छायांकनमा बराल

Read Time = 3 mins

काठमाडौं । एउटा चलचित्र व्यावसायिकरूपमा सफल हुन जति पर्दामा देखिने कलाकारको भूमिका हुन्छ त्योभन्दा बढी पर्दाबाहिर काम गर्ने प्राविधिकहरूको हुन्छ । नेपाली चलचित्र क्षेत्रको उत्थान र विकासका लागि पर्दा पछाडि रहेर आफ्नो अतुलनीय योगदान दिँदै आउनुभएका कुशल छायांकार हुनुहुन्छ रविन्द्र बराल ।

झण्डै दर्जनको हाराहारी चलचित्र छायांकन गर्नुभएका छायांकार बराल चितवन-५ का स्थानीय बासिन्दा हुनुहुन्छ । सिनेमाटोग्राफरको भिडमा आफूलाई छोटै समयमा अब्बल छायांकारका रूपमा चिनाउन सफल बराल चलचित्रलाई मनोरञ्जन र समाज परिवर्तनको संवाहक मानुहुन्छ । उहाँ कला क्षेत्रप्रति लगाव राख्दै यसै क्षेत्रमा निरन्तर लागिपरिरहनुभएको छ । नेपाली चलचित्र र नेपाली मनोरञ्जनात्मक उत्पादन विश्व बजारसम्म पुग्नुपर्ने र यस क्षेत्रका अग्रज हस्तीहरूले यो विषयमा अलि बढी सक्रिय हुने हो भने नेपाली चलचित्रले पनि विश्व बजारमा राम्रै स्थान पाउन सक्ने उहाँको धारणा छ ।

उहाँले ‘धु्रवे’, ‘नयाँ नेपाल एक्स्प्रेस’, ‘मेरो कथा’, ‘उमंग’, ‘एक्सन’, ‘कुसुम’, ‘मेरो देश’लगायत चलचित्रमा छायांकन गर्नुभएको छ भने ६ वटा डकुमेन्ट्री, पाँच सयभन्दा बढी म्युजिक भिडियो खिचिसक्नुभएको छ । पछिल्लो समय निर्माता, निर्देशकहरूको रोजाइको क्यामराम्यान बन्न सफल हुनुभएका बराल यतिबेला छायांकनका क्रममा रहेको चलचित्र ‘जूनकिरी’मा व्यस्त हुनुहुन्छ ।

चलचित्र ‘जूनकिरी’ सामाजिक कथावस्तुमा आधारित रहने उहाँले जानकारी गराउनुभयो । कर्म गरेरै चलचित्र क्षेत्रमा आफूले अझै धेरै गर्नु रहेको बताउनुहुने बरालले राप्ती अवार्ड-२०१७, नेसनल क्यापिटल अवार्ड-२०२२, सगरमाथा अवार्ड-२०२२ आफ्नो पोल्टामा पार्न सफल हुनुभएको छ । युनिटमा सबैसँग मिलेर सहकार्य गर्न सिपालु र आफ्नो क्षमताका कारण नेपाली चलचित्र जगत्मा एकपछि अर्को काममा निरन्तर लागिरहनुभएका बराल चलचित्रको मेरुदण्डमध्ये छायांकारको भूमिका पनि महत्वपूर्ण रहने बताउनुहुन्छ ।

छायांकार बराल सकारात्मक सोचले ऊर्जा दिने, गरेको हरेक कामले भविष्यमा सन्तुष्टि दिने र जिन्दगीलाई सृष्टिको सुन्दर उपहार मानेर यसलाई सकारात्मक तरिकाले ग्रहण गरेर लान सके जीवन सार्थक बन्ने बताउनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?