चौमासिकमा रहेको १४ प्रतिशतको न्यून प्रगति दरलाई बढाएर ३३ प्रतिशतमा पुर्‍याइएको छ । मुख्यमन्त्री शाहले प्रदेशमा रहेका राष्ट्रिय गौरव र प्रादेशिक गौरवका आयोजना कार्यान्वयनमा तीव्रता दिन समन्वय गरिएको दाबी छ । साथै संघीय सरकार तथा कूटनीतिक एवं विकास साझेदार निकायसँग समन्वय र परामर्श गरिएको जनाएको छ ।

सय दिन घुमघाममै बित्यो : पूर्वमुुख्यमन्त्री रावल
नेकपा एमाले सुुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावलले सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले सय दिन घुुमघाममै बिताएको टिप्पणी गर्नुभएको छ । एमाले संसदीय दलले शुुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व-मुख्यमन्त्रीसमेत रहनुभएका रावलले घुमघाममै दिन बिताएको बताउँदै जनपक्षीय काम नभएको बताउनुभएको हो ।

‘मुख्यमन्त्रीजीले पत्रकार साथीहरूलाई सय दिनमा काम गरेँ भनेर बिहानै बोलाएर लामै फेहरिस्त बाँड्नुभएछ । मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्ने सरकारले यो काम गरेँ त्यो काम गरेँ भन्दैमा कसले पत्याउँछ ?’ रावलले भन्नुभयो, ‘यो सरकारका मुुख्यमन्त्री र मन्त्रीहरू घुमघाममै ठिक्क छन् ।’ रावलले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनबाहेक तीन महिनासम्म प्रदेशसभालाई कुनै बिजनेस नै दिन नसकेको बताउनुभयो ।

मन्त्रिपरिषद्लाई पूूर्णता दिन नसक्नु प्रदेश सरकारको पहिलो असफलता भएको बताउँदै उहाँले सरकारका एकसय दिन उत्साहविहीन र निराशावादी रहेको उल्लेख गर्नुभयो । आफूहरूकै दबाबमा बजेट निर्माणका सम्बन्धमा स्थानीय तहबाट योजना छनोटको प्रक्रियाको थालनी गर्नुु राम्रो पक्ष भएको उहाँको भनाइ छ । ‘सरकारले पूर्णता पाउन सकेको छैन, उत्साहविहीन र निराशाबाहेक केही छैन । जनताले विकासको प्रत्याभूती गर्न पाएका छैनन्,’ रावलले भन्नुभयो, ‘प्रदेशसभालाई बिजनेस दिन सकेको अवस्था छैन, ऐन कानुन निर्माणमा ध्यान छैन । मुख्यमन्त्री र मन्त्रीहरू राज्यको पैसामा घुमफिरमा मात्र व्यस्त देखिन्छन् । यो सरकार असफल देखियो ।’

सरकार विस्तार आज हुने
शुक्रबार हुने भनिएको सुदूरपश्चिम प्रदेशको सरकार विस्तार (आज) शनिबार हुने भएको छ । आज बिहान १० बजे शपथग्रहण गर्ने गरी सत्ता गठबन्धनको बैठक सकिएको माओवादी संसदीय दलका नेता खगराज भट्टले जानकारी दिनुभयो । सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालयका विषयमा सहमति नभएपछि शुक्रबार सरकार विस्तार हुन नसकेको हो । चार मन्त्रालय अहिले मन्त्रीविहीन छन् । छलफलमा माओवादी र नागरिक उन्मुक्तिले दुई/दुई र नेपाली कांग्रेसले एक मन्त्रालयको दाबी गरेका थिए । चार मन्त्रालयमा पाँच जनाको दाबी भएपछि सहमति जुट्न नसकेको हो ।

नागरिक उन्मुक्तिलाई एक मन्त्रालयमा मनाउने विषयमा छलफल भएको थियो । उनीहरूले यस विषयमा छलफल गर्ने बताएर बैठकबाट निस्किएका थिए । उनीहरूले शनिबार बिहानसम्म आन्तरिक छलफल गर्नेछन् । एक मन्त्रालयमै सरकारमा सहभागी हुने कि सरकारमा नजाने भन्ने विषयमा उनीहरूले निर्णय गर्ने जनाइएको छ ।

उनीहरूको सहमति भएमा शनिबार तीन दलबाट नभए दुई दलबाट मन्त्री नियुक्त हुनेछन् । माओवादी केन्द्रले पाउने दुई मन्त्रीमा सहमति भइसकेको छ । रमेश धामी र झपट साउद मन्त्री बन्ने पक्का छ । नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र लक्ष्मण किशोर चौधरीलाई मन्त्री बनाउने निर्णय भइसकेको छ । नेपाली कांग्रेसले पृथ्वीबहादुर सिंहलाई मन्त्री बनाउने सम्भावना बढिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?