परम्परागत बजेटले अर्थतन्त्रका चुनौती समाधान गर्न नसक्ने सांसदहरूको ठहर

डिबी शर्मा
Read Time = 11 mins

काठमाडौं । परम्परागत बजेटले वर्तमान अर्थतन्त्रका चुनौती समाधान गर्न नसकिने सांसदहरूले बताएका छन् । शनिबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा सहभागी सांसदहरूले परम्परागत बजेटले अर्थतन्त्रका समस्या समाधान गर्न नसक्ने बताएका हुन् ।

परम्परागत नभई कार्यान्वयनमा आउनसक्ने बजेट ल्याउन उनीहरूले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई सुझाव दिएका छन् । एमाले सांसद जुलीकुमारी महतोले परम्परागत बजेट ल्याएर वर्तमान अर्थतन्त्रको समस्या समाधान नहुने बताउनुभयो । राजस्व चुहावट भएको ठाउँमा गम्भीर बन्नुपर्ने उहाँको भनाइ छ । उहाँले राजस्वमा बिचौलियाको खेल रोक्न डिजिटल प्रणालीमा जानुपर्ने धारणा राख्नुभयो ।

‘राजस्व चुहावट भएको ठाउँमा नीति, ऐन, कानुनमा गम्भीर हुनुपर्छ । बेथिति भएको अवस्थामा हामीले अवस्था बदल्ने गरी काम गर्न जरुरी छ,’ उहाँले भन्नुभयो, ‘सबै चिन्तित भएर जानुपर्छ । १६ मा चार आना पनि राजस्व सरकारसमक्ष आइपुग्दैन । बिचौलियाको खेल छ, त्यसैले डिजिटल गर्नुपर्छ । हिजोकै परम्परागत बजेटअनुसार ल्याएर यो समस्या समाधान हुँदैन ।’

सम्मानीकरण अनुदान कटौती गरिँदा स्थानीय तहहरूमा विचल्ली : गिरी
बैठकमा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले विभिन्न क्षेत्रका लाइसेन्स वितरणका लागि अपारदर्शी काम हुन लागेको भन्दै आपत्ति जनाउनुभयो । केही मानिसहरू बसेर न्युनतम मापदण्ड पनि नपुगेकाहरूलाई लाइसेन्स वितरण गर्ने तयारी गरिरहेको उहाँले दाबी गर्नुभयो । सम्मानीकरण कटौती गरिँदा स्थानीय तहहरूमा विचल्ली भएको भन्दै उहाँले सरकारको जवाफ माग गर्नुभयो । ‘स्थानीय तहलाई सम्मानीकरण कटौती गरियो । लगाएको ठेक्का अलपत्र छन्, उनीहरू विचलित छन्,’ उहाँले भन्नुभयो, ‘यसमा के सोच छ ? ‘विभिन्न क्षेत्रका लाइसेन्स वितरणका लागि अपारदर्शी ढंगले न्यूनतम मापदण्ड पनि नपुगेकाहरू ल्याएर ओभरनाइट केही मानिसहरू बसेर वितरण गर्ने तयारी हुँदै छ भन्ने सुनिन्छ यस विषयमा के हो ?’

बजेट विश्वसनीय बनाउन अलिकति अप्रिय र निर्मम कदम चाल्न आवश्यक : डा. वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले देशमा नीतिगत भ्रष्टाचार बढ्दै गएको बताउनुभएको छ । समिति बैठकमा बोल्दै उहाँले कागजपत्र, नियमावली संशोधन र सके संशोधन गरेर नीतिगत भ्रष्टाचार हुने गरेको जिकिर गर्नुभयो । अहिले गल्ती गर्नेहरूलाई समात्न पनि अफ्ठ्यारो हुनेगरी नीतिगत भ्रष्टाचार भइरहेको उहाँको भनाइ थियो । ‘यो देशमा नीतिगत भ्रष्टाचार बढ्यो । अब त कागजपत्र मिलाएर नियमावली संशोधन गरेर उस्तै परे ऐन नै संशोधन गरेर, सामथ्र्य भए संविधान नै संशोधन गरेर पनि भ्रष्टाचारलाई वैध बनाउने काम भएका छन्,’ उहाँले भन्नुभयो, ‘हाक्काहाक्की गल्ती गर्नेहरूलाई पक्रन पनि गाह्रो हुने गरेर अघि बढेको छ ।’ नीतिगत भ्रष्टाचार रोक्न नयाँ सोच अघि सार्नुपर्ने उहाँले बताउनुभयो । बजेट विश्वसनीय बनाउन अप्रिय निर्णय लिन आवश्यक रहेको उहाँले बताउनुभयो । ‘बजेटको आकार विश्वसनीय भएको छैन । यसमा अप्रिय निर्णय गरिदिनुहोला,’ उहाँले भन्नुभयो, ‘समग्र बजेटको विश्वसनियतामा कस्ता कस्ता अंकहरूको तोक्नुहुन्छ भन्ने कुराले तय गर्छ । बजेट विश्वसनीय बनाउने हो भने अलिकति अप्रिय निर्मम कदम चालिदिनुहोला ।’

यस्तै, रास्वपा सांसद विराजभक्त श्रेष्ठले देशमा बिचौलिया संस्थागत भएको बताउनुभयो । अहिले पनि बाटो र पानीको लोभ मात्रै देखाउने गरिएको उहाँले बताउनुभयो । सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन इन्जिनियरिङ शुरु गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘यो ३० वर्षमा गणतन्त्र लोकतन्त्र स्थापित भयो भएन थाहा छैन, तर बिचौलिया संस्थागत भएको छ,’ उहाँले भन्नुभयो, ‘आज पनि हामी बाटो र पानी कहिले आउँछ भनेर बसेका छौँ । एक पुस्ता नै बाटो र पानी मागेर सकिन लागेको छ । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन इञ्जिनियरिङ आजबाट सुरु गर्नुपर्छ ।’

अर्थमन्त्री र सांसद श्रेष्ठबीच भनाभन
अर्थ समिति बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठबीच भनाभन भएको छ । सांसद श्रेष्ठले बोल्ने क्रममा पुराना कुराहरू दोहो¥याएको भन्दै अर्थमन्त्रीले जिज्ञासा मात्रै राख्नु भनेपछि उहाँहरूबीच भनाभन भएको हो । बैठकमा बोल्ने क्रममा सांसद श्रेष्ठले डाँडाको टुप्पोमा भ्युटावर कस्तो बेबकुफ भन्ने शब्द प्रयोग गरेपछि मन्त्री महतले पुराना कुरा नभनेर अर्थतन्त्र र बजेटबारे जिज्ञासा राख्न आग्रह गर्नुभएको थियो । सोही विषयलाई लिएर सांसद श्रेष्ठले साना कुराहरूमा आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो ।
मन्त्री महतले आफूले यस्ता विषयहरू बुझिसकेको भनेपछि पुनः सांसद श्रेष्ठले निजी क्षेत्रले सरकारलाई विश्वास गर्न नसकेको बताउनुभएको थियो । सांसद श्रेष्ठले वित्तीय संस्थालाई नियमन कसरी गर्ने ? र तीन खम्बे अर्थनीतिको कुरा गरेपछि पुनः मन्त्री महतले आफूले यसबारे बुझिसकेको प्रतिक्रिया दिनुभएको थियो । मन्त्रीले आफूलाई ढिला भइसकेको भनेपछि सांसद श्रेष्ठले हतार नगर्न आग्रह गर्नुभयो । सांसद श्रेष्ठले हतार भयो भनेर नहुने बताउनुभयो । उहाँले मन्त्री महतलाई हतार भए जानुहोस् भन्दै असहमतिसमेत प्रकट गर्नुभयो । सांसद श्रेष्ठको जवाफपछि मन्त्री महतले आफूले यसबारे धेरैपटक सुनिसकेको बताएपछि सांसद श्रेष्ठले बुझिसकेको भए अर्थतन्त्रमा किन संकट छ भन्दै प्रश्न गर्नुभएको थियो ।

कुनै व्यक्ति र व्यवसायीका लागि करका दर हेरफेर हुँदैन : अर्थमन्त्री
अर्थमन्त्री डा.प्रकाशशरण महतले कुनै व्यक्ति र व्यवसायी विशेषका लागि आफूले करका दर हेरफेर नगर्ने स्पष्ट पार्नुभएको छ । अर्थ समितिको बैठकमा बोल्दै उहाँले आफ्नो व्यक्तिगत स्वार्थका लागि मात्रै करका दर हेरफेर नगर्ने प्रतिबद्धता जनाउनुभएको हो । समग्रमा देशको अर्थतन्त्रलाई मध्यनजर गरेर करका दर हेरफेर हुने उहाँको भनाइ छ । ‘कुनै पनि हालतमा नीतिगत भ्रष्टाचार हुँदैन । व्यक्तिगत स्वार्थका लागि करका दर हेरफेर हुँदैन,’ उहाँले भन्नुभयो, ‘समग्रमा देशको अर्थतन्त्रलाई मध्यनजर गरेर हुन्छ । एउटा व्यक्ति, एउटा व्यवसायिका लागि करका दरहरू हेरफेर हुँदैन ।’ नेपालभित्रैै रोजगारी र उच्च शिक्षाको अवसर सिर्जना गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले नेपाली उद्योग व्यवसायलाई प्राथमिकता राख्नेकुरामा ध्यान दिने बताउनुभयो । अर्थतन्त्र सुधार गर्न आवश्यक रहेको भन्दै त्यसका लागि आफू इमानदार भएर काम गर्ने उहाँको भनाइ छ । बजेट आइसकेपछि क्यालेण्डर बनाएर नै काम गर्ने उहाँको भनाइ छ । ‘विस्तारै हामीले नेपालभित्रै रोजगारी र उच्च शिक्षाको अवसर सिर्जना गर्नुपर्छ । त्यो कुरालाई प्राथमिकतामा राख्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘उत्पादन बढाउने कुरामा प्राथमिकतामा राख्नुपर्छ । नेपाली उद्योग व्यवसायलाई कसरी प्रमोट गर्ने भन्नेमा बजेटमा प्राथमिकतामा राख्नेछौँ । अर्थतन्त्र सुधारको आवश्यक्ता छ । त्यसको इमानदार बिगिनिङ हुन्छ । दुई महिनामा मेरो सबै सफा चैट गर्छु भन्दिनँ । तर, मूल कुरा कार्यान्वयनको नै हो । हामी बजेटपछि गृहकार्य तत्काल सुरु गर्नेछौँ र कार्यतालिकासहित जानेछौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?